धरान÷पूर्वाञ्चलकै सुन्दर नगर
धरानलाई धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यले झण्डै एक बर्ष यता भगिरथ प्रयास गर्दै आएको विश्वहिन्दु परिषद नेपालले हिजोदेखि पिण्डेश्वर अष्टादश महापुरण ज्ञान महायज्ञ भव्यताका साथ शुभारम्भ गरेको छ ।
महायज्ञको पहिलो दिन हिजो मंगलबार धरानमा विशाल शोभा यात्रा गरेको छ । जोर हात्तीसहित महायज्ञ स्थलबाट मेची महाकालीको जलसहितको कलश यात्रा, धरानका मात्र नभएर
धरानबाहिरबाट आएका दर्जनौ धार्मिक संघ संस्थाको स्वस्फूर्त आवद्धता, खोटाङको हलेसी महादेव स्थानबाट, ताप्लेजुङ्गको पाथिभरा मन्दिरबाट ल्याइएको, जनकपुरको जानककी मन्दिरबाट ल्याइएको, महाकालीबाट ल्याइएको नेपाल माताको रथसँगै स्वास्तिक वाचन टोलीको मन्त्रोच्चारणले हिजो धरान साँच्च नै गुन्जायमान भएको थियो ।
महायज्ञ स्थलबाट हात्तीसहिको शोभा यात्रासँगै धार्मिक संघ संस्थाका महिलाहरुले बोकेको कलश, स्वास्तिक वाचन र रथले धरानको चतरालाइन, सिंहदेवी लाइन, देशी लाइन, पुतली लाइन, महेन्द्र पथ हुँदै पुनः सोही स्थानमा आएर विसर्जन भएको थियो । फागुन १६ गते नान्नेमुखी गरेर विधिवत शुभारम्भ गरिएको महापुराण बुधबारदेखि शुरु भई चैत्र ६ गते सम्पन्न हुने भएको छ । २१ दिनसम्म चल्ने महायज्ञको १८ गते बुधबार नेपालका प्रथम ऐतिहासिक जगद्गुरु अनन्त श्री विभुषित वालसन्त मोहनशरण देवाचार्य महाराजका बाहुलीबाट अद्वितीय अनुष्ठानको समुद्घाटन गरिने भएको छ । त्यस अवसरमा अठार वटै महापुराणको नेपाली भाषामा सार संग्रह समेटिएको विशाल ग्रन्थको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यबाट विमोचन हुने भएको छ । आयोजक समितिका संयोजक एवम् सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाहका अनुसार नेपाली भाषामा सारसंग्रह समेटिएको विशाल ग्रन्थ प्रकाशित गर्नुको मुख्य कारण सम्पूर्ण नेपाली भाषी श्रद्धालु भक्तजनले नेपाली भाषामै घरमै बसेर अठारवटै पुराणको अध्ययन र मनन गर्न पाउन् भन्ने नै हो । उक्त महत्वपूर्ण पुस्तक खरिद गर्नका लागि अग्रिम आफ्नो नाम दर्ता गराउन समेत श्रद्धालु भक्तजनमा उहाँले आग्रह गर्नुभयो ।
देशका १४ वटै अञ्चल र ७५ वटै जिल्लाबाट आउनु भएका संकल्पकर्ता महानुभावहरुले फागुन १८गते बुधबारै अद्वितीय अनुष्ठानको सामुहिक संकल्प गर्न सक्नुहुने मुल समारोह समितिका सचिव सीताराम आचार्यले जानकारी दिनुभयो । महायज्ञको सबैभन्दा राम्रो पक्ष के देखिएको छ भन्ने महायज्ञ प्रारम्भ भएको प्रत्येक दिन ॐकार परिवारभित्रका कुनै पनि विशिष्ट विद्वान एवम् धर्मगुरुको प्रमुख आतिथ्यमा १४ अञ्चलबाटै आउनु भएका विशिष्ट विद्वान वाचक पण्डितहरुले हरेक दिन एक एक पुराणको कथासार संक्षिप्तमा व्याख्या गर्नुहुने छ ।
