सुनसरी टेक्निकल गल्फ एमेच्योर प्रतियोगिता हुने

धरान/ कार्तिकको दोस्रो सातामा सुनसरी टेक्निकल कलेज गल्फ एमेच्योर प्रतियोगिता धरानमा हुने भएको छ ।
प्रतियोगिताको पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको धरान गल्फ कल्बले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्तिक १२ गते छठपर्वका दिन एक दिवसीय गल्फ प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
विगतदेखि नै सुनसरी टेक्निकल कलेजले प्रायोजकको भूमिका निर्वाह गर्दै आइरहेको तेस्रो गल्फ प्रतियोगितामा नेपाल अधिराज्यभरका महिला र पुरुष गरी ३० जनाले सहभागीता जनाउने आयोजक समितिका अध्यक्ष पूर्ण लिम्बुले जानकारी दिनुभयो ।
धरान १८ घोपाक्याम्पभित्र रहेको निर्वाण कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुन लागिरहेको सो प्रतियोगितामा प्रथम हुनेलाई ९ हजार बराबरको ट्रफी र उपहार तथा प्रमाणपत्र, दोस्रो हुनेलाई ५ हजार ५ सय बराबरको ट्रफी र उपहार तथा प्रमाणपत्र प्रदान गरिने छ भने ग्रस प्रथम, लेडिज प्रथम, लङगेस्ट ड्राइभ, नियरेष्ट टु द पिन, मोष्ट बर्डिज, मोष्ट वुगी लगायतका उपाधि हासिल गर्नेलाई क्रमश :४ हजार,३ हजार,२ हजार ५ सय, २ हजार ५ सय,२ हजार पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता अवधिभरी ७१ हजार रुपैया खर्च लाग्ने जानकारी दिदै आयोजकले गल्फ खेललाई राज्यले समेत उपेक्षा गरेको बताएका छन् । गल्फ प्रतियोगितामा कसैबाट सहयोग नआउने भएकोले पनि खेल सम्पन्न गर्न अत्यन्तै गाह्रो हुने सुनसरी  गल्फ क्लबका अध्यक्ष डिवी राईले बताउनुभयो ।
यता सुनसरी टेक्निकल कलेजका प्रमुख लेखिराज सुब्बाले गल्फ खेल विकासका लागि आफूहरुले ५ बर्षका लागि प्रत्येक बर्ष हुने एकपटकको खेलमा ५० हजार सहयोग गर्ने लिखित प्रतिवद्धता जनाएको बताउनुभयो ।
उहाले अन्य दिनमा  समेत गल्फ खेलाडीलाई सहयोग गर्ने सो अवसरमा प्रतिवद्धता समेत जनाउनुभयो ।

तपाईको प्रतिक्रिया