बाढीका कारण घरवारविहीन बनेका इटहरीका सर्वसाधारणलाई अहिले जाडोसंगै आएको शितलहरले रात काट्न नै मुस्किल हुने गरेको छ ।
पाच महिना अघि टेंग्रा खोलामा आएको बाढी बस्तीमा पसेर घर गुमाएका
सर्वसाधारणहरुले सरकारी तथा दाताको झिनो सहयोगले टालटुल गरेर बसोबास गरे तापनि शितलहरले चिसो धाम्नै नसक्दा उनीहरुलाई रात काट्न मुस्किल परेको हो ।
इटहरी सुनौलो बस्तीकी ६८ बर्षीया पेमा लमु शेर्पा जाडोकै कारण रातभर नसुत्ने गरेको बताउनुहुन्छ । गत साउन २७ गते गाउमा पसेको बाढीले आफ्नो घर लगेपछि दाताले दिएको थोरै र सरकारी झिनो सहयोगले टालटुल गरेर बास बसे पनि गतिलो ओढ्ने ओछ्याउने नहुदा जाडोले सुत्न नस्की रातभर जाग्रम बस्नु परेको शेर्पाको भनाई छ ।
यस्तै भनाई टोलकी विना थपलियाको समेत छ । दाताहरुले दिएको त्रिपाल र इटहरी उपमहानगरपालिकाले दिएको १५ हजार सहयोगले भत्किएको घर टालटुल गर्दा नै ठिक्क भएको बताउनुभयो । बाढीका समयमा आफूहरुले भोगेको समस्या सुनाउदै उहाले हिउदमा केही सहज होला भन्ठाने पनि लगातार परेको शितलहरले आफूहरु झनै पीडित भएको बताउनुभयो ।
बर्षौदेखि बाढी र डुबान सहदै आएको यस टोलका बासिन्दाले बाढीबाट जोगिन तटबन्द लगाइदिन इटहरी उपमहानगरपालिका लगायतका विभिन्न सरोकारवाला संघ संस्थामा नगुहारेका पनि होइनन् । तर इटहरी उपमहानगरपालिकाले उनीहरुको गुनासो सुनेको झै नसुनेको गर्ने गरेको स्थानीयहरु बताउछन् । बर्षादको समयम बाढीको पीर एकातिर छ भने अर्कोतर्फ घर गतिलो नहुदा जाडोको समयमा धेरै समस्या भएको स्थानीय दिलविक्रम नेम्बाङ्ग बताउनुुहुन्छ । जे गरेर, जसरी पनि यस खोलामा तटबन्ध लगाइदिए हुन्थ्यो भन्ने अपेक्षा छ अझै नेम्बाङ्गमा । उपमहानगरपालिकाले बेलेमैमा यसतर्फ नसोचिदिने हो भने भोलि आफूहरु न घरको न घाटको हुने दुखेसो पोख्नुभयो नेम्बाङ्गले ।
उनीहरुलाई सहयोग त जुटने गरेको छ तर भान्समा प्रयोग हुने समाग्री, त्रिपालमात्र । घर बनाउनकै लागि सहारा नेपालले केही सहयोग ग¥यो भने इटहरी उपमहानगरापालिकाले १५ हजार सहयोग गरेर झारो टार्ने काम गरेको सुनौलो बस्ती टोल संरक्षण समितिका अध्यक्ष सुजन श्रेष्ठले बताउनुभयो । दीगो बसोबासका लागि कसैले सहयोग नगरेको उहाको गुनासो छ । यस टोलमा रहेका ७६ घरमध्ये ३१ घर पूर्ण रुपमा क्षति भएको उहाले जानकारी दिनुभयो ।
जाडोकै कारण बाढीबाट पीडित
परिवार दिन जसोतसो गरेर कटाए पनि रात कसरी जान्छ भन्ने चिन्तामा हुन्छन् । जोडोको समयमा जाडोलाई हटाउन उनीहरु सामुहिक रुपमा आगो बाल्ने र कुराकानी गर्ने र आफ्नो दुःख बिर्सिने उनीहरु बताउछन् ।
गत साउन २७ गते आएको बाढीका कारण इटहरी उपमहानगरपालिकाभित्र पर्ने सुनौलो चौक, गहिरी गाउ, शिवनारायण टोल, प्रगति टोल र बरगाछी टोलका हजारौ सर्वसाधारण पीडित बनेका छन् । बर्षादको समयमा बगाएर लाने त्रासमा बाचेका उनीहरुलाइ हिउदमा शितलहरले सताउने गरेको र्छ । उनीहरुको दीगो बसोबासका लागि सम्बन्धित पक्षले बेलैमा सोच्न जरुरी छ ।

