सातौं राष्टिूय खेलकुद प्रतियोगिता अन्र्तगतको उसु खेलमा नेपाली सेनाले स्वर्णमा बर्चश्व कायम गरेको छ ।
मंगलबार अमर सेवा समाजको कबर्डहलमा भएको फाईनल खेलमा नेपाली सेनाले १० स्वर्ण पदक सहित ४ वटा रजत र ५ वटा कास्य पदक हात पारेको छ । नेपाली सेनाका तर्फबाट उसुको थावलु तर्फ विजय थापा सिन्जाली, हरि प्रसाद गोले, सबिता राई, ओशिन राई, निमा घर्तिमगरले स्वर्ण पदक हात पारे भने सान्सौं तर्फ चित्र सिंह ठकुरी, रामचन्द्र बराल, लुमन्ति श्रेष्ठ र बिन्दु पुनले स्वर्ण पदक हात पारे ।
त्यसै गरि अर्को विभागिय टोलि सशस्त्रले ६ वटा स्वर्ण पदक सहित ३ रजत र ४ कास्य पद जितेको छ । सशस्त्रका तर्फबाट थावलु तर्फ सुस्मिता तामाङ, सान्सौं तर्फ अशोक खालिङ, अमर सुनार, मंगल प्रसाद थारु, संजीव महर्जन, तेज बहादुर पल्लीले स्वर्ण पदक जितेका हुन् । अर्को विभागिय टोलि नेपाल पुलिसका तर्फबाट प्रेमचन्द्र सिंह दर्लामी र जुनी राईले सान्सौं तर्फबाट स्वर्ण पदक पाए भने १ वटा रजत र ४ वटा कास्यमा पुलिसले चित्त बुझाएको छ । यता मध्यमाञ्चलबाट सान्सौं तर्फ क्रान्ति लामा, अन्जली श्रेष्ठ, थावलु तर्फ राजु लामाले स्वर्ण हात पारे भने ५ वटा रजत र ५ वटा कास्य हात पारेको छ । घरेलु मैदानमा आयोजना गरिएको सातौं राष्टिूय खेलकुदको उसु तर्फ पुर्वाञ्चल स्वर्ण पदक विहिन भएको छ । आजको फाइनलमा ४ वटा रजत सहित ६ वटा कास्य पदक हात पारेको छ । त्यस्तै पश्चिमाञ्चलले १ वटा रजत र ४ वटा कास्य पदक प्राप्त गरेको छ । त्यस्तै मध्यपश्चिमाञ्चलबाट थावलु तर्फ दिपक हमालले १ स्वर्ण पाए भने १ वटा रजत र ३ कास्य पाएका छन् । सुदुरपश्चिमाञ्चलबाट सान्सौ तर्फ एलिना चौधरीले स्वर्ण पदक हात पारिन् भने ४ रजत र ६ वटा कास्य हात पारेका छन् ।
यसैगरी प्रतियोगिता अन्तर्गत सेपाकताक्रोमा पश्चिमाञ्चल क्षेत्रको टिमले दुईस्वर्णसहित शीर्षस्थान ओगट्न सफल भएको छ ।
धरान १८ स्थित डिपो उच्चमाविको कोर्टमा सम्पन्न रेगो, डब्बल र टिम इभेन्टहरुमा पश्चिमाञ्चलले २ स्वर्ण र दुई रजत पदक हात पारेको छ । पश्चिमाञ्चलले पुरुष डब्बल र महिला डब्बलमा स्वर्ण जितेको हो । साथै, पुरुष रेगो र महिला रेगोमा रजत पदक हात पारेको हो । विभागीय टिम नेपाल आर्मीले २ स्वर्णसहित एक रजत पदक हात पार्दै दोस्रो स्थानमा छ ।
विभागीय टिमले पुरुष रेगो र टिम इभेन्टमा स्वर्ण जित्दा पुरुष डब्बलमा रजत जितेको थियो । सुदुर पश्चिमाञ्चलले एकस्वर्ण, एक रजत र एक कास्यसहित तेस्रो बनेको छ । उसले महिला रेगोमा स्वर्ण जित्दा महिला डब्बलमा रजत र पुरुष टिम इभेन्टमा कास्य पदक हात पारेको थियो । मध्यमाञ्चलले चार कास्य पदक हात पारेको छ । मध्यपश्चिमाञ्चलले एक रजत जित्दा पूर्वाञ्चल पदकविहीन बनेको छ । पुरुष टिम इभेन्टमा मध्यपश्चिमाञ्चलले एक रजत हात पारेको थियो ।
पुरुष इभेन्टहरुमा विभागीय टिम नेपाल आर्मीसहित ६ वटा टिम सहभागी थिए भने महिला इभेन्टमा पाँच विकास क्षेत्रको टिमहरुमात्रै सहभागी बनेका थिए । विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्र गुरुग र डिपो उच्चमाविका प्राचार्य राजकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
यस्तै प्रतियोगिता अन्तर्गत अन्तर्गत पुरुष बास्केटबलमा विभागीय टोली नेपाली सेना र मध्यमाञ्चल क्षेत्रबीच बुधबार भिडन्त हुँदै छ । मङ्गलबार सम्पन्न खेलबाट सेनाले पूर्वाञ्चल क्षेत्रको टोलीलाई १०५(७० स्कोर अन्तरले पराजित गर्दै फाइलनमा पुगेको हो ।त्यस्तै मङ्गलबारै भएको अर्को खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ९९(८१ स्कोर अन्तरले पराजित गर्दै फाइलनमा पुगेको छ । सेनाले प्रत्येक क्वाटरमा ३३(२८(१७(२७ अङ्क बनाउँदा पूर्वाञ्चलले १३(१९(२०(१८ स्कोर जोडेको थियो । त्यस्तै मध्यले २०(२५(२७(२७ स्कोर जोड्दा पश्चिमले १८(१४(२५(२४ अङ्क जोडेको थियो । बुधबार कास्यको लागि भने पूर्वाञ्चल र पश्चिमाञ्चलबीच खेल हुने छ ।
त्यसैगरी प्रतियोगिताअन्र्तगत पुरुष फुटबलको सेमीफाइनल समीकरण पुरा भएको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार समुह ‘ख’ अन्र्तगत त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गोलरहित बराबरी खेल्दै सेमीफाइनल प्रवेश गरेपछि समीकरण पुरा भएको हो । समुह ‘ख’बाट आर्मीले ७ अंकसहित समुह विजेता बनेर अन्तिम चारमा स्थान पक्का ग¥यो भने ५ अंक जोडेको एपिएफ उपविजेता हुदै सेमीफाइलन पुग्यो । समुह ‘क’ विजेता हुदै नेपाल पुलिस क्लब र मध्यमाञ्चल क्षेत्र उपविजेता हुदै यसअघि नै सेमीफाइनल पुगिसकेको छ ।
आर्मीले लिग चरणको तीन खेलमध्ये २ मा जित र एक खेलमा बराबरी खेल्दै कुल ७ अंक जोड्यो । सशस्त्रले भने एक खेलमा जित र २ मा बराबरी खेलेको थियो । मंगलबार आर्मीसँगको खेलमा बराबरी मात्र खेलेपनि सशस्त्रलाई सेमीफाइनल यात्रा सहज थियो । बुधबार समुह ