विपीका कर्मचारीको आन्दोलनमा अन्यको समेत समर्थन

धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी कल्याण समाजको अगुवाईमा ९ दिन देखि भइरहेको आन्दोलनलाई नागरिक अधिकार संरक्षण मञ्च धरानले समेत सर्मथन गरेको छ ।
मञ्चका अध्यक्ष प्रेमकुमार राई र सचिव सागर प्रसाईले एक अपिल प्रकाशित गरी कर्मचारीको आन्दोलनलाई समर्थन जनाएको हो । कर्मचारीहरुका जायज मागहरु तत्काल पूरा गरी प्रतिष्ठान सुचारु गर्न सम्पूर्ण सरोकारवाला तथा सम्बन्धित व्यक्ति र निकायलाई अपिलमा ध्यानाकर्षण समेत गराइएको छ ।
मञ्चका पदाधिकारी सहितका टोली कर्मचारी कल्याण समाजले गरेको धर्नास्थलमै पुगेर अपिल बुझाउंदै अध्यक्ष राई र मञ्चका सल्लाहकार मुरारी प्रसाद भट्टराईले धर्नालाई सम्बोधन समेत गरेका थिए । उनीहरुले यो आन्दोलन निर्णायक र अन्तिम हुनुपर्ने र त्यसपछि कुनैपनि वहानामा कहिल्यैपनि आन्दोलन हुन नदिन बन्द निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बताए ।
आफुहरु पनि कर्मचारीको माग पूरा गराउन सिठी जुलुस, मैनबत्ती जुलुस निकाल्ने र आंखामा कालोपट्टी बांधी धर्ना बस्ने बताउंदै त्यत्ति गर्दा पनि माग पूरा नगरिए धरान बजार नै बन्द गर्ने समेत चेतावानी दिदै चाडो भन्दा चाडो कर्मचारीहरुको  दिंदै विरामीको उपचार सेवालाई प्रभावित नगर्न आग्रह गरे ।
कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले भाद्र ३० गते भएको प्रतिष्ठानको संचालक परिषदको बैठकले समाजसंग सम्झौता भएका २५ प्रोत्साहन भत्ता, नेपाल सरकारले गत आ.व.०७०/०७१ मा वृद्धि गरेको १८ प्रतिशत तलब, १ हजार भत्ता, चालु आ.व. ०७१/०७२ मा वृद्धि गरेको १०प्रतिशत तलब, एक दिनको तलब बराबर वार्षिक वृद्धि(ग्रेड), करार सेवाबाटै सेवा अवधि गणना, कर्मचारीहरुलाई प्रशासनिक र प्राविधिक समूहमा वर्गिकरण, २ सय १० दिन संचित घरविदा, शैक्षिक कोटा, जोखिम भत्ता लगायतका मागहरु पूरा नगरी आयोगको नाममा तुहाउने षडयन्त्र गरेको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
आन्दोलनकारीहरुले सम्पूर्ण सेवा ९ दिन देखि बन्द हुदा समेत कुनै चासो र चिन्ता नगरी प्रतिष्ठानका पदाधिकारी, स्वास्थ्य मन्त्रालय र नव गठित आयोगले कानमा तेल हालेर बसेकाले आन्दोलन अझ शशक्त पार्दै लैजाने बताएपछि वीपी प्रतिष्ठान अझ अस्तव्यस्त भएको छ । प्रतिष्ठानका चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज, जुनियर रेसिडेन्ट कल्याण समाज र विद्यार्थी कल्याण समाजसंग साझा माग र धारणा बनाएर सामुहिक रुपमा आन्दोलनलाई अगाडि बनाउने तयारी भइरहेकोले यो आन्दोलनको समस्या समाधान हुनुको साटो अझ लामो समय चल्ने संकेत देखिएको छ ।
३६ औ सिनेट बैठकमा समेत कर्मचारीको तर्फबाट सहभागी भएर आउनुभएका अध्यक्ष तामाङले प्रतिष्ठानका कुलसचिव तुलबहादुर श्रेष्ठले आयोग गठन गर्न सहमति गरेर विरोध गरेको भनि दिएको अभिव्यक्ति झुटो भएको भन्दै समाजसंग सबै माग पूरा गर्छु भनि सम्झौता गर्ने र कार्यकारीणी समितिवाट समेत स्विकृत गराउने अनि सिनेटमा आफै स्विकृतिका लागि प्रस्तुत गरी आफै विरोध गर्ने पदाधिकारीहरुको द्धैध चरित्र र रवैया बुझिनसक्नुको भएको समाजका अध्यक्ष तामाङको भनाई छ ।
प्रतिष्ठानका कर्मचारीहरुलाई प्रतिष्ठानभित्रैबाट एक्यवद्धता प्रकट हुनु र नागरिक समाजले समेत आन्दोलनलाई समर्थन गर्ने घोषणा गरेपछि कर्मचारीहरुको आन्दोलन अझ सशक्त हुने भएको छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा धर्ना, सभा, आन्दोलन गर्न नपाउने सर्वोच्च अदालतको आदेश आदेशमै सीमित भएको छ भने पूर्व उपकुलपति प्रा.डा. शेखर कोइरालाको संयोजकत्वमा गठन
गरिएको समितिले समेत कर्मचारीहरुको मागलाई गम्भीरतापूर्वक नलिएकै कारण दिनप्रतिदिन प्रतिष्ठान धरासायी बन्दै गएको छ भने विरामीहरुले समेत अनाहममा दु:ख पाइरहेका छन् ।
प्रतिष्ठानमा आएका विरामीहरुले उपचार नपाएर भौतिरिरहेका मात्र छैनन् बेखर्ची भएर फर्कनुपर्ने अवस्था आइसकेको बताइरहेका छन् भने ९ दिनदेखि आकस्मिक र अन्तरंगबाहेकका सम्पूर्ण सेवा ठप्प हुदा प्रतिष्ठानले २५ करोड भन्दा बढीको घाटा व्यहोरिसकेको छ ।

तपाईको प्रतिक्रिया