काठमाडौं ÷ प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले बहुमत पाएकोमा भारतले औपचारिकरुपमा बधाइ दिएको छ । साथै नयाँ संविधानको मातहतमा तीनवटा चुनाव सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी प्रकट गरेको छ ।
नेपालको संविधानलाई त्रुटीपूर्ण भन्दै आएको भारत सरकारले यही संविधान कार्यान्वयनको सिलसिलामा सम्पन्न भएका निर्वाचनप्रति आभार व्यक्त गरेको हो । यससँगै अब भारतले नेपालको संविधानका विषयमा आफ्नो पूर्वअडान छाडेको संकेत दिएको छ ।
नेपाल भ्रमणमा आउनु भएकी
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विहीबार सोल्टी होटलमा आयोजित रात्रीभोजमा एमालेका शीर्ष नेताहरुसँग भारतको औपचारिक धारणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउनुभयो् । त्यही क्रममा उहाले वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाइ समेत दिनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक दूत बनेर आउनु भएकी विदेशमन्त्री स्वराजले केपीओली लगायतका नेताहरुसँग भन्नुभयो ‘म कुनै एजेण्डा लिएर आएकी होइन, मित्रहरुवीच भेटघाटका लागि कुनै एजेण्डा पनि चाहिन्न, म प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएकी हुँ ।’
एमालेले आयोजना गरेको
रात्रीभोजमा सहभागी एक एमाले नेताले दिएको जानकारी अनुसार विदेशमन्त्री
स्वराजले केपी ओलीलाई मोदीको सन्देश सुनाउँदै भन्नुभयो ‘नेपालमा तीनवटा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक बधाइ दिन चाहन्छौं । र, चुनावमा वाम गठबन्धनले बहुमत पाएकोमा पनि भारतका तर्फबाट बधाइ दिन चाहन्छौं ।’
त्यसो त यसअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओलीलाई टेलिफोन गरेर वाम गठबन्धनको जीतमा बधाइ ज्ञापन गरिसक्नु भएको थियो । तर, शुक्रबार भारतले औपचारिक दूत नै पठाएर वामपन्थीलाई बधाइ दिएको हो ।
भारतको यो पहलकदमीसँगै अब बन्ने वाम सरकारप्रति भारतको नरम नीति रहने संकेत देखिएको छ ।
केपी ओलीसँगको भेटका क्रममा सुष्माले निर्वाचनबाट आउने खण्डित जनादेशले देशमा स्थायित्य नहुने भन्दै वाम गठबन्धनले बहुमत प्राप्त गरेकोमा अब नेपालमा
राजनीतिक स्थायित्व पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
रात्रीभोजसँगै भएको भेटघाटमा भारतीय विदेशमन्त्री सुष्मा
स्वराजले अब नेपालमा बन्ने वामपन्थी सरकारसँग सहकार्य गरेर अघि बढ्न भारत तयार रहेको भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउनु भएको थियो ।
सोल्टी होटलमा भारतीय पक्षसँगको भेटघाट सौहाद्रपूर्ण रहेको एमाले नेता प्रदीप ज्ञवालीले बताउनुभयो । ज्ञवालीले भन्नुभयो ‘भेटघाट अन्त्यन्तै सौहाद्रपूर्ण भयो, वाम गठबन्धनले बहुमत पाएकोमा सुष्माजीले भारतका तर्फबाट बधाइ ज्ञापन गर्नुभयो, साथै नेपालमा तीनवटा चुनाव सफलतापूर्वक सम्पन्न भएकोमा पनि बधाइ ज्ञापन गर्नुभयो ।’
भेटका क्रममा एमाले अध्यक्ष केपी ओलीले आफूहरु छिमेकी देशहरुसँग समान र मित्रवत सम्बन्ध राखेर अघि बढ्ने बताएको ज्ञवालीले जानकारी दिनुभयो ।

