धरान÷स्थानीय तहको तेस्रो
चरणको निर्वाचन सम्पन्न भएसँगै सुनसरी क्षेत्र नं. १ मा दलहरु आगामी मंसिर २१ गते एकै चरणमा हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित भएका छन् ।
विगतमा सुनसरीमा प्रतिनिधि सभाका लागि ६ निर्वाचन क्षेत्र भएतापनि हाल चार क्षेत्र कायम गरिएको छ । प्रतिनिधि सभाका लागि क्षेत्र नं. १ मा धरान उपमहानगरपालिका, रामधुनी नगरपालिका वडा नं. ६, ७, बराह नगरपालिकाको वडा नं. १,२,३,४,५ लाई समावेश गरिएको छ भने दुई वटा प्रदेश सभामा धरान उपमहानगरपालिका वडा नं.१,२,३,४,५,६,७,८,९,१० , १२,१३,१४, १५, १९ लाई १ र
धरान उपमहानगरपालिका वडा नं. ११,१६,१७,१८ र २० सँगै बराह नगरपालिका वडा नंं १,२, ३,४,५ र
रामधुनी नगरपालिका वडा नं. ६ र ७ लाई समावेश गरिएको छ ।
स्थानीय निर्वाचनमा सबैभन्दा बढी स्थानमा जित्न सफल संसदको दोस्रो ठूलो राजनैतिक दल एमालेले सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभाका उमेद्वारहरुको नाम करिव करिव टुंगो लगाएको छ भने हाल संसदमा सबैभन्दा ठूलो तर स्थानीय निकायको निर्वाचनमा दोस्रो हैसियतमा खुम्चिएको नेपाली काँग्रेस, तेस्रो हैसियतमा रहेको माओवादी केन्द्र, हैसियत जोगाउनै नसकेका अन्य साना तथा क्षेत्रीय दलहरु उमेद्वार चयनलाई लिएर यतिबेला गाँड कोराकोर
गरिरहेका छन् । स्थानीय तहको दोस्रो चरणमा भएको निर्वाचनमा एमालेले धरान उपमहानगरपालिका, बराह नगरपालिका, रामधुनी नगरपालिकामा जित हाँसिल गरेकै कारण उसले प्रदेश नं. १ को मुख्य मन्त्रीको रुपमा प्रचार गरिएका एमाले केन्द्रीय सचिव भीम आचार्य, प्रदिप भण्डारी, जयकुमार
राई, प्रकाश राईको नाम अगाडि
सारेको छ । सुनसरी क्षेत्र नं. १ बाट एक जना प्रतिनिधि सभा र दुई जना प्रदेश सभामा निर्वाचित हुने छन् ।
एमाले स्रोतले दिएको जानकारी अनुसार हाल एमालेको क्षेत्रीय कमिटी डिजल्भ भएको अवस्था छ । जिल्ला कमिटीको अधिवेशन गर्ने बेला भएको छ । जेठमै जिल्ला अधिवेशन गर्नुपर्नेमा स्थानीय तहको निर्वाचनका कारण अधिवेशन हुन सकेन । अब पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अगाडि जिल्ला अधिवेशन हुन सक्दैन । जसका कारण एमालेका सुनसरी अध्यक्ष
द्वारिकालाल चौधरी इटहरी उपमहहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि रमेश बस्नेतको संयोजकत्वमा नरेन्द्र बस्नेत सह संयोजक रहने गरी जिल्ला संगठन कमिटी रुपान्तरण गरको छ । स्रोतका अनुसार क्षेत्रीय कमिटीहरु विघटन भएकोले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय समिति र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय समिति जिल्ला कमिटीको संयोकत्वमा बन्ने भएको छ ।
उता नेपाली काँग्रेसले प्रदेश प्रतिनिधिसभाका लागि असोज १३ गतेसम्म आकांक्षी उमेद्वारहरुको नाम जिल्ला पठाइसक्नु पर्ने केन्द्रीय समितिको निर्देशन रहेको छ । नेपाली काँगेसका जिल्ला सभापति राजीव कोइराला भन्नुहुन्छ १३ गतेसम्म नगर हुँदै क्षेत्रले सम्भावित उमेद्वारहरुको नाम जिल्लामा पठाइसक्नु पर्ने छ । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ को यसै सम्बन्धमा सोमबार बैठक बसेको थियो भने मंगलबार नगर समितिको बैठक बसेको थियो । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि आकांक्षी धेर्रै भएको एक क्षेत्रीय
सदस्यले बताए । उनका अनुसार आकांक्षीहरुमा किशोर राई, मिन विक, मिना सुब्बा, सुरेशमान श्रेष्ठ, विनोद
राई, मनिता घिमिरे, मदन ढकाल, चन्द्रप्रसाद श्रेष्ठ, सच्चित शर्मा, हरिनाथ वास्तोला, भीष्म काफ्ले, गिरिराज आचार्य, हेमलाल सुब्बा, विकास आचार्य लगायत छन् । यसैगरी माओवादी केन्द्रबाट प्रदेशसभा र प्रतिनिधि सभाका लागि अशोक राई, चोत्लुङ्ग मेन्याङ्गबो, मुकेश मेन्याङ्गबो, अमिता बराइली, विजय डागको नाम सिफारिस गर्ने बताइएको छ । यसै सम्बन्धमा माओवादी केन्दका केन्द्रीय सदस्य समेत रहनु भएका समाजसेवी डागासँग सम्पर्क
राख्दा उहाले भन्नुभयो, साथीहरुले जोडबल गरिरहनु भएको छ हेरौ परिस्थिति कस्तो हुन्छ । उता संघीय समाजवादी फोरमले पहिला निर्वाचन परिचालन समिति गठन गरेपछि मात्र उमेद्वारको टुंगो लगाउने जनाएको छ । उसले गजेन्द्र इस्वो, भीम राई लगयतलाई अगाडि सार्ने भएको फोरम सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

