आगलागीका कारण पीडितका बालबालिका विद्यालय जानबाट बञ्चित

मधुवन ÷सोमबार बिहान पौने १० भइसक्दा पनि सुनसरीको बराह ११ मधुवन इक्राई बस्तीका कक्षा ९ मा अध्ययनरत अमित सरदार टोलाएर बसेका थिए । विद्यालय जाने समय भए पनि उनी विद्यालय जानको लागि तयारी अवस्थामा थिएनन् ।
उनी निराँस समेत देखिन्थे । टोलाएर आफू बसेको घर पनि हेर्थे तर बसेको घरमा खरानी सिवाय अरू केही थिएन । त्यसरी विद्यालय जाने समयमा पनि उनी निराँस बन्दै टोलाएर बस्ने कारण थियो शनिवार
रातीको भीषण आगलागी । जसमा उनको घर , घरमा भएको सबै सामाग्री अनि उनको पाठ्यपुस्तक विद्यालयको पोसाक समेत जलेर खरानी बनाई दियो ।
सरदार कक्षा ९ मा मधुवन माविमा अध्ययनरत छन् । आगलागी हुँदा स्कुलको ड्रेस नै लगाएर सुतेको भएकाले त्यो मात्रै बचेको छ । उनको वार्षिक परीक्षा चलिरहेको छ । आइतबार स्वास्थ्य तथा नैतिक शिक्षाको परीक्षा थियो । आफूले अध्ययन गरेर परीक्षा दिने पुस्तक समेत जलेको छ तर पनि परीक्षा भएकाले विद्यालय भने गई नै रहेका छन् ।
घरदेखि ५ किलोमिटर टाढा रहेको विद्यालय मधुवन माविमा पुस्तक नै नपढि
परीक्षा दिइरहेका छन् उनी । सरदारले भने,“परीक्षा चलिरहेको छ , किताब कलम , लुगा सबै जलो , केही छैन कसरी परीक्षा दिनु ? उनी जस्तै कक्षा ९ मा पढ्ने रोशन चौधरीको पनि हालत आगोले त्यस्तै बनाई दिएको छ ।
हेर्दा हेर्दै घर सहित पुरै बस्ती सखाप भएपछि अहिले मधुवन इक्राई बस्तीका अग्नीपीडितको अवस्था दयनीय नै बनेको छ । अग्नीपीडत आसा देवी चौधरीले शनिवार आगोले सबै खरानी बनाएपछि आफ्ना २ जना बालबालिका विद्यालय जान नसकेको बताइन् । उनले भनिन् , घरमा सबै थियो , जल्यो केही छैन , के लुगा लगाएर स्कुल पठाउनु ? मेरो छोरा छोरी स्कुल जान सकेका छैनन् ।
यसरी मधुवन इक्राई बस्तीलाई आगोले उजाड मात्रै बनाएन ,त्यहाँ
रहेका बालबालिकाको भविष्य समेत अन्धकार बनाई दिएको छ । विद्यालय जानको लागि बालबालिकाको पाठ्य सामाग्री, लुगा समेत केही छैन । वाल विकास केन्द्रमा पढ्ने देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीको पढाई समेत प्रभावित भएको महिला तथा बालबालिका कल्याण समितिका सदस्य डिवी शाहशंकरले बताए ।
उनले भने, “आगोले घर सहित सबै सामान जलेर नष्ट बनाएपछि पढ्ने विद्यार्थीहरूलाई गाह्रो भएको छ , कतिको परीक्षा चलिरहेको छ भने कति विद्यार्थीको चाडै परीक्षा हुन लागेको छ , यो अवस्थामा कसरी विद्यार्थीले परीक्षा दिन सक्छन् ।
जिल्ला वाल कल्याण समितिले
प्रारम्भिक चरणमा गरेको सर्वेक्षणबाट ७० जना बालबालिका समस्यामा रहेका छन् । आगलागी पीडितहरू अहिले संघसस्थाले उपलब्ध गराएको त्रिपाल टाँगेर बसिरहेका छन् । महिला , बालबालिका र वृद्ध तथा वृद्धाहरूलाई अव्यवस्थित रूपमा खुला बसेकाले स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।
सबै आगलागी पीडितको शरीरमा लगाएको एक सरो कपडा बाहेक अरू केही छैन । त्रिपाल भए पनि ओढ्ने ओछ्योने छैन । शनिवार राती भीषण आगलागी हँुदा इक्राई बस्तीका ५० परिवारको १ सय २ वटा घर पूर्ण रूपले जलेर नष्ट भएको छ । आगलागीमा गरेर १ करोड ८७ लाख मूल्य बराबरको क्षति भएको बराह नगरपालिकाका मेयर निलम खनालले बताएका छन् ।

तपाईको प्रतिक्रिया