उत्तर प्रदेशमा योगी आदित्यनाथको नेतृत्वमा रहेको भाजपा सरकारले शनिवार राति अयोध्यामा रामको २२१ मिटर अग्लो प्रतिमा निर्माण परियोजनालाई स्वीकृति दिएको छ । यही उचाईमा निर्माण सम्पन्न भएमा यो संसारको सबैभन्दा अग्लो प्रतिमा हुनेछ ।
अयोध्यास्थित सरयू नदीको तटमा बनाउने प्रस्ताव गरिएको यस प्रतिमाको रामको मुर्तिको उचाई १५१ मिटर तोकिएको छ । रामको मुर्तिमा लगभग २० मिटरको छाता पनि लगाइनेछ । मूर्तिको आधार लगभग ५० मिटरको हुनेछ । यो हिसाबले मूर्तिको कुल उचाई २२१ मिटर हुनेछ ।
राज्य सरकारले जारी गरेको आधिकारिक वक्तव्य अनुसार प्रतिमाको आधारभित्र ‘आधुनिक संग्रालय’ को व्यवस्था गरिनेछ । संग्रालयले अयोध्या सहर र रामको ‘इक्श्भकु वंश’ को सम्पूर्ण इतिहास प्रदर्शन गर्नेछ ।
प्रस्तावित संग्राहलयमा हिन्दूका प्रमुखमध्य एक भगवान विष्णुको सबै अवतारको विस्तारमा गरिएको वर्णन पनि समाबेश हुनेछ । साथै दस्तावेजमा उच्च प्रविधि प्रयोग गरेर ‘भारतका समस्त सनातन धर्म’ विषयलाई प्रस्तुत गर्ने संयन्त्र हुनेछ ।
“यो प्रतिमाको लागि उपयुक्त जमिनको छनौटको लागि माटो परीक्षणदेखि वाइण्ड टनेल परिक्षण जारी छ,” प्रदेश सरकारका एक प्रवक्ताले भने ।
अघिल्लो महिनामात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा बनेको भारतका प्रथम गृहमन्त्री बल्लवभाई पटेलको १८२ मिटर अग्लो प्रतिमाको उद्घाटन गरेका थिए ।
