सकारात्मक जीवन सिकाउने नाटक

बिर्तामोड÷ अहंकार, ईष्र्या र घमण्डले मानिसलाई कुन हदसम्मको आपराधिक मानसिकताको बनाउँछ र समाजमा त्यसले कस्तो नकारात्मक भावना पैदा गराउँछ भन्ने जान्न एउटै ‘पर्खाल’ हेरे पुग्छ ।
अहंकारको पर्खालले व्यक्ति आफैंलाई पछाडि धकेलिदिन्छ भन्नेमा कुरामा अहिले झापावासी पनि सहमत भएका छन् । क्षितिज नाट्य समूह झापा र झोराहाट नाट्य समूह मोरङले संयुक्त रूपमा मञ्चन गरेको नाटक ‘पर्खाल’ माघ १५ गतेदेखि झापाको बिर्तामोडस्थित अतिथि सदनमा प्रदर्शन भइरहेको छ । रंगकर्मी भरत गुरागाईंले लेखेको एक घन्टा लामो नाटकमा
नकारात्मक भावना त्यागेर सरल र सकारात्मक जीवन जिउन अपिलसमेत गरिएको छ । नाटक सन्देशमूलक
परम्परागत र यथार्थपरक देखिन्छ ।
दाजुभाइबीचको सामान्य पारिवारिक मनमुटावलाई नाटकले बिम्बात्मक रूपमा प्रस्तुत गरेको छ । लहलहैमा नै अपराधको चंगुलमा फस्न बाध्य युवाहरूको अवस्थाको चित्रण पनि नाटकमा देख्न सकिन्छ । सौतेनी आमाका कारण सन्तानले भोग्नुपरेको पीडा, नशामा तल्लीन बुबाका कारण परिवारमा आइपर्ने समस्या, सन्तानको मनमुटावमा वृद्धाआमाले सहनुपर्ने पीडाजस्ता विषय पनि नाटकमा
उतारिएको छ ।
लेखक गुरागाईं र निर्देशक प्रयाग न्यौपाने दुवैले नाटकमा अभिनय गरेका छन्। नाटकमा ध्वनि संयोजनमा फिल्मीपन बढी छ । प्रकाश संयोजन भने पात्र र परिवेश अनुकूल नै छ ।
आयोजक क्षितिज नाट्य समूहका निर्देशक माधव कल्पितले झापामा बृहत् संग्रहालयसहितको नाट्यघर निर्माण गर्ने उद्देश्यले नाटक मञ्चन भइरहेको बताए । ‘पर्खाल’ लाई प्रयाग न्यौपानेले निर्देशन गरेका छन् । उनले भने, ‘समाजको यथार्थ चित्रण गर्ने हाम्रो प्रयास हो ।’
‘पर्खाल’ सुजाता भट्टराई र प्रदीप संग्रौलाले निर्माण गरेका हुन् । नाटकमा भरत गुरागाईं, प्रज्जवल काफ्ले, खुसी शर्मा, भीमा खतिवडा, गजेन्द्र पृथक, झापाली कान्छा अभिषेक, सुनिता कट्टेल, मनीषा बराल, अनु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया