विराटनगर । पूर्वी नेपालमा गाँजा खेती फस्टाउँदै गएको छ । पूर्वी नेपालका अधिकांस जिल्लाहरुमा उत्पादन हुने गाँजा भारत निर्यात गर्ने गरिएको पाइएको छ ।
लागुपदार्थ ओसारपसार तथा बेचबिखन र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको गाँजा धनकुटा, उदयपुर लगायतका जिल्लामा उत्पादन गरेर भारत पु¥याउने गरिएको प्रहरीले पत्ता लगाएको छ । विशेषगरी बढी मात्रामा गाँजा उत्पादन हुने जिल्लाका रुपमा धनकुटा र उदयपुर परिचित छन् ।
मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले विभिन्न स्थानमा उत्पादन भएको गाँजा सुरक्षा निकायको आँखा छलेर भारततर्फ अवैध रुपमा ओसारपसार गर्ने धन्दामा ठूलो गिरोहको संलग्नता रहेको बताएका छन् । धनकुटामा उत्पादन भएको गाँजाको भारतमा माग धेरै भएकाले अवैधरुपमा ओसारपसार बढेको प्रहरीले बताएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘ अवैध रुपमा ओसारपसार गर्ने गिरोहको सक्रियता बढीरहेको छ।’ प्रहरीले मोरङको बुढीगंगा गाउँपालिका १ गंगाचौकबाट आइतबार राति २५ किलोग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको थियो ।
ओसारपसारमा संलग्नले गाँजा भारत पु¥याउन सवारी साधनको प्रयोग गर्ने गरेको पाइएको छ । एसपी बिसीले गाँजा भारततर्फ लिएर गएको पत्ता लागे पनि कुन ठाउँमा र कसलाई भन्ने कुरा नखुलिलेको बताए । उनले भने, ‘गाँजा बरामदको परिणाम र अवस्था हेर्दा यसको ओसारपसारमा ठूलो गिरोह सक्रिय छ ।’

