धरान÷शारा थापा स्मृति प्रतिष्ठान (शान्तिलता राजेन्द्रबहादुर थापा) को प्रथम बार्षिकोत्सवको
अवसरमा धनकुटा र सुनसरीका विद्यालयहरुलाइ अक्षयकोष स्थापना हेतु आर्थिक सहयोगसँगै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान गरिएको छ ।
अँग्रेजी साहित्यका धुरन्धर विद्वान युनेस्को पुरस्कार प्राप्त शान्ति लता अंंग्रेजी खण्ड काव्यका रचयिता, मुखमा सरस्वतीको बास र हृदयमा राष्ट्राभावले ओतप्रोत स्व. राजेन्द्रबहादुर थापाको स्मृतिमा उहाँका सुयोग्य पुत्र वीरेन्द्रसिंह थापाले एक बर्ष अगाडि पं्रतिष्ठानको गठन गर्नुभएको थियो ।
प्रतिष्ठानको प्रमुख उद्देश्य आर्थिक अवस्था कमजोर भएका, सामुदायिक विद्यालयहरुलाई आर्थिक सहयोग, छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण गर्ने रहेको छ । स्थानीय बसन्त स्मृति प्रतिष्ठानमा आयोजित प्रथम बार्षिकोत्सवमा श्रीराम मा.वि. धनकुटा मुगालाई खड्गबहादुर वेदकुमारी स्मृति पुरस्कारवापत ४० हजार प्रदान
गरिएको थियो । विद्यायले उक्त रकम अक्षय कोषमा राखी प्रत्येक बर्ष उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ । यसैगरी शान्तिलता स्मृति पुरस्कारवापत पब्लिक मावि धरान १२ लाई प्रदान गरिएको छ । पच्चीस हजार राशीको उक्त पुरस्कारवापतको रकम विद्यालयले अक्षय कोषमा राखी प्रत्येक बर्ष व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा ल्याउने, एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्राचार्य इन्द्रमोहन झाले बताउनुभयो । यस्तै धरान १७ स्थित रहेको पञ्चकन्या माविलाई समेत १५ हजार प्रदान गरेको छ भने धरान १ स्थित रहेको सरस्वती प्राविमा आफना मातापिताको स्मृतिमा प्रष्ठिानका अध्यक्ष वीरेन्द्रसिंह थापाले बाल झुलाको निर्माण गरिदिनु भएको छ ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् विद्वान व्यक्तित्व विपुलेन्द्र चक्रवर्तीले भन्नुभयो सुयोग्य पुत्रले आफनो आमा बाबुको समृतिमा प्रतिष्ठान खोलेर शैक्षिक क्षेत्रमा जुन कार्यको आरम्भ गर्नुभएको छ त्यसले अरुलाई समेत प्रेरणा प्रदान गर्छ । उहाँले स्व.राजेन्दबहादुर थापासँगको दर्जनौ स्मृतिहरु कोट्याउनु भएको थियो । उहाँले एउटा प्रसंग कोट्याउदै भन्नुभयो उहाँको अँगेजी अत्यन्तै राम्रो थियो । उहाँको जस्तो अंगं्रेजी आफ्नो नभएकोमा कहिलेकाहीँ आफूलाई ग्लानी भएर आउँथ्यो । मैले पनि एम.ए. सम्मको अध्ययन गरेको छु तर म किन उहाँको जस्तो बोल्न सक्दिन भन्ने लाग्थ्यो ।
स्व. राजेन्द्रबहादुर थापाको बारेमा प्रा.डा. हरिप्रसाद दाहालले विस्तारमा चर्चा गर्नुभएको थियो । धरानलाई कर्मक्षेत्र बनाउनु भएका थापा धनकुटाको मुगामा जन्मनु भयो । प्राथमिक शिक्षा धनकुटा,विराटनगर हुँदै बनारससम्म पुगेर पुरा गर्नुभएको थियो । प्रमाणपत्रको आधारमा उहाँको शैक्षिक योग्यताको मापन हुन सक्दैन । राष्ट्र र राष्ट्रियताका बारेमा बोल्दा उहाँ कहिल्यै थाक्नु भएन भन्दै आफूहरुका धेरै समस्याको समाधान खोजिदिएको उहाँले स्मरण गर्नुभयो । कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रसिंह थापाले गर्नुभएको थियो । प्रतिष्ठानका सदस्य मोहन श्रेष्ठले पनि स्व. थापाका बारेमा प्रकाश पार्नुभएको थियो भने सञ्चालन विष्णु बरालले गर्नुभएको थियो ।

