इटहरी ÷ नेपालका शैक्षिक संस्थामा अंग्रेजी पढाइ भइरहेपनि शिक्षकहरु नयाँ प्रविधिबारे त्यती जानकार छैनन् । पढाइको नयाँ तरिका र अंग्रेजी भाषामा भएका परिवर्तनबारे अपडेट नहुँदा चलिरहेको ट्रेण्डभन्दा फरक अंग्रेजी अध्यापन हुने समस्या छ ।
यस्तो समस्या समाधान गर्न नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)ले बेला बेलामा सम्मेलन, तालिमहरु गर्ने गरेको छ । सोअनुसार उसले यही कात्तिक १७ र १८ गते प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने भएको छ ।
धरान उपमहानगरपालिका स्थित के के इन्टरनेशनल स्कुलमा हुने सम्मेलनमा शिक्षक र अन्तर्राष्ट्रिय प्रशिक्षकसमेतको सहभागिता रहनेछ । कार्यक्रममा ४० भन्दा बढी प्रस्तुति रहने नेल्टा सुनसरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । कार्यक्रममा १ नं प्रदेशका नेल्टाका सात वटा शाखाको सहभागिता छ । नेल्टाका शाखाहरु सुनसरी, मोरङ्ग, झापा, इलाम, संखुवासभा, उदयपुर, र सोलुखुम्बुमा छ । सबै ठाउँबाट ३५० भन्दा बढी शिक्षक सहभागी हुने र प्रशिक्षकसमेत गरेर चार सय बढीको सहभागिता
हुनेछ ।
कार्यक्रममा नेपालका ख्याति प्राप्त अंग्रेजी भाषाका प्रोफेसरहरु प्रो. डा. अभि सुवेदी, प्रो. डा. जयराज अवस्ती, प्रो.डा. बिष्णु सिंह राई, डा. लक्ष्मण ज्ञावली, हेमन्त दाहालका साथमा ब्रिटिस काउन्सिल तालीम प्रमुख रोना ब्राउन र अमेरीकन राजदुतावासका डेनिस याङ्ग लगायत बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यत्तित्वको उपस्थिती हुने छ ।
सन् २०१३ मा स्थापना भएको नेल्टा सुनसरीले बिगत पनि यस्तै प्रयोगात्मक क्रियाकलाप मार्फत अंग्रेजी शिक्षकलाइ उत्प्रेरणा दिदै आएको नेल्टा सुनसरी अध्यक्ष केशव प्रशाद भट्टराइले बताए ।
