स्वरसम्राट नारायणगोपालको सांगीतिक यात्राः यस्तो छ पुरानो चर्चित अन्तर्वार्ता

तपाईं गीत किन गाउनुहुन्छ? पैसाका लागि, प्रतिष्ठाका लागि, आत्मसन्तुष्टिका लागि, के को लागि ?
–मैले गाउन कुनै लक्ष्य बनाएर सुरु गरेको होइन। मेरा पिताजी आशागोपाल गुरुवाचार्य एक नामुद सङ्गीतकार र गायक–उस्ताद हुनुहुन्थ्यो र हाम्रो घरको बैठकमा प्रायः सधैँ सङ्गीतको महफिल जमिरहन्थ्यो। केटाकेटी अवस्थामै म त्यो महफिल बेलाबेलामा जान्थेँ र गीतहरु सुन्थेँ। यस्तैमा म बिस्तारै गाउन पनि थालेँ। सर्वप्रथम मैले २०१७ सालमा आफ्नो कलेजको समारोहमा दुइटा गीत गाएँ। ती गीत ‘स्वर्गकी रानी’ र ‘आँखाको भाखा आँखैले’ लाई साथीहरुले ज्यादै मन पराए। सबैले मलाई हौसला बढाए र रेडियोमा गीत रेकर्ड गर्नका सल्लाह दिए । त्यसपछि गाउन थालेँ। गाउँदागाउँदै आज यो अवस्थामा पुगेँ । त्यसैले म यसलाई एउटा उद्देश्यहीन यात्रा भन्छु ।
यस यात्राको क्रममा आज जहाँ पुग्नुभएको छ, त्यसबाट सन्तुष्ट हुनुहुन्छ ?
–जनता अर्थात् श्रोताहरुबाट मैले जुन स्नेह र सम्मान पाएको छु, त्यसबाट म सन्तुष्ट छु । यदि आर्थिक उपलब्धिको दृष्टिले हेर्ने हो भने चाहिँ सन्तुष्टि र असन्तुष्टिको कुरा गर्नु नै व्यर्थ छ । सरकारी क्षेत्रबाट पाउने सहयोग बिल्कुलै नगन्य छ, एउटा गीत गाएको ४०–५० रुपैँया पाइन्छ । आजकल ७५ रुपैँया छ क्यार। एउटा कलाकारले हप्तामा एउटा गीत रेकर्ड गरायो भने ििपन महिनाको सरदर ३०० रुपैँया प¥र्यो । अर्थात् एउटा
राम्रो कलाकारले पिउनको भन्दा कम पाउँछ । गीत गाएर मात्र कलाकार बाँच्दैन । बाँच्नका लागि खानु पनि पर्छ । त्यसकारण बाँच्नका लागि उसले यति कडा संघर्ष गर्नुपर्छ कि कला–साधना गर्ने समय नै पाउँदैन । खेलकुद र त्यस्तै अरु कतिपय अनुत्पादक क्षेत्रमा करोडौँको लगानी गर्न सकिन्छ भने सङ्गीत र कलाको क्षेत्रमा लगानी गर्न किन त्यस्तो कन्जुरी गरिएको हो–बुझ्न सकेको छैन ।
रेडियो नेपालमा गीत रेकर्डिङ र प्रसारणमा पक्षपात र धाँधली हुन्छ भन्ने सत्य हो ?
–पक्षपात र धाँधलीभन्दा नराम्रो कुनै शब्द छ भने त्यो पनि त्यहाँ हुन्छ । त्यहाँ पनि एउटा गिरोह छ। २–४ दिन तपाईं नियमित रुपले रेडियो नेपाल सुन्ने गर्नुस्, प्रायः हरेक दिन उहीउही कलाकारहरुको गीत बजेको पाउनुहुनेछ। तिनीहरु आफू र आफ्ना मान्छेबाहेक अरुको गीत बज्नै दिँदैनन् । अरुको गीतको लागि आएको फर्माइस पनि जालसाजी गरेर आफ्नो गीतमा हालिदिन्छन्। अरुको गीत झल्याकझुलुक, त्यो पनि श्रोताहरुले षड्यन्त्र र रहस्या थाहा पाई विरोध गर्लान् भन्ने डरले मात्र बजाउँछन्। ठूला गायकहरुको कतिपय रेकर्डहरु बीचबीचमा मेटेर बिगारिदिएका छन्। मेरै गीतका कैयौँ रेकर्ड यसरी षड्यन्त्र गरेर बिगारिएको छ। गीत गाउन गायन गयो भने बाजा, बाजा बजाउने मान्छे सबै आफैँले खोज्नुपर्छ ।
रेडियो नेपाल ‘विकास समिति’ अन्तर्गत परेपछि माननीय मन्त्री डा. लोहनीले गर्दन फुलाएर, चर्को स्वरमा भन्नुभएको थियो– ‘अब रेडियो–कलाकारहरुका पनि राम्रा दिन आउन थाले । अब कलाकारहरुको उचित कदर हुनेछ, शोषण हुनेछैन । तर उहाँको त्यो भाषण नक्कली रहेछ । कलाकारहरुको शोषण खै बन्द भएको ? आज विज्ञापन सेवाबाट रेडियो नेपालले लाखौँ कमाइरहेको छ, तर जसको गीत बजाएर ऊ आफ्नो कार्यक्रम सञ्चालित गर्छ, त्यो कलाकारलाई एक पैसा पनि दिँदैन। के यो खुलेआम डकैती होइन? आफ्नो व्यथा र पीडा कलाकारहरुले कहाँ भन्ने ?
रत्न रेकर्डिङ संस्थाले आफ्नो दायित्व कतिको पूरा गरेको छ ?
तत्कालीन श्री ५ बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहबाट नेपाली कलाकारहरुको गीतको राम्रो रेकर्डिङ होस् भनी आफ्नो निजी कोषबाट रुपैँया बक्स भै सँस्थाको स्थापना गराइबक्सेको हो । तर आज यो संस्था गीत रेकर्डिङभन्दा बढी अरु कार्यक्रमहरुमा पैसा र समय खर्च गरिरहेको छ । जस्तै कहिले शुभकामना सङ्गीत भन्छ र कहिले प्रतिभाको खोजी भन्छ । खोजेर पनि कहीँ प्रतिभा पाइन्छ ? प्रतिभा आफैँ प्रस्फुटित हुने कुरा हो । त्यसैले प्रतिभा खोज्नेभन्दा प्रस्फुटित प्रतिभालाई जोगाउने र संरक्षण गर्ने काममा लाग्नुपर्छ । आफ्नो साधनको राम्रो सदुपयोग गरेको भए यो संस्था आज निकै सफल र सार्थक हुने थियो। तर त्यहाँ पनि गिरोह नै हावी छ । आज राजनीतिक क्षेत्रमा झैँ साँस्कृतिक क्षेत्र पनि भूमिगत गिरोहबाट पीडित छ । चाहे रेडियो नेपाल हेर्नुस्, चाहे रत्न रेकर्डिङ, चाहे एकेडेमी– हरेक क्षेत्रको व्यवस्थापन केही स्वार्थी व्यक्तिहरुको गिरोहको प्रभाव र षड्यन्त्रमा फँसेको छ ।
कोहीकोही आजकल नारायणगोपाल गाउन छोड्यो भन्छन्। यो प्रचार झुठो हो र प्रायः रेडियो नेपाल र रत्न रेकर्डिङमा बसेका गिरोहहरु नै यस्तो प्रचार गरी हिँड्छन् । मैले रत्न रेकर्डिङको ब्यानरमा हालै ७ ओटा गीत रेकर्ड गराएको छु । तर अहिलेसम्म त्यसमध्ये एउटा पनि गीत रेडियोमा बजाइएको छैन । मलाई लाग्छ, ती गीत पनि मेरो अरु गीतहरुजस्तै लोकप्रिय हुनेछन् ।
गीतको सफलता र असफलताको मूल्यांकन तपाईं कसरी गर्नुहुन्छ ?
दुइटा कुरा छन्। पहिलो हो, लोकप्रियता । अर्थात् जनताले ग्रहण गर्छन्, गर्दैनन्? दोस्रो चाहिँ गीतसम्बन्धी विशेषज्ञ वा आलोचकले मात्र थाहा पाउँछः प्राविधिक त्रुटि । कहिलेकाहीँ कुनै गीत गाइसकेपछि आफोलाई पनि लाग्छ कि यो गीत यसरी नगाएर यसरी गाउनु पथ्र्यो । गायकलाई यस्तो लागे तापनि श्रोताहरुले त्यसतिर ध्यान दिँदैनन् र त्यो गीत लोकप्रिय हुन पनि सक्छ तर आफूलाई पछिसम्म खल्लो लागिरहन्छ । यस्तो गीतलाई म पूर्ण सफल भन्दिनँ । कुन गीतको क्यासेट कति बिक्री हुन्छ, त्यस आधारमा सफलता असफलताको मूल्यांकन गर्नु हुँदैन । जसरी साहित्यमा उत्कृष्ट कृति हुँदाहुँदै पनि बढी बिक्री घटिया स्तरका पुस्तकहरुको हुन्छ, साङ्गीतिक क्षेत्रमा पनि त्यस्तै हुनसक्छ ।
तपाईंभन्दा धेरै कान्छा गायक उदितनारायण झा बम्बई गई हिन्दी गीत गाई निकै नाम र सायद दाम पनि कमाए । तर तपाईंले बाहिरबाट आएका कतिपय अफरहरु ठुकराई नेपालमै बस्नुको े कारण के हो ?
–हो, मलाई पनि हिन्दी गीत गाउन बम्बईबाट निम्ता आएको थियो र कोसिस गर्ने हो भने हिन्दी गीत
राम्रैसँग गाउँछु पनि । तर म यो चाहन्नँ । बम्बई गएर एकदुइटा फिल्ममा गीत गाउन सबैले दिन्छन्, तर ती गीत लोकप्रिय भए भने त्यहाँ दादागिरी गरेर बसेका गायकहरुलाई त्यहाँ टिक्न मुस्किल परिरहेको छ । महेन्द्र कपूर, यशु दास, शैलेन्द्र सिंहजस्ता गायकले पनि अब काम पाउन छोडेका छन् । म आफ्नो स्वाभिमान त्यागेर त्यहाँ गई अरुको चाकडी गर्न चाहन्नँ । म आज जे छु नेपाल र नेपालीले गर्दा नै छु र म यसैमा सन्तुष्ट छु । म ज्यादा धनी नभए पनि गरिब पनि छुइनँ र पैसा कमाउनु मात्र मेरो लक्ष्य छैन । हिन्दी फिल्ममा गाउने रहर मलाई पटक्कै छैन ।
नेपाली गीत र सङ्गीतको स्तर झन्झन् गिर्न र नेपालीपन हराउन थालेको छ भन्ने भनाइसँग सहमत हुनुहुन्छ ?
–छैन। मेरो विचारमा विगत दुई दशकयता नेपाली गीत र सङ्गीतको स्तर निकै बढ्दै आएको छ र हिन्दीको नक्कल गर्ने प्रवृत्ति कम भएर गएको छ । २००७ सालपछिका गीतहरु सुन्नुस्, ठ्याक्कै हिन्दीको अनुवाद पाउनु हुनेछ– गीत, सङ्गीत र गायन पनि । रत्नदास प्रकाशका कतिपय गीतहरु जगमोहनले गाएको जस्तो लाग्छ । कसैकसैले त रेडियो नेपालमा हिन्दी गीत नै गाएका छन् । नेपाली सङ्गीत र गायनको क्षेत्रमा नेपालीपनको खास सुरुवात मित्रसेनको समयदेखि भएको हो । २०१७ सालपछि यस क्षेत्रमा क्रान्तिकारी परिवर्तन आयो । फलस्वरुप आज हामी आधुनिक गीतको क्षेत्रमा निकै अगाडि बढिसकेपछि छौँ । हाम्रा धेरै गीतहरुमा नेपालीपन र मौलिकता प्रशस्त छ । २०१७ सालपछिको यो एउटा ठूलो उपलब्धि हो ।
२०१७ सालमा ‘विदेशका नक्कल गरिएको’ राजनीति परिपाटी खारेज गरी ‘आफ्नै नेपालीपनमा आधारित र मौलिक’ व्यवस्था कायम गरिएकोले नै गीत र सङ्गीतको क्षेत्रमा यो परिवर्तन आएको महसुस गर्नु भएको छ ?
–हैन, मेरो भनाइको आशय त्यो होइन। यो एउटा संयोग मात्र पनि हुनसक्छ ।
तपाईंलाई साँस्कृतिक संस्थानको महाप्रबन्धकबाट हटाउनुको कारण के थियो ?
