विराटनगर ÷ मोरङ प्रहरीले
भारतबाट अबैधरुपमा ल्याउँदै गरेको चाँदीका सामाग्रिसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बरामद गरिएका चाँदीका सामाग्रिसहित ओसार–पसारमा संलग्न भारतको जोगबनी वडा नम्बर १ का १९ वर्षीय दीपकुमार साहलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार पत्रकार सम्मेलन गरि पक्राउ परेका साह र चाँदीका सामाग्री सार्वजनिक गरेको हो । प्रहरीले अभियुक्तको साथबाट चाँदीबाट बनेको भगबान गणेशको मुर्ती–९ थान, लक्ष्मीको मुर्ती–८ थान, आचमणि–१०, पंचपात्रो ९ थान र छतरी २९ थान बरामद गरेको छ । बिशेषगरि दीपावलीमा प्रयोग हुने ती सामाग्रि सहित अभियुक्तलाई इलाका प्रहरी कार्यालल रानीको टोलीले स्थानीय हुलास मेटलचोकबाट पक्राउ गरेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए । बरामद गरिएका सामाग्रिको बजार मूल्य १ लाख ३० हजार रहेको जनाइएको छ । बरामद सामान र नियन्त्रणमा लिइएका साहलाई क्षेत्रीय
राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

