दलहरुले तेस्रो लिंगी तथा समलिंगीलाई स्थानीय निर्वाचनमा प्रतिनिधित्व नगाराएको गुनासो

धरान÷ देश स्थानीय तहको निर्वाचन को तयारीमा होमिएका बेला तेस्रो लिंगी तथा समलिंगीहरुले देशका कुनै पनि स्थानमा आफ्नो प्रतिनिधित्व नभएको गुनासो गरेका छन् ।
नेपाल सरकारले आफूहरुलाई उपेक्षित गरेको आरोप लगाउने उनीहरुले धरानमा म को हु म भन्ने डकुमेन्ट्री प्रर्दशनका क्रममा राजनीतिक दलले समेत तेस्रो लिंगीहरुलाई प्रयोग मात्र गरेको तर प्रतिनिधि बनाउने कु्रामा हिच्किचाउने गरको आरोप लगाए ।
पहिलो संविधान सभामा सुनसरी क्षेत्र नंं. १ बाट नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट उमेद्वारी दिई सम्मानजनक मत ल्याउनु भएकी तेस्रो लिंगी दिपिका राईले अहिलेको स्थानीय तहमा सातवटै प्रदेशका कुनै पनि स्थानबाट तेस्रो लिंगीबाट प्रतिनिधि बनाउन राजनीतिक दलहरुले कन्ज्युस्याई गरेको गुनासो पोख्नुभयो । दलहरुले घोषणापत्रमा अल्पसंख्यक, पिछडिएका जातिहरुलाई प्राथमिकतामा
राखेर काम गर्ने, आदिवासी, जनजाति, पिछाडएका जातिलाई समेत पार्टीमा प्रतिनिधित्व गर्ने कुरा उल्लेख गरेपनि त्यो घोषणापत्रमै सीमित हुने आरोप राईको छ । खासगरी ठूला मानिएका दल जसले मुलुकको परिवर्तन गर्न अग्रणी भूमिका निर्वाह गर्ने ठेक्का लिएका छन् उनीहरु नै अल्पसंख्यक, पिछडिएका जातिहरुको प्रतिनिधित्वको विषयमा खुलेरै अगाडि नआएको आरोप राईको छ ।
तेस्रो लिंगी र समलिगीको हकमा काम गर्दै आएको उदाउदो विहानी र ब्लु डाइमण्ड सोसाइटीले समेत तेस्रो लिंगी र समलिंगीलाई राज्यले अहिले पनि तेस्रो दर्जाको रुपमा हेर्ने गरेको बताउदै आएका छन् । उदाउदो विहानीका सचिव सन्दिप राईले पिछडिएका वर्गको हक हित पिछडिएका वर्ग समुदायबाट नै प्रतिनिधित्व नहुनजेलसम्म उनीहरु सधै उपेक्षित हुने भएकोले स्थानीय निकायमा कही न कही दलहरुले प्रतिनिधित्व गराएर जानुपर्नेमा जोड दिनुभयो ।
महिला, दलित, जानजाति लगायतको स्थानीय चुनावमा कोटा भएपनि तेस्रो लिंगी र समलिगीका लागि कुनै कोटा दलहरुले नछुट्याएको भन्दै नेपालमा अझै तेस्रो लिंगी र समलिगीलाई हेर्ने दृष्टिकोणमा कुनै फरक नभएको बताउनुभयो ।
तेस्रो लिंगी र समलिंगीको माग सम्बोधन गर्न, आवाज बुलन्द बनाउन तथा निति निर्माणमा प्रतिनिधित्वका लागि पनि स्थानीय चुनावमा आफूहरुको प्रतिनिधित्व आवश्यक
रहेको उनीहरुको बुझाई छ ।
नेपालमा तेस्रो लिंगी र समलिंगीको संख्या ५ लाख भएको ब्लु डाइमण्ड सोसाइटीको तथ्यांकमा उल्लेख छ भने सुनसरी ३५ हजार र धरानमा मात्र ८ हजार तेस्रो लिंगी र समलिंगीको संख्या रहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया