धरान÷नेपाल भारतको संयुक्त लगानीमा निर्माण भएको दक्षिण एसियाकै उत्कृष्ट नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अपलचन सतहमा आएसँगै बीपी बचाउ अभियान अन्तगत आइतबार नागरिक स्तरबाट दबाब समूह गठन भएको छ ।
उपचार, अनुसन्धान र मुलुकको लागि चाहिने आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल–भारतबीचको द्विपक्षीय सम्झौता अनुसार सन् १९९३ मा स्थापित प्रतिष्ठान विगत ६ महिना यता आफै धरासायी तथा विरामी भएको छ । प्रतिष्ठानमा बढ्दो भ्रष्टाचार, असुरक्षा, शिक्षक, चिकित्सक, कर्मचारीको वेतन वृद्धि आदिलाई लिएर आधिकारिक कर्मचारी कल्याण समाजले भाद्र २५ गतेदेखि आन्दोलन शुरु गरेको छ । उसले भाद्र ११ गते, १३ गते र १६ गते सुधारका माग राखेर उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई ज्ञापनपत्र समेत बुझाइसकेको छ । समाजले उठाएका मागहरु उपर वेवास्ता गरेको,
बाहिरी भिजिलान्ते प्रयोग गरी कर्मचारीहरुलाई आश, त्रास देखाएको भन्दै आइतबार धरानमा प्रवुद्ध वर्ग, राजनैतिक दलका स्थानीय नेतृत्व, नागरिक समाजका अगुवाहरुसँग वृहत छलफल र अन्तरक्रिया
गरेको छ ।
अन्तरक्रियमा प्रतिष्ठनमा बढ्दो भष्टाचारको उपस्थित सबैले चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि दबाब दिने उद्देश्यले एक दबाब समूह गठन भएको छ । दबाब समूहको संैयोजकमा प्रा.डा. राजेन्द्र शर्मा रहनु भएको छ भने सचिवमा किशोर कार्की रहनु भएको छ । चाँडै नै यहाँका राजनैतिक दल, क्रियाशील संघ संस्था, नागरिक समाजका अगुवाहरु,बुद्धिजीव, उद्योगी, व्यवसायीहरुको वृहत भेला गरी अन्य सदस्यहरु थपिने र त्यसले कोड अफ कन्डक्ट बनाई प्रतिवेदन तयार गर्ने सयोजक शर्माले जानकारी दिनुभयो । अन्तरक्रियामा सहभागीहरुले रौनियार नियुक्ति भएर आएपछि प्रतिष्ठान लथालिंग भएको समाजका अध्यक्ष सुजेन्द्र गोलले बताउनुभयो । उहाँले भन्नुभयो छोटो समयमा प्रतिष्ठानमा करोडौ भ्रष्टाचार भएको छ । उहाँले भन्नुभयो यही अवस्था रहे प्रतिष्ठान पूर्ण रुपले धरासायी हुन समय लाग्दैन । उहाँले प्रतिष्ठानभित्र रौनियारको निर्देशन र संलग्नतामा हुने भ्रष्टाचार, अनियमितता रोकेर प्रतिष्ठानलाई जोगाउन आग्रह समेत गर्नुभयो ।
कहाँ कहाँ भ्रष्टाचार
आर्थिक चलखेलबाट राजनैतिक सेटिङ्ग मिलाएर नियुक्त हुनु भएका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले एमआरआई मेसिन खरिद प्रकरणमा अनियमितता गरेकोले हाल अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको समाजका अध्यक्ष तामाङ्गले बताउनुभयो । उहाँले भन्नुभयो गत आर्थिक बर्षमा क्याथ र अंकुरका लागि परामर्शदाता नियुक्तिमा ३.६ प्रतिशत कमिश दिएको, भवन निर्माण सम्बन्धी ठेक्का शिलबन्दी खोल्नु अगाडि अर्थात १० बजे उपकुलपति काठमाण्डा ैगएर ठेकेदारसँग बार्गेनिङ्ग भएको तर १० प्रतिशमा कमिशन नमिल्दा काठमाण्डौबाटै फोन गरेर टेन्डर रद्ध गर्न लगाएको, भवन निर्माणमा आएको रकम कार्यकारिणी समितिको निर्णय विना एमआरआइ खरिदमा रकमान्तर गरिनु, प्रतिष्ठानका सप्लायर्सहरुसँग १० प्रतिशतको बार्गेनिङ्ग गर्नु लगायतका अनियमिताको दर्जनौ फेहिरिस्त उहाँले प्रस्तुत गर्नुभएको थियो । समाजका अध्यक्ष तामाङ्गले भन्नुभयो १.५ टेक्सला मेसिन बीर अस्पताले १२ करोड , पाटन मेडिकल कलेजले १२ करोडमा खरिद गरे । तर अहिले सोही मेसिन खरिदमा १८ करोड कसरी भयो ? गत बर्ष प्रतिष्ठानले सोही मेसिन खरिद प्रक्रिया अगाडि बढाउँदा रेडियोलोजी प्रमुख समेत रहेका रौनियारले अस्विकार गर्नु तर आज सोही मेसिन बढी मूल्यमा खरिद गर्नुको प्रयोजन के हुन सक्छ ?
क्याथ र अंकुर सेन्टर अन्यौलमा
सरकारले क्याथ (मुटु) र अंकुर
(क्यान्सर) अस्पताल निर्माणका लागि पहिलो चरणमा छुट्याएको रकम
रकमान्तर गर्दा दुवै अस्पालको भवन बन्ने कुरामा अन्यौल सिर्जना भएको समाजका अध्यक्ष तामाङ्गले प्रष्ट पार्नुभयो कार्यकारिणी समितिको निर्णय विना दुई सय शैøयाको क्यान्सर अस्पतालको भविष्य अन्यौलमा परेको छ । सरकारले निर्माण कार्य शुरु गर्नका लागि मुटु सेन्टरलाई १४ करोड र क्यान्सरलाई ३ करोड उपलब्ध गराएको थियो । सोही कार्यका लागि परामर्श दाता नियुक्ति गरेर ७ करोड भुक्तानी समेत दिइयो तर भवन निर्माणको टेन्डर नै क्यान्सिल गरियो । भवन निर्माण नै गर्नु थिएन भने परामर्शदातालाई सात करोड किन दिइयो अध्यक्ष तामाङ्गले भन्नुभयो ।
एउटै हातामा फरक फरक दर
प्रतिष्ठानभित्रका अनियमिता फेहरिस्त प्रस्तुत गर्नुहुँदै समाजका अध्यक्ष सुजेन्द्र तामाङ्गले भन्नुभयो एउटै
ेठेकेदारलाई एउटै हाताभित्र कन्सल्टेन्सीलाई फरक फरक रेट दिइनु भ्रष्टाचारको प्रमाण हो । चार सय शैøयाको मातृ शिशु सेन्टर निर्माणमा १.४ प्रतिशत परामर्शदातालाई कमिशन दिइएको थियो । तर १ अर्ब ८३
करोडको मुटुु सेन्टर र क्यान्सरको १ अर्ब १३ करोडको कुल चार सय शैøयाको भवन निर्माणमा ३.६ प्रतिशत छुट्याउनु संस्थागत भ्रष्टाचार हो तामाङ्गले भन्नुभयो ।
के भन्छन् स्थानीय नेतृत्व र अगुवा
नागरिक समाजका अगुवा, स्थानीय नेतृत्व, वौद्धिक जमात, उद्योगी, व्यवसायीहरुले प्रतिष्ठान धरानको गहना भएको र त्यहाँ हुने भ्रष्टाचार, कुशासन विरुद्ध एक भएर जाने बताएका छन् । उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निष्पक्ष काम नगरेको, सेटिङ्ग हुने गरेको प्रति असुन्तष्ट जनाएका थिए ।
धरान उपमहानगरपालिकका पूर्व प्रमुख मनोजकुमार मेन्याङ्गबोले भन्नुभयो प्रतिष्ठानका विषयमा पदाधिकारीले सत्य तथ्य सार्वजनिक गनुपर्ने कुरामा जोड दिनुभयो । प्रतिष्ठानको सेवा सुुविधा बृद्धि गरी जनतालाई सर्वसुलभ सेवा दिनुपर्नेमा उल्टै भ्रष्टाचारमा पदाधिकारी मुछिनु धराने जनताका लागि लाजमर्दो विषय हो । उहाँले भन्नुभयो प्रतिष्ठान धराबासीको मात्र नभएर पूर्वाञ्चलबासीकै हो । यसैगरी बौद्धिक व्यक्तित्व एवम् नागरिक समाजका अगुवा प्रा.डा राजेन्द्र शर्माले भन्नुभयो प्रतिष्ठानको भ्रष्टाचारमा माथिल्लो निकायसम्मै सेटिङ्ग हुने
गरेकाले त्यसलाई तोड्नु आवश्यक
छ । उहाँले भन्नुभयो, धरानबासी, नागरिक समाज, राजनीतिक दलहरुको यसमा सक्रिय सहभागिता आवश्यक छ । उहाँले प्रतिष्ठान धरानमा भएपनि धरानबासीले अनुभूति गर्न नपाएको बताउनुभयो ।
यसैगरी नेकपा एमाले धरान नगर कमिटीका इन्चार्ज प्रदिप भण्डारीले भन्नुभयो विगत केही बर्ष यता प्रतिष्ठानको गरिमा कमजोर हुँदै गएको र यस पटक भ्रष्टाचार र राजनीतिले समेत थिलथिलो भएको छ । उता बैद्धिक व्यक्तित्व प्रा.डा भीम खतिडाले प्रतिष्ठान धरानबासीको पहिचान भएकोले त्यहाँका विकृति विसंगतिका विरुद्ध हस्तक्षेपको विकल्प नरहेको प्रष्ट पर्नुभयो । नेकपा एमाले धरान नगर समितिका कार्यवाहक अध्यक्ष नारायण सुवेदी, एमाले जिल्ला कमिटी सदस्य मुरारी सुवेदी, नेपाली काँग्रेस धरान नगर समितिका सभापति तिलक राई, नेपाली काँग्रेस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सागर प्रसाई लगायतले प्रतिष्ठानको विकास र विस्तारमा उपकुलपति रौनियार गम्भीर नभएकोमा चिन्ता व्यक्त गर्नुभएको
थियो ।
यो सबै षड्यन्त्र हो
प्रतिष्ठानमा भएका भ्रष्टाचार
र समाजका अगुवा तथा आन्दोलित
कर्मचारीहरुले उठाएका कुराहरुमा जिज्ञासा राख्दा उपकुलपति प्रा.डा.
राजकुमार रौनियारले भन्नुभयो यो सबै मेरो विरुद्धको षड्यन्त्र हो । भेला कसले बोलएको हो ? किन बोलाएको हो ? दबाब समूहको वैधानिकता के ? यसले पुरै
धरानको प्रतिनिधित्व गर्छ ? उहाँले भन्नुभयो यस भन्दा अगाडिका उपकुलपति प्रा.डा. बीपी दाशको पालामा भएका अनियमितताको समेत छानविन भइरहेको छ । अहिले पनि छानविन भइरहेको छ । दबाब समूहको वैधानिकतामाथि उपकुलपति रौनियारले प्रश्न उठाएपछि हामीले दबाब समूहका संयोजक प्रा.डा.
राजेन्द्र शर्माँसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो दबाब समूह दबाब दिने उद्देश्यले गठन गरिएको हो । वास्तवमै यसको वैधानिता हुँदैन । यो सामाजिक दबाब हो । उहाँले भन्नुभयो प्रतिष्ठानमा अहिले
रौनियार आएर मात्र बेथिति, भ्रष्टाचार भएको भन्ने होइन । लामो समयदेखिका त्यहाँका वेथिति, प्रकृति र कारणहरु के कस्ता छन् । त्यस सम्बन्धी दबाब समूहले विस्तृत प्रतिवेदन तयार गर्छ । आज आन्दोलनमा भएका कर्मचारीहरुप्रति पनि प्रतिवेदन तयार हुन्छ । उनीहरुले पनि विगतमा के के गरे भन्ने कुरा उठ्छ ।
आजबाट तालाबन्दी
आन्दोलनमा उत्रिएका प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले भाद्र २५ गतेदेखि नै विहान ८बजेदेखि १२ बजेसम्म उपकुलपतिको कार्यालय अगाडि धर्र्ना दिएपनि उपकुलपति प्रा.डा रौनियारले अधिकार सम्पन्न वार्ता टोली गठन गरी माग सम्बोधन गर्न कुनै पहल नगरेपछि असोज ४ गते बुधबार देखि आन्दोलनलाई थप कडा बनाउने कर्मचारी कल्याण समाजले विज्ञप्ती मार्फत जानकारी गराएको छ । असोज २ गते जारी विज्ञप्तीमा भनिएको छ आज असोज ४ गते देखि प्रतिष्ठानको कर्मचारी, प्रशासन, आर्थिक प्रशासन, क्युविकल परिषरमा रहेका खरिद लगायतका शाखाहरुमा अनिश्चतकालीन तालाबन्दी गर्नुका साथै ८ बजेदेखि ११ बजेसम्म सबै प्रशासनिक कार्यबन्द गरी उपकुलपति कार्यालय अगाडि धर्ना दिने र सुक्रबार सम्म पनि माग सम्बोधन नभए आन्दोलनलाई थप कडा पार्दै लैजाने निर्णय समेत गरेको छ । प्रशासनिक, आर्थिक, क्युविकलमा तालाबन्दी गरेपनि उपचार सेवामा कुनै प्रकारको अवरोध नगर्ने समेत विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।
तालाबन्दी नगर्न आग्रह
यसैगरी प्रतिष्ठानमा तालाबन्दी नगर्न धरान १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई ‘प्रवीण’ले एक विज्ञप्तीमार्फत आग्रह गर्नुभएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आन्दोलन, धर्ना, तालाबन्दीका कार्यक्रमहरु गर्न उचित भएको भन्दै तालाबन्दी नगर्न उहााले आग्रह गर्नुभएको हो ।