–म २०३७ सालमा त्यस संस्थानको महाप्रबन्धक बनाइँए। तर म किन बनाइएँ र कसले बनायो भन्ने थाहै पाइनँ । मलाई जि.एम बनाइदेऊ भनी म कसैकहाँ हात जोड्न गएको थिइनँ। तर बनाइएपछि आफ्नो जिम्मेदारी इमान्दारीपूर्वक गरिआएको थिएँ । २०४१ सालमा त्यहाँबाट हटाइएँ । तर किन हटाइएँ र कसले हटायो भन्ने पनि थाहापाइनँ र म कतै सोध्न गएको पनि छुइनँ ।
अब एकछिन फेरि तपाईंको आफ्नै विषयतिर फर्कौँ। तपाईं आफूले गाउने गीतको छनौट कसरी गर्नुहुन्छ ? आफूलाई मन परेका गीत मात्र गाउनुहुन्छ ?
–हो, म सकेसम्म आफूलाई मन परेका गीतहरु मात्र गाउने प्रयास गर्छु । तर कहिलेकाहीँ साथीहरुले कचकच गर्छन् र मन नपरेका गीत पनि गाउनुपर्छ । एकदुई ओटा नेपाली फिल्ममा पनि मैले आफूलाई मन नपरेका गीतहरु गाएको छु । मलाई अझै मनमा लागिरहेछ । सायद त्यसो गरेर पनि मैले गल्ती गरेँ। अबदेखि म आफूलाई मन नपरेका गीतहरु गाउँदिन । गीतकारको नाम हैन, गीत हेरेर छनौट गर्छु ।
कुनै गीत गाइदिनै पर्रुयो भनेर कतैबाट दबाव आउँछ कि आउँदैन ?
–आफ्नै साथीहरु कहिलेकाहीँ यो गीत गाइदिनै प¥यो भनेर कराउँछन्, अन्याथा अरु कुनै खास ठाउँबाट कुनै दबाव आएको छैन । कसैको दबाव आयो भने पनि म आफूलाई चित्त नबुझेको कुरा गाउँदिन ।
मालती मङ्गलेमा गाएर कति पैसा पाउनुभयो?
–नेपाली गायक र सङ्गीतकारहरुको कति शोषण भै रहेको छ भन्ने कुराको एउटा उदाहरण मालती–मंगले पनि हो। कुनै पनि गीतिनाटकको सफलता र असफलता गीतको गायन र सङ्गीतमा निर्भर गर्दछ। मालती–मङ्गलेको सफलताको श्रेय दर्शकहरुले कथालाई भन्दा गायन र सङ्गीत राम्रो नभएको भए कथाले मात्र केही हुँदैनथ्यो । तर श्री ५ महाराजधिराजबाट बक्सेको एक लाख रुपैँयाबाट लेखकले २० हजार पाए भने हामीलाई तीनतीन हजार दिइयो । यो कस्तो मूल्यांकन हो? यसलाई पक्षपात भन्ने कि
अन्याय ?
राजनीति होस् चाहे साहित्य, अर्थशास्त्र होस, चाहे चिकित्सा विज्ञान हरेकको आआफ्नो ध्येय र गन्तव्य हुन्छ। त्यस्तै गायन र सङ्गीतको लक्ष्य र गन्तव्य के हो ?
गायन, सङ्गीत वा कला एउटा यस्तो कुरा हो, जसको कुनै सीमा, गन्तव्य वा अन्तिम उद्देश्य हुँदैन । जतिजति गाउँदै वा सङ्गीत गर्दै गयो, उतिउति नयाँनयाँ क्षितिजहरु खुल्दै जान्छ। यो एउटा अनन्त यात्रा हो । बीथोवेनले एक ठाउँमा भनेका छन्, वास्तविक कलाकारसँग अहं भन्ने चीज हुँदैन । दुर्भाग्यवश उसले देख्छ, कलाको कुनै सीमा हुँदैन । आफू आफ्नो उद्देश्यभन्दा कति टाढा छु भन्ने कुरा ऊ अस्पष्ट रुपमा मात्रै थाहा पाउँछ । अरुले उसको प्रशंसा गरे पनि ऊभन्दा राम्रो प्रतिभा टाढाको सूर्यझैँ चम्किएको स्थानमा आफू पुग्न नसकेकोमा उदास भइरहन्छ ।

तपाईको प्रतिक्रिया