धरान÷विधिको विधान दैवको परिहास † अक्सर गरेर सडकमा ठूला ठूला नारा लगाइन्छ, पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गरिन्छ । पहिचानको आधारमा प्रदेशको नामांकरण नगरिए सशक्त आन्दोलनको चेतावनी दिइन्छ ।
यसैका लागि दर्जनौ गोष्ठी, सेमिनार हुन्छन् । कसैलाई लिम्बुवान चाहिएको छ, कसैलाई किरात राज्य चाहिएको छ । यी सबै विचित्रतालाई विगत केही समयदेखि धरानमा एकजना जनजाति अशक्त बृद्धाले सडक किनारमा पल्टिएर निकालिरहेका छन् । त्यस्ता गतिविधिप्रति उनी फिस्स गरेर उपहास गर्छन् ।
विगत एक बर्षदेखि भोजपुर घोडेटार–७
रानीबास हालको हतुवागढी गाविसका ६० बर्षीय जसबहादुर राईको नियति हो यो । चाहे पौष माघको मुटु कपाउने जाडो होस्, चाहे वैसाख जेष्ठको हावाहुरी र उधुम गर्र्मी या असार साउनको झरी । ती बृद्धा खुल्ला आकाशमुनि चीसो सडक पेटीमा लडिरहेका हुन्छन् । धरान वडा नं. २ बलभद्रेश्वर मन्दिर अरुण धर्मशालाको बाहिरी सडक पेटीमा त्यसरी लडेका अशक्त
राईप्रति सम्भ्रान्त जनजातिको सहरले कुनै मानवीय सम्वेदननशीलता देखाउने घृष्टाता गरेको छैन ।
ख्याउटे अनुहारमा झुस्स दाडी, अशक्त वृद्ध विरामी शरीर, हिडडुल गर्न नसक्ने, सडकमा हिड्ने दाताले दिएको रुख्खासुख्खा खानेकुराले जसोतसो प्राण धानेका फगत जिउँदो लाश जसबहादुर राईको कष्टपूर्ण दैनिकी सभ्य सामाजका लागि व्यंग्य भएको छ । समाज
परिवर्तनका लागि मिडियावाजी गर्ने डलरे, सामाजिक संघ संस्था, नागरिक समाज, जातीय संघ संस्था, राजनैतिक संघ संगठनहरु जसबहादुरका लागि विडम्बना सावित भएका छन् । अशक्त र विरामीकै कारण धेरै बाल्न नसक्ने, पीडा मिश्रित ढंगले आÏनो नाम र ठेगानासम्म बताउन सक्ने जसबहादुर राई बलभद्रेश्वर मन्दिर अरुणा धर्मशालाको चीसो गल्लिमा कसरी आइपुगे ? उनलाई कस्ले ल्याएर त्यस्तो अवस्थामा त्यहाँ ल्याएर छाडयो भन्ने कुरा वरपरका स्थानीयहरुलाई समेत थाहा छैन । मानिसको व्यस्त दैनिकीले गर्दा जसबहादर राईप्रति कसैले ध्यान पनि दिएनन् र वास्ता समेत गरेनन् । दिशा, पिसाव गर्न उठेर अन्यत्र समेत जान नसक्ने भएकै कारण उनी जहाँ पल्टिएका छन् त्यही फोहर पार्नु उनको विवशता हो । जसका कारण उनी बसेको ठाउँमा दुर्गन्ध फैलिएको छ र हम्मेसी उनको निकट कोही पुग्दैनन् ।
