१ नं. प्रदेशका होटल व्यवसायी एक जुट

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा होटल व्यवसायीहरुले समेत आफ्नो हक हित स्थापित गर्दै प्रदेश नंं. १ मा रहेका पर्यटकीय गन्तव्य स्थललाई विश्वसामू पहिचान गराउने उद्देश्यले प्रदेश नं. १ का होटल व्यवसायी एक जुट भएका छन् ।
प्रदेश नंं १ मा रहेका १४ जिल्लाई समेट्दै होटल व्यवसायीहरुले इटहरी होटल एसोसिएसनका अध्यक्ष मणिन्द्र कटुवालको संयोजकत्वमा २५ सदस्यीय प्रदेश स्तरीय होटल एसोसिएसनको तदर्थ समिति समेत गठन गरेका छन् ।
प्रदेश नं. १ मा रहेका अत्यन्तै आकर्षण गन्तव्य स्थलको पहिचान गराउदै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने मुख्य लक्ष्य रहेको प्रदेश नंं १ स्तरीय होटल एसोसिएसनका तदर्थ समितिका संयोजक मनिन्द्र कुटवालले बताउनुभयो ।
धनुटाको भेडेटारमा जम्मा भएका १४ जिल्लाका २ सय भन्दा बढी होटल व्यवसायीहरुको भेलाले यहा रहेका ओझेलमा रहेका र थाहा नपाएका अन्य गन्तव्य स्थलको खोजी गरी अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार प्रसार गर्ने काम प्रदेशस्तरीय होटल एसोसिएनले गर्ने सहमति भएको एसोसिएसन तदर्थ समितिका बरिष्ठ उपाध्यक्ष भविष श्रेष्ठले बताउनुभयो ।
६ महिनाभित्र विधान बनाई यसलाई संस्थागत गरेर लाने सोचमा रहेको एसोसिएनको पहिलो प्राथमिकता प्रदेश नंं १ मा रहेका होटल व्यवसायी एकजुट भई व्यवसायीको हक अधिकार स्थापित गर्दै व्यवसायिक सुरक्षालाई समेत प्राथमिकतामा लिएर जाने तदर्थ समितिका महासचिव एवम होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताउनुभयो ।
प्रदेश नं. १ मा विश्वको सर्वोच्च शिखरदेखि नेपालकै सबैभन्दा ठूलो नदी सप्तकोशी, हिन्दु धर्मालम्बीहरुका लागि प्राचिन हरिद्वार क्षेत्र चतराचाम लगायतका धार्मिक स्थल, गुरासको राजधानी तीनजुरे, मिल्के, जलजले, भेडेटारका आकर्षक पर्यटकीय स्थल, मोरङको वेतना सिमसार, इलामको फिक्कल, अन्तु डाडा लगायत नेपालको सबैभन्दा होचो क्षेत्र केचना यही प्रदेशमा पर्ने भएकाले होटल व्यवसायी एक जुट भएर प्रचारप्रसारमा लागे व्यवसायिक सुरक्षासंगै पर्यटकीय आकर्षण बढाउन सकिने उनीहरुको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया