अवरुद कोशी राजमार्ग दुई दिन भित्रमा खुल्ने

धरान÷ भारी मात्रामा आएको बर्षाद्का कारण कोशी राजमार्ग अन्तर्गतको निशानेमा भत्किएको सडक दुई दिनभित्र सुचारु गर्ने सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।
यातायात व्यवसायी, उद्योगी, व्यापारी तथा सर्वसाधारणले धरानदेखि पहाडी क्षेत्रसंग सिधै सम्पर्क गर्ने मुख्य बाटो नै भत्काएर सडक अवरुद्ध भई धरान लगायत तराईका क्षेत्रसंग पहाडी क्षेत्रको सम्पर्क नै टुटेको भन्दै चाडो पहल गरिदिन आग्रह गरे अनुरुप पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरको टोलीले सो स्थानमा निरीक्षण गरेको थियो ।
निरीक्षणकै क्रममा डिभिजन कार्यालयका सिनियर इन्जिनियर मुक्ति गौतमले दुई दिनभित्रमा सडकको माथिल्लो भागबाट डाइभर्सन गरी अवरुद्ध सडक खुलाउने बताउनुभयो । उहाले पहाडी क्षेत्रसंग धरान लगायत तराईका भागसंग सिधै सम्पर्क हुने बाटो भत्किदा सर्वसाधारण, यातायात व्यवसायी, व्यापारी व्यवसायीहरुले सास्ती भोग्नुपरेकोले दुई दिन भित्रमा टूयाक खोलेर समस्या समाधान गर्ने बताउनुभयो ।
अल्पकालीन समस्या समाधानका लागि डिभिजन कार्यालयले तत्काल डाइभर्सन खोल्ने काम गरे पनि पूर्ण रुपमा सडक निर्माण गरेर दीर्घकालीन समस्या समाधान गर्न माटो परीक्षण लगायतका कामहरु गर्नुपर्ने भएकोले समय लाग्ने बताउनुभयो ।
पहाडी क्षेत्र तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर जाने मुख्य सडक नै भत्किएपछि धरानबाट पहाडी क्षेत्रमा जाने यात्रुवाहक बस सञ्चालन हुन सकेका छैनन् भने अत्यावश्यक समाग्री साग सब्जी लगायतका तरकारीजन्य बस्तु आयात नहुदा धरानमा तरकारीको अभावसँगै सब्जीको भाउ समेत आकासिएको छ । यसैलाई मध्यनजर गरी आफूहरुले चाडो बाटो निर्माण गर्न दबाब दिएको सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् यातायात व्यवसायी सरोज श्रेष्ठले बताउनुभयो । यातायात व्यवसायी, व्यापारी व्यवसायीको पहलमा सडक डिभिजनले आज भत्किएको स्थानमा निरीक्षण गरेको बताउदै त्यो सडक चाडो नबने धेरै समस्या भोग्नुपर्ने बताउनुभयो ।
लगातार आएको भारी बर्षाका कारण शनिवार विहानको समयमा सो सडक अन्तर्गत पर्ने निसानेमा ४० मिटर सडक भत्किएको थियो । सडक भत्किएसंगै अहिले त्यस ठाउँमा पहिरोको जोखिम बढेर गएको छ । पहिरो जाने त्रासले स्थानीयहरुले समेत सो सडक चाडो निर्माणका लागि सडक डिभिजन कार्यालयलाई अनुरोध समेत गरेका छन् । यो सडकमा ७ सय भन्दा बढी सवारीका साधन गुड्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया