झापा÷झापाका उद्योगी, व्यवसायी, भारतको कोलकत्तास्थित नेपाली महावाणिज्य दूत, झापाका विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरुले नेपाल–भारत सीमाको इलाम पशुपति नगर फाटक क्षेत्रमा भन्सार र अध्यागमन कार्यालय स्थापनाका लागि भारत सरकारलाई आग्रह गरेका छन् ।
भारत पश्चिम बंगालको
निरपानीस्थित जब्डा बस्तीमा आइतबार सम्पन्न दोस्रो नेपाल–भारत मैत्री बैठकमा उनीहरुले त्यस्तो आग्रह गरेका हुन् । बैठकमा सहभागी नेपाली पक्षले शुरुवातदेखि नै भारतीय पक्षसँग काँकडभिट्टा–पानी ट्यांकी नाकाले मात्र अबको व्यापारको प्रवाह थेग्न नसक्ने भएकोले भन्सार र अध्यागमन स्थापनामा जोड दिएका थिए ।
नेपाली उद्योगी, व्यापारी तथा कार्यालय प्रमुखहरुले राखेको प्रस्तावप्रति भारत सरकार सकारात्मक भएको उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली पक्षले आउने दिनहरुमा व्यपार पारवहनमा अझ बडोत्तरी हुने भएकोले पानी ट्यांकी काँकडभिट्टा नाकाले मात्र थेग्न नसक्ने कुरामा नेपाली पक्षको जोड थियो । भारतका व्यापारीहरुको छाता संगठन कन्फड्र्रेशन अफ इन्डिया इण्डष्ट्रिज (सीआईआई) का अध्यक्ष राजीव लोचनको कथन थियो भारत सरकारले नेपाली उद्योगी व्यसायी र सरकारी कार्यालयका प्रमुखहरुले पहिलो बैठकमा समेत यही कुरा उठाएकोले उक्त कुरा भारत सरकारसमक्ष पुगिसकेको छ र पशुपतिनगर फाटक क्षेत्रमा भन्सार र अध्यागमनका लागि पहल शुरु भइसकेको छ । नेपाली पक्षकै अनुरोधमा पानी ट्यांकी–काँकडभिट्टा भन्सार नाकाको स्तरोन्नतिको समेत पहल शुरु भएको लोचनले जानकारी दिनुभयो । काँकडभिट्टा पानी ट्यांकी नाका एसियाली हाइवेको रुपमा विकास भइरहेकोले यसलाई नेपाल, भारत, भुटान, बंगलादेश मुख्य व्यापारिक नाका रहने बताउनुभयो । यसै उद्देश्यले हाल पश्चिम बगालको पानी ट्यांकी सिलगुढी ५० किमी सडक चार लेनको रुपमा विस्तार भइरहेको लोचनको कथन थियो ।
कन्फेड्र्रेसन अफ इन्डियन इण्डष्ट्रिज सिक्किम र उत्तर बंगाल च्याप्टर हेर्ने लक्ष्मी लिम्बु कौशलले भन्नुभयो, व्यापार विस्तारका लागि इलाम पशुपति नगर नाकामा भन्सार र अध्यगमन कार्यालयको आवश्यकता खड्कीसकेको छ । यो नाका विस्तारले दुवै देशको चिया बजार विस्तारमा थप मद्धत पुग्ने पनि कौशलले बताउनुभयो । कोलकत्ता स्थित नेपाली महावाणिज्य दुतावासका वाणिज्य दूत एक नारायण अर्यालले प्रारम्भमै नेपाल भारत बीचको सम्बन्ध अतुलनीय रहेको भन्दै भाषिक, साँस्कृतिक, ऐतिहासिक र भावनात्मक सम्बन्ध विस्तारमा थप कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, खुल्ला सीमानाका कारण यदाकदा साना तिना समस्याहरु देखिए तापनि आपसी छलफलबाटै त्यस्ता समस्या समाधान हुने प्रष्ट पार्नुभयो । उहाँले दुवै देशको सीमा नदी मेचीमा तटबन्धन गरेर बर्षदेखिको नेपालीले भोग्दै आएको हात्ती समस्या समाधान हुने थियो भन्नुभयो ।
बैठकमा भरतीय सीमा सुरक्षा बल (एसएसवी) का सिलगुढी फ्रन्टीयरका आइजी श्रीकुमार वन्धोपाध्यायले खुला सीमानाकै कारण मानव वेचविखन, लागू औषध ओसार पसार, तस्करी नियन्त्रणका लागि दुवै देश बीचमा सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो । यस्ता समस्या समाधानका लागि नेपाल या भारतले मात्र एक्लै समाधान गर्न सक्दैन । यसैगरी जिल्ला वन कार्यालय झापाका प्रमुख जिल्ला वन अधिकृत वोधराज सुवेदीले नदी नियन्त्रण र हात्ती आतंकलाई समस्याको रुपमा लिनु नहुने भन्दै अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले मेची नदीमा तटबन्ध गी ग्रिन वेल्टको रुपमा विकास गर्दा हात्ती हातंक पनि कम हुने र पर्यटकीय दृष्टिले समेत फाइदा पुग्ने बताउनुभयो । ग्रामीण पर्यटक अभियन्ता अर्जुन कार्कीले खुला सीमाकै कारण चेलीबेटी बेचबिखन, हतियारको अवैध कारोबार, तस्करी, लागू अैषध ओसार–पसार, आतंककारीको घुस पैठ नियन्त्रणका लागि दुवै देशका सुरक्षाकर्मीहरु बीचमा सहकार्य हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । बैठकको आयोजना भारतको कोलकत्तस्थित नेपाली महावाणिज्य दुतावास र हेल्थ टुरिजम संस्थाले गरेका थिए ।
