धरानमा १५२ औं मोति जयन्ति भव्यताका साथ सम्पन्न

धरान÷युवा कवि एवम् आँशु कवि मोतिराम भट्टको १ सय ५२ औं जन्म जयन्ति सोमबार मोति संस्मरण समिति धरानले एक विशेष कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको छ ।
धरान उपमहनगरपालिकाको कर्मचारी सभाहलमा आयोजित उक्त कार्यक्रममा कार्यक्रमको सन्दर्भमाथि प्रकाश पारिनुका साथै समस्यापूर्ति र रचनाहरु पाठ गरिएको थियो । युवा कवि एवम् आँशु कवि मोतिराम भट्टले नेपाली साहित्यलाई विश्व सामु चिनाउने कार्य गरेका थिए । उनका ३५ वटा कृतिहरु र दर्जनौ फुटकर कविता, गजलहरु प्रकाशित भएका छन् ।
खास गरेर मोतिराम भट्टका कृतिहरुलाई दुई भागमा बाडिएको छ । वि.सं. १९३६ देखि लेख्न थालेका भट्टको लेखन अवधिलाई विं.सं. १९४४ सम्म पूर्वार्ध र वि.सं. १९४५ देखि १९५३ लाई उत्तरार्ध मानिएको छ । ३० बर्षकै अल्पायुमा निधन भएका भट्टको करिब ७ वटा पुस्तकहरु मात्र जीवित हुँदा प्रकाशित भएका थिए भने बाँकी पुस्तक मृत्युपर्यन्त प्रकाशित भएका थिए आफनै घर परिवारबाट सावा अक्षर चिनेपछि बनारसबाट थप अध्ययन गर्नुभएका भट्टको भारतीय महाकवि भारतेन्दु हिरष्चन्द्रसँग गहिरो सम्बन्ध रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा प्रा.डा.गोपाल भण्डारी रहनु भएको थियो भने भरतराज भट्टराई (सेर्नाली),
नारायण पोख्रेल, दुर्गा तिम्सिना, कवियत्री कुन्ता शर्मा, अम्बिका शाक्य, जनार्जन वस्ती, नारायण पौड्याल, डा. भीम खतिवडा, सिद्धिकर्ण शर्मा, टेकनाथ घिमिरे, महानन्द तिम्सिना, लक्ष्मीकृष्ण श्रेष्ठ लगायतले कविता वाचन गर्नुभएको थियो । मोति संस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भवानी शंकर भट्टराईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया