अति भ्रष्ट भएको सरकार र राजनीतिक दल

सत्र हजार भन्दा बढी सर्वसाधारण नेपालीहरुलाई अनाहकमा बलिवेदीमा चढाएर सत्तामा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका अन्य केही सत्तासीन र सत्ता बाहिर बसेका
राजनैतिक दलहरुको मनोमानीले पराकाष्ठ नाघेको छ ।
झण्डै एक साता अगाडि पूर्व राजा ज्ञानेन्द्र साहले मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जारी विज्ञप्तीप्रति यतिबेला सत्तासीन राजनैतिक दलका जिम्मेवार भनाउँदा व्यक्तिबाट जे जस्तो प्रतिक्रिया आएको छ त्यो एकदमै अपाच्य देखिएको छ ।
आम सर्वसाधारण नेपाली एकदिन असफल नेताहरुकै विरुद्धमा सडकमा उत्रिए भने अब त्यसलाई आश्चर्य नमाने हुने भएको छ । मुलुक सञ्चालनमा पूर्ण रुपले असफल सावित भइसकेका यहाँका राजनैतिक दलहरुले सम्भवतः अब आफ्नो दिनगन्ति शुरु भएको अनुभग गर्न थालेकैले हुन सक्छ प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्ना असफलताहरुको ढाकछोप गर्न र नेपाली जनतालाई वास्तविकताबाट टाढा राख्न पूर्व राजाका बारेमा चिच्याहट र रोदन शुरु गरेका छन् ।
एउटा सामान्य वक्तव्यले डराउनुपर्ने त्यसले हुन्छ जसले मुलुकलाई यो दुर्गतिमा पु¥यायो । यस कोटीमा सत्तासीन
राजनैतिक दल, उग्र क्रान्तिको विषवमन गर्नेहरु नै पर्छन् । पूर्व राजा ज्ञानेन्द्रको वक्तव्यलाई यहाँका राजनैतिक दलले राजनीतिमात्र ठानेका छन् । वक्तव्य भित्र लुकेका मानवीय पक्षलाई वेवास्ता गरेका छन् । आज मुलुक जुन अवस्थाबाट गुज्रिएको छ त्यो असक्षम राजनैतिक नेतृत्वकै उपज र परिणति हो । प्रचण्ड ज्यादा बोल्ने तर काम केही गर्न नसक्ने खलपात्रका रुपमा आम जनतामा चिनिन्छन् । यहाँका राजनैतिक दल र नेतृत्वलाई भन्दा हजारौ गुणा ज्यादा अहिले पनि नेपाली जनताले राजा ज्ञानेन्द्रलाई मान्छन् । यहाँका ६०१ स्याल भन्दा एउटा सिंह नै ठीक भन्ने मान्यता नेपाली जनताको छ । गुण्डागर्दीको आडमा निषेधको
राजनीत गर्दा दलहरु दिनैपिच्छे पतनोन्मुख भइरहेका छन् । यस कुराको पुष्टि गर्न मुलुकमा राजंस्थाको आवश्यकता छ कि छैन भनेर जनमत संग्रह गराउने हो भने त्यो नै पर्याप्त हुन्छ । तर आफूलाई राजाको स्थानमा भएको ठान्ने, राज्य शक्तिको दुरुपयोग, कमिशन र भ्रष्टाचारमा निर्लिप्त सत्तासीन र राजनैतिक दलकै कारण मुलुक एसियाकै सबैभन्दा गरिब हुन पुगेको छ । राजाको विज्ञप्तीलाई चिन्तन र मनन गर्नुपथ्र्यो । भुकम्प गएको झण्डै दुई बर्ष हुन लाग्यो । पीडितहरु अहिलेसम्म खुल्ला आकाशमुनि हिउँद बर्षा बिताउन बाध्य छन् । दाताले दिएको रकममा गिद्धले सिनो लुछे झै दल र सत्तासीनले लुछिरहेका छन् । भुकम्प पीडितलाई दिएको रकममा हेलिकोप्टर चढ्ने, महंगा होटलमा गोष्ठी र सेमिनार गर्ने, विदेश भ्रमण गर्ने गर्छन् । बाढी पीडितहरु केही बर्षदेखि यस्तै विचल्लीमा छन् । राज्यले तिनको उचित व्यवस्थापन गर्नुपर्ने हैन र ? सामान्य रुघा खोकी लाग्दा करोडौ रुपैयाँ राज्य कोषबाट लिएर उपचार गर्न विदेश पुग्ने तर एउटा सिटामोल खान नपाएर मृत्युवरण गर्न बाध्य गर्न नेपाली जनताले अब दिन दलका विरुद्धमा आन्दोलन गरे भने त्यसलाई अनौठो नमाने हुन्छ ।

तपाईको प्रतिक्रिया