बलभद्रेश्वर मन्दिर अरुणा धर्मशालाका म्यानेजर टेकनाथ सुवेदी भन्नुहुन्छ विगत १ बर्षदेखि हामीले उनलाई यो गल्लिमा देख्दै आएका छौं । हिउँद, बर्षा, हावा हुरीमा मुढो लडेझै उनी लडिरहेकै हुन्छन् । हिउँदमा हामीले कहिले ओढ्नका लागि कम्बल दियौ, कहिले धर्माशालाको सिरक दियौं । तर दिएको भोलिपल्टै ती समान त्यहाँ हुदैनन् । सडकमा हिड्ने कतिपय दयालु बटुवाले पसलबाट किनेर पानी विस्कुट र १०÷२० रुपैयाँ दिन्छन् । सुवेदी भन्नुहुन्छ कस्तो सम्म विडम्बना छ भने ती अशक्त बृद्धालाई रातको समयमा सडक बालबालिका आएर दुःख दिन्छन् । दाताले दिएको १०÷२० रुपैया खोस्छन् । दिन नमान्दा चरम यातान दिन्छन, कुट्छन्, पिट्छन् ।
रातको समयमा पिटिएकै कारण उनी चिच्याइ चिच्याई रुन्छन् । यो क्रम प्रायः सधैजसो चल्छ । उनले लगाएको लुगा समेत सडक बालबालिकाले खोसेर लैजान्छन्, शरीर भरि भाटाले कुटेका निलडाम हुन्छन । रातको सन्नाटामा उनलाई आएर जोगाउने कोही हुँदैनन् सुवेदी भन्नुहुन्छ । गीता मन्दिरसँगै जोडिएको अरुण धर्मशाला सञ्चालक समितिका अध्यक्ष डा. गोपाल भण्डारी भन्नुहुन्छ, टाठावाठाहरुले जातीय उत्थानका लागि यहाँ अनेकौ नारा लगाउँछन् तर आफनै जातिकाले दुःख पाउँदा उनीहरु हेर्दैनन् । व्यक्तिगत स्वार्थ र राजनैतिक लाभमा जातीय उत्थानको नारा रुमलिएकोले जसबहादुर जस्ता बृद्धले आज नारकीय जीवन गुजार्नु परेको भण्डारीको कथन छ ।
झण्डै ९ महिना अगाडि स्थानीय निकायमा जनप्रतिनिधि आएका छन् । अब त जसबहादुर राइको उद्धार होला कि भनेर मैले लौन यी बृद्धाको उद्धार गरिदिनु प¥यो भनेर वडा नं. २, १२ का वडा अध्यक्ष, सदस्यहरुलाई बारम्बार भने तर कोही सुन्दैनन् धर्मशालाका म्यानेजर सुवेदीले दुःखेसो पोख्नुभयो । जसबहादुर राईको कुरा गर्नासाथ जनप्रतिनिधिमात्र हैन जातीय संघ संस्था, सामाजिक संघ संस्था र राजनैतिक संघ संगठनका पदाधिकारीहरु सुन्दैनन्, मुख बटार्छन् सुवेदीले सुनाउनुभयो । अनेकौ
रोगबाट जसबहादर ग्रस्त देखिन्छन् । पेटभरि खान समेत नपाउने जसबहादुर राईको उपचार कसले गराउने ? सुवेदीको प्रश्न छ । अशक्त, वृद्ध, रोगले गस्त जसबहादुरसँग पारिवारिक जिज्ञासा राख्दा उनले फिस्स हाँस्दै भने मेरो घर भोजपुर घोडेटार वडा न. ७ हो । छोरा छोरी सबै छन् तर कसैले हेर्दैनन् । पहिला म ड्राइभर थिए पछि दुर्घनामा परेपछि अशक्त भए । जसबहदाुरसँगै प्रायः एकजना महिला देखिन्छन् । भोजपुर काफलेडाँडा देउरालीकी सरस्वती तामाङ्ग । जसबहादुर उनलाई बहिनी भन्छन् तर ती महिला आÏनो कुनै नाताको मानिस नभएको बताउँछिन् । स्थानीयका अनुसार उनी जसबहादुरकोमा आउनुको प्रमुख कारण दाताले दिएको पैसा खोस्नु, दाताले दिएको कपडा लैजानु भएको बताउँछन् ।
