पूर्वाञ्चल पुष्प व्यापार मेला सम्पन्न

धरान÷७० लाख बराबरको कारोबार गर्दै दोस्रो पूर्वाञ्चल पुष्प व्यापार मेला सोमबार सम्पन्न भएको छ ।
पौष २७ देखि माघ १ गतेसम्म सञ्चालन भएको सो मेलामा ७० लाख बराबरको कारोबार भएको मेलाका सहसंयोजक एवम् फ्लोरिकल्चर एसोसिएन सुनसरीका अध्यक्ष खगेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
धरान १२ अमान बजारमा सञ्चालित पुष्प व्यापार मेलाको समापन कार्यक्रममा बोल्दै समापन कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले धरानलाई फूलको सहर बनाउन नगरपालिकाले योजनामै समेटेको बताउनुभयो । उहाले आगामी दिनमा समेत फ्लोरिकल्चर एसोसिएनले आयोजन गर्ने यस्ता प्रदर्शनीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै फूलको राजधानी बनाउने अभियानमा विगतदेखि लागिपर्नुभएका अभियन्ता वंशी मोक्तानले धरानलाई साच्चै सुन्दर र पर्यटकीय गन्तव्य बनाउन अब धरान उपमहानगरपालिकाले गुरुयोजना अगाडि सार्नुपर्ने बताउदै फूलका नर्सरीलाई व्यवसायिककरण गराउन नेपाल सरकारले समेत भरपुर सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृषि उपज बजार सञ्चालन समिमितका अध्यक्ष काजी गिरीले पूर्वाञ्चलकै प्रतिनिधित्व गरेर धरानले शुरु गरेको पुष्प व्यापारको निरन्तरताका लागि शुभकामना व्यक्त गर्दै धरान उपमहानगरपालिकाले आगामी दिनमा समेत भरपुर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
फ्लोरिकल्चर एसोसिएसन सुनसरीका अध्यक्ष खगेन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन एसोसिएसन सुनसरीका सचिव प्रेम पराजुलीले गर्नुभएको थियो ।
मेलामा १६ जिल्लासहित पोखरा, नारायणघाट, हेटोडा र काभ्रेका गरी विभिन्न जातिका ३२ वटा फूलका स्टलहरु राखिएका थिए भने प्रदर्शनीमा पौष महिना फूल फूल्ने भवेना, मेरोगोल्ड, गजेनिया, साल्मिया, लिरियम लगायतका १ सय भन्दा बढी प्रजातिका फूलहरु स्टलमा राखिएका थिए ।

तपाईको प्रतिक्रिया