मृत्यु पर्यन्त पनि गरिब, अहाय, र विभिन्न संघ संस्थाहरुलाई सहयोग पुगोस् भनेर आफ्नै नाममा अक्षय कोष

भित्ताभरि फ्रेमिङ्ग गरिएका सम्मानपत्र यत्रतत्र टांगिएका, आकर्षक ढंगले सजाइएको ठूलो कौशी सहितको कोठा, राजनीति शास्त्र, दर्शन शास्त्रका विट मार्न बाँकी रहेका पुस्तकहरु । आभाष हुन्थ्यो अध्ययन गर्दा गर्दै पूर्ण विराम दिन बाँकी नै छ ।
यो पंक्तिकार झट्ट कोठामा पुग्दा अनेकौ प्रकारका कौतुल जाग्नु स्वभाविक थियो । कोठामा पातलो छरितो सुकुमार ज्यान युवा उत्साह, जोश र अझै पनि केही गरौ भन्ने भावनाले ओतप्रोत देखिन्थ्यो । अर्थात धरान वडा न. १२ निवासी चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) पंक्तिकारँगको लघु भेटमा ८१ बर्षीय सबैका आदरणीय चन्द्र सरले आÏना विगत, वर्तमान र शेष जीवनको लक्ष्यलाई चलचित्रका रिल दौडिए झै दौडाउनु भयो ।
जीवनको उत्तरार्धमा आइपुग्दा चन्द्र सरले आफूलाई तीन कालखण्डमा विभक्त गर्नुभएको प्रष्ट हुन्थ्यो । राजनीति, शिक्षा र समाजसेवा चन्द्र सरका तीन कालकण्ड केलाउन जो कोहीलाई पनि एक पटक हम्मे हम्मे पर्दथ्यो । हालैमात्र उहाँले ५ लाखको एक अक्षय कोष स्थापना गरिदिनुभएको छ । मंसिर १० गते उहाँले मेरो मृत्युपछि पनि केही असहाय, अशक्त, दुःखी साथै राष्ट्र एवम् सामाजिक परोपकारी कार्यमा समर्पित व्यक्तित्व एवम सामाजिक संघ संस्थाहरुलाई उच्च कदर, सम्मान, सहयोग गरिरहुँ भन्ने उद्देश्यले रु ५ लाखको अक्षयकोष स्थापना गरी सिद्धि नेवाः परिषद् धरान ७ मार्फत प्रदान गरिदिनु हुन भन्दै उहाँले रकम हस्तान्तरण गर्नुभएको छ ।
आफूलाई सबैभन्दा सन्तुष्ट शैक्षिक क्षेत्रबाट भएको बताउनु हुने चन्द्रप्रसाद श्रेष्ठ झण्डै चार दशक शिक्षण पेशामै आवद्ध हुनुभयो । शिक्षण पेशाबाट निवृत्तिभरणसँगै सामाजिक एवम् धार्मिक क्षेत्रमा समर्पित श्रेष्ठ समाजसेवामा प्रारम्भदेखि नै आवद्ध हुनुहुन्थ्यो । शिक्षण पेशामा रहँदा चाहेर पनि सक्रिय हुन नसकेको र अब सक्रियतापूर्वक समर्पित हुने बताउनुहुन्छ अब जीवनको आन्तरिक उद्देश्य समाजसेवा मात्र भएको बताउनुहुने श्रेष्ठ वि.स. १९९३ साल जेठ १ गते धरान १ मा पिता गणेशप्रसाद श्रेष्ठ (काइला साहु) र माता नित्यकुमारी श्रेष्ठका सुपुत्रको रुपमा जन्मनु भएको थियो । आमाको ९८ बर्षको उमेरमा निधन भएको थियो । त्रिभुवन विश्व विद्यालयबाट स्नातक सम्मको अध्ययन गर्नु भएका श्रेष्ठको प्रारम्भिक शिक्षा धरानकै पब्लिक हाइस्कुलबाट भएको थियो । त्यसबेलाको शिक्षालाई नेपालका तत्कालीन कम्युनिष्टहरुले बर्जुवा शिक्षा भन्दै पठन पाठनमा भएको अवरोधले समय भन्दा धेरै पछि अर्थात १० बर्षपछि अर्थात २०२५ सालमा मात्र उहाँले स्नातक गर्नुभएको थियो । वि.सं. २०१४ सालमा धरानका बरिष्ठ व्यक्तित्व, विद्वान एवम् बुद्धिजीविबाट २००५ सालमा स्थापना भएको पूर्वाञ्चलमै पहिलो अर्थात जेठो सार्वजनिक पुस्तकालयको सञ्चालक समितिको निर्वाचित (मन्त्री) सचिव भएर श्रेष्ठ सामाजिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो पछि उक्त पुस्तकालयलाई वि.सं. २०१८÷०१९ सालमा धरान नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । धरान वडा नं. २ स्थित रहेको उक्त पुस्तकालय क्षेत्रीय पुस्तकालयको रुपमा नगर पालिकाबाटै अझै पनि सञ्चालन भइरहेको छ ।
जीवनको पूर्वार्ध अर्थात वि.सं. २०१४ सालमा उहाँ नेपाली काँग्रेसमा प्रवेश गरी राजनीति क्षेत्रमा सक्रिय रहनु भयो । वि.सं. २०१५ सालको पहिलो आम निर्वाचनमा नेपाली काँग्रेसलाई धरानबाट विजयी गराएर ऐतिहासिक सफलता प्राप्त गर्नुभएको थियो । त्यसबेला धरानबाट विजयकुमार गच्छदारका बाजे डिठ्ठा ज्ञानचन्द चौधरीले विजयी हाँसिल गर्नुभएको थियो । श्रेष्ठ थोरै
नैरास्यता व्यक्त गर्दैै भन्नुहुन्छ, यहाँ नेपाली काँग्रेसभित्रको आन्तरिक कलह, अदुरदर्शिता, संगठन निर्माणमा उदासिनताका कारण वि.सं. २०१५ साल पछिका दिनमा नेपाली काँग्रेसले कहिल्यै नजितेको हो । युवा जोश, जाँगर र बीपी कोइरालाप्रतिको अगाध आस्था र विश्वास भएकै कारण वि.सं. २०१५ साल पौष १ गते
राजा महेन्द्रले संसदीय व्यवस्था कु गरेपछि मुलुकभरि नै काँग्रेसका कार्यकर्ताहरुमाथि घर पकड हुँदा उहाँ भूमिगत बस्नुभयो ।
उहाँको दोस्रो कालखण्ड वि.सं. २०२४ सालदेखि प्रारम्भ भएको देखिन्छ । वि.सं. २०२४ सालमा उहाँ शारदा बालिका विद्यालयमा शिक्षकको रुपमा प्रवेश गर्नुभयो । उहाँलाई विद्यालयले केही दिनका लागि अध्यापनक लागि आग्रह गरे तापनि पछि उहाँलाई विद्यालयले छोड्नै मानेन । त्यसबेलाको विगत सम्झदै श्रेष्ठ भन्नहुन्छ म केही दिनका लागि मात्र गएको थिएँ । तर विद्यालय र विद्यार्थीहरुले छोड्नै मानेनन् । आफना विद्यार्थीहरुलाई अत्यन्तै स्नेहपूर्वक अध्यापन गराउनु हुने श्रेष्ठलाई भेट्न आज पनि पूर्व विद्यार्थीहरु अनेकौ प्रकारका उपहार बोकेर घरैमा पुग्छन्, सामुहिक तस्विर खिचाउँछन् र स्वास्थ्यका बारेमा अनेकौ जिज्ञासा राख्छन् । विद्यार्थीहरुबाट पाएको स्नेह, मायाँ, ममताले उहाँलाई भावुक समेत बनाउने गरेको छ । उहाँले वि.सं. २०२४ सालदेखि वि.सं. २०५५ सालसम्म शारदा बालिका विद्यालयमा अध्यापन गराउनुभयो । शिक्षण पेशामै आवद्ध रहे पनि उहाँले समाजसेवालाई समय अनुकूल अगाडि बढाउनु भएको थियो । विं.सं २०२८÷०२९ सालमा नेपाल रेडक्रस सोसाइटी सुनसरीको संस्थापक सदस्य भएर उहाँ परोपकारको कार्यमा संलग्न हुनुभयो । उहाँ संस्थापक सदस्यमात्र हुनु भएन नेपाल रेडक्रस सासोसाइटीको दैविक प्रकोप सहायता अक्षय कोषमा एक लाख सहयोग समेत उहाँले प्रदान गर्नुभएको थियो । उहाँलाई नेपाल रेडक्रस सोसाइटी सुनसरीले सम्मानित सदस्यता समेत प्रदान गरेको छ । उहाँ सम्झनु हुन्छ धरानमा नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखा स्थापना गर्न त्यसबेला धेरै मेहनत गर्नुपरेको थियो । तत्कालिन अवस्थामा शक्तिमा रहेका दिलबहादुर श्रेष्ठले रेडक्रस इनरुवामा लैजान धेरै प्रयास गरे । तर धरानमै हुनुपर्छ भनेर अन्तिम समयसम्म श्रेष्ठ लगायत धरानका अन्य समाजसेवीहरुले अड्डी कसेपछि अन्ततः नेपाल रेडक्रस सोसाइटी धरानमै स्थापना भएको थियो ।
वि.सं. २०३५÷०३६ सालमा शिक्षा र शैक्षिक सुधारको माग सहित शिक्षक हक हितका लागि भएको मकवानपुर हेटौडाको आन्दोलनले राष्ट्रव्यापी रुप लिएपछि त्यसको प्रभाव सुनसरीमा नपर्ने कुरै थिएन । उहाँले नै सुनसरीमा त्यसबेला शिक्षक आन्दोलनको नेतृत्व गर्नुभएको थियो । उहाँले आन्दोलनलाई अझ सशक्त र उचाईमा पु¥याउन खेल्नु भएको भूमिका आज पनि सुनसरीका शिक्षकहरु स्मरण गर्छन् । चन्द्र सर नेपाली काँगेसमा आवद्ध भएकै कारण त्यसबेलाको पञ्चायती सरकारले उहाँलाई अराष्ट्रिय तत्व घोषण मात्र गरेन शिक्षण पेशाबाट बञ्चित समेत ग¥यो । तर उहाँले आन्दोलबाट पछि हट्नुको सठ्ठा त्यसलाई अझ सशक्त बनाउनु भयो । शिक्षक आन्दोलनकै कारण सरकार ढुलमुले अवस्थामा पुग्यो । सरकारका तर्फबाट उहाँलाई अनेकौ प्रलोभनहरु आए । तर उहाँ कुनै प्रंकारको लोभ लालचमा पर्नुभएन । उहाँले समपूर्ण शिक्षकहरुको हक हितलाई सर्वोपरी ठानेर त्यस्ता कुनै लोभलालचले उहाँलाई लोभ्याउन र गलाउन सकेन । आन्दोलन सशक्त ढंगले अगाडि बढ्यो । त्यसबेला शिक्षक आन्दोलनले पञ्चायत सरकारलाई अन्ततः गलालाएरै छाड्यो । अन्त्यमा आन्दोलन सफलतापूर्वक अवतरण ग¥यो । सोही आन्दोलनका कारण आज हजारौ शिक्षकहरु सेवा निवृत्त पश्चात, सेवामा हुँदा सुविधा प्राप्त गरेका छन् । त्यसैगरी शिक्षण पेशामा छँदा उहाँले आफ्नो पेशालाई मर्यादित ढंगले अगाडि बढाएकोले पूर्व विद्यार्थीहरुका लागि उहाँ आदरणीय पात्र बन्नुभयो ।
जीवनको उत्तरार्ध चन्द्र सरको तेस्रो कालखण्ड सावित भएको छ । खण्ड काव्य र महाकाव्यहरुमा कालखण्ड छुट्याएर जसरी कुनै विषयको वर्णन तथा व्याख्खा गरिन्छ चन्द्र सरको जीवनमा यतिबेला त्यस्तै हुने गरेको छ । उहाँले ५लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिँदा धेरै बुभ्रmुकहरुले हैन यो के
गरेको ? धन सञ्चित गर्नुपर्छ सम्म भने । तर उहाँले निश्चित उद्देश्यका साथ अठोट गरेर सञ्चित गरेको रकमबाट अक्षय कोषका लागि ५ लाख प्रदान गरेरै छाड्नुभयो । उहाँ भन्नुहुन्छ, सम्पत्ति सञ्चित गर्ने होइन, सम्पत्ति चलायमान हुनुपर्छ । चलयमान सम्पत्तिले समाज र देशको हित गर्छ । उहाँले व्यक्तिगत रुपमा पनि धेरै असहाय, दिनदुखीहरुलाई आर्थिक, बौद्धिक र भौतिक सहयोग पु¥याउनु भएको छ । केही समय अगाडि खतिवडा थरकी एक महिला पाठेघरको समस्याले पीडित थिइन् । धरान १२ की ती महिलाको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उपचार गराउन सकिरहेकी थिइनन् । उहाँले आफनो व्यक्तिगत पहलमा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाको सहयोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पाठेघरको सफल शल्यक्रिया गराइदिनुभयो । पालिखे थरकी एक पूर्व शिक्षिकाको अचानक लडेर शारीरिक अपांगता र शिथिलता भएपछि उहाँले भारतको मुम्बईमा उनका
परिवारलाई आफैसँग राखेर उपचार गरिदिनुभयो । आज पाठेघरको समस्या भएकी र अर्की पूर्व शिक्षिका दुवै स्वस्थ छन् । चन्द्र सरको त्यो उपकार आफूहरु कहिल्यै नबिर्सिने उनीहरु बताउँछन् । आफूहरुलाई नयाँ जीवन दिएको उनीहरुको ठहर छ । उहाँले शिक्षण पेशाबाटै दुःखले आर्जन गरेर सञ्चित गरेको रकम आर्थिक सहयोगको रुपमा बाल अनाथाश्रम, वृद्धाश्रम,अपांग आश्रमहरुलाई समेत प्रदान गर्नुभएको छ । जेष्ठ नागरिक मिलन केन्द्रको आजीवन सदस्य समेत रहनुभएका चन्द्र सर पछिल्लो समय बृद्ध मिलन केन्द्र स्थापना गरी वृद्धाश्रम बनाउने योजनामा समेत हुनुहुन्छ ।
उहाँले धनकुटा, सुनसरी, मोरङ्ग, झापाका दर्जनौ मठमन्दिरको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग समेत उपलब्ध गराउनु भएको छ । त्यस्ता मठ मन्दिरहरुलाई के कति आर्र्थिक सहयोग उपलब्ध गराउनुभयो त भन्ने जिज्ञासामा उहाँको सटिक जवाफ थियो दान भन्ने कुरा देखाएर गरिदैन । हाम्रो समाजमा पनि दानका सम्बन्धमा यस्तै मान्यता रहँदै आएको छ । दान गोप्य हुनुपर्छ । दाहिने हातले दिएको दान देब्रे हातले थाहा नपाओस् । आफूले कुन कुन मठमन्दिर, धर्मशाला, वृद्धाश्रम, आदिलाई के कति दान दिनु भयो चन्द्र सरले त्यो भन्न चाहनु हुन्न । आज कसैले कुनै संघ संस्था तथा व्यक्तिलाई दान दिँदा सञ्चारकर्मीहरु बोलाएर आफ्नो ठूलो तस्विर प्रकाशन गराएर दिने चलन बढ्दै गएको छ । वास्तवमा त्यो सस्तो लोकप्रियता र प्रचारका लागि मात्र हो । मानवीय संवेदनबाट आहत भएर गरिने दान गोप्य हुन्छ । चन्द्रपसाद श्रेष्ठले शिक्षाबाट कोही बञ्चित नहुन, सबैले सर्वसुलभ ढंगले शिक्षा आर्जन गर्न सकून, सानो सहयोगले उनीहरुको शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले शैक्षिक क्षेत्रमा समेत लगानी तथा आर्थिक सहयोग गर्नुभएको छ । आÏनै माता पिताको स्मृतिमा उहाँले विभिन्न विद्यालयहरुमा छात्रवृत्ति स्थापना गरिदिनु भएको छ । शारदा बालिका विद्यालय, शिक्षा सदन मावि, सम्यक शिक्षा समूह, पब्लिक मावि धरानमा तुलादान समेत गर्नुभएको छ ।
धरानका उदारमना भएका समाजसेवीहरुबाट हिन्दुहरुको पवित्र धाम बराहक्षेत्रमा निर्माण भएको धर्मशालामा समेत उहाँले आर्थिक तथा भौतिक सहयोग पु¥याउनु भएको छ । हाल उक्त धर्मशाला सञ्चालन तथा संरक्षण समितिको उपाध्यक्ष रही सेवा समेत पु¥याइरहनु भएको छ । यसैगरी पुरानो हरिद्वार कौशिकी घाट चतरास्थित कुम्भ मेला स्थलमा निर्माण भएको अस्ट
चिरन्जीवि मध्येका एक भगवान हुनुमान जीको मूर्तिको व्यवस्थापनमा आवद्ध, विश्व हिन्दु परिषद् धरानले आयोजना गरेको १८ पुराणमा आवद्ध भई आर्थिक सहयोग, परिषद्ले पिण्डेश्वर बाबा धाममा निर्माण गर्ने भनिएको अस्ट धातुको त्रिशुल निर्माणका लागि २१ केजी तामा प्रदान गर्ने घोषणा चन्द्र सरले गरिसक्नु भएको छ । चन्द्र सर पूर्वाञ्चलका धार्मिक एवम् साँस्कृतिक स्थलहरुका सम्बधमा प्रत्यक्ष र अप्रत्यक्ष कुनै न कुनै रुपमा जोडिनु भएको छ । उहाँले व्यक्तिगत रुपमा धेरै असहाय, वृद्धवृद्धा बालबालिकाहरुको उपचारमा समेत आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया