विमारी बोक्ने एम्बुलेन्स भाडाको गाडी सरह

गोविन्द बस्नेत
विरामी बोक्ने एम्बुलेन्स सेवा सेवाप्रदत्त भन्दा पनि नाफामुखी गर्ने उद्देश्यले सञ्चालन गरेको भन्दै ०७१ साल वैसाख २३ गते जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला एम्बुलेन्स तथा व्यवस्थापन समिति गठन गरे पनि त्यसले प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।
तत्कालीन सुनसरीका प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोख्रेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र जिल्ला स्वास्थ्य कार्यालय सुनसरी सदस्य रहेको सो समितिले प्रक्रिया नपुर्‍याई सञ्चालनमा आएका एम्बुलेन्सहरुको न त अनुगमन गरेको छ न त विगतमा भएका अनुगमनबाट प्रक्रिया नपुर्‍याई सञ्चालनमा आएका एम्बुलेन्सलाई कारबाही नै अगाडि बढाएको छ । त्यसबेला गठन भएको व्यवस्थापन समितिले स्वीकृति दिएर सञ्चालनमा रहेका एम्बुलेन्सको रेकर्ड राख्ने, नेपाल सरकरको एम्बुलेन्स नीति अनुरुप पुराना एम्बुलेन्सलाई समेत प्रक्रियामा ल्याउने र अनुगमनलाई तिब्रता दिने अनुगमनको नेतृत्व नेपाल रेडक्रस सोसाइटी सुनसरीको अगुवाईमा प्रहरी प्रशासनको सहयोगमा
गरिने भनिए पनि गठन भएको ४ महिना वितिसक्दा पनि सो समितिले अनुगमन
गरेर कारबाही गर्न सकेको छैन । अनुगमनको अख्तियारी पाएको नेपाल रेडक्रस सोसाइटीले समेत प्रक्रिया नपुर्‍याई सञ्चालनमा ल्याएका एम्बुलेन्सको अनुगमन गरेर कारबाही प्रक्रियालाई नियमित गर्न नसकेको
स्वीकारेको छ ।
नेपाल रेडक्रस सोसाइटीका कर्मचारी किरण कार्कीले सुनसरीमा ८४ वटा एम्बुलेन्स प्रक्रिया पुगेको भन्दै दर्ता भएपनि ३० प्रतिशत एम्बुलेन्समा अझै पनि सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा आएको र त्यसलाई रोक्न नसकिएको जानकारी दिनुभयो ।
यद्यपि २०६८ सालमा सुनसरीका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माको संयोजकत्वमा बनेको समितिले भने सुनसरीमा रहेका एम्बुलेन्सको अवलोकन गरेको थियो । त्यसबेला गरिएको अनुगमनपश्चात
सुनसरीमा अनुगमन नै नभएको नेपाल
रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले जानकारी दिनुभयो ।
त्यसबेला सुनसरीमा रहेका एम्बुलेन्सहरुको अनुगमन गर्दा लायन्स क्लब अफ दन्तकालीले सञ्चालन गरेको को १ च ६२७ नम्बरको एम्बुलेन्स
विराटनगर जेसिजको नाममा दर्ता रहेको, मानबहादुर स्मृति प्रतिष्ठान, दमक ११ झापामा भएपनि सुनसरीबाट सञ्चालन, उद्योग वाणिज्य संघ, झुम्काको दुई वटा एम्बुलेन्समध्ये को १ च ३५६५ को कागजपत्र प्राप्त भएपनि अक्सिन नराखिएको र को १ झ ४६८ नम्बरको कुनै पनि कागजपत्र नभएको फेला पारेको थियो । यस्तै जवाहरलाल शाह स्मृति प्रतिष्ठान डुम्राह ३,
सुनसरीबाट सञ्चालन गर्ने इजाजत भएपनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडिबाट सञ्चालन हुने गरेको लगायतका प्रक्रिया नपुर्‍याई २० भन्दा बढी एम्बुलेन्स सञ्चालनमा आएपनि तत्कालीन अवस्थामा कारबाही गरेपनि ती एम्बुलेन्सहरु अहिले समेत निर्वाध रुपमा प्रक्रिया नपुर्‍याई सञ्चालनमा आउदा समेत समितिले
कारबाही गर्न सकेको छैन ।
यतिमात्र हैन धरानमा हाल २० वटा एम्बुलेन्स विभिन्न संघ संस्थाको नाममा सञ्चालनमा रहेका छन् । ती एम्बुलेन्स समेत सेवाभावका रुपमा सञ्चालन नभई नाफामुखी रुपमा सञ्चालन भएको भन्दै प्रतिष्ठानमा सञ्चालित ट्याक्सी व्यवसायी संघले विगतदेखि नै विरोध गर्दै आइरहेको छ । मानवीय हिसाबले सेवा पुर्‍याउने एम्बुलेन्स विहानदेखि बेलुकासम्म विरामी ढुकेर प्रतिष्ठानको हाताबाहिर बस्ने गरेकोले ट्याक्सी व्यवसायी मारमा परेको समेत संघका पदाधिकारीहरुले बताएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एम्बुलेन्सले विरामी लिएर आएको १० मिनेट भन्दा बढी पार्किड गर्न नपाउने नियम बनाएपनि एम्बुलेन्स चालकले नियमको धज्जी उडाएको उनीहरुको आरोप छ । यता एम्बुलेन्स व्यवस्थापन समिति धरानले समेत एम्बुलेन्सलाई सेवामुखी बनाउनेतर्फ सबै एम्बुलेन्स सञ्चालक, चालकहरु अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । समितिका अध्यक्ष मोहन तिगेलाले सरकारबाट राजस्व छुट गरेर सेवाभावको भावनाले ल्याएका एम्बुलेन्सलाई नाफामुखी बनाउन नहुने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीले दशै अगाडि अनुगमन गर्न पत्र पठाइसकेकोले चाडै नै अनुगमन गर्ने जानकारी दिएको छ । अनुगमनका क्रममा प्रहरी प्रशासनलाई सामेल गराएर अनुगमन गर्ने र प्रक्रिया नपुर्‍याई सञ्चालनमा ल्याइएको पाए तुरुन्त कारबाहीको प्रक्रिया अगाडि बढाइने समेत नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले जानकारी दिनुभयो ।
त्र

तपाईको प्रतिक्रिया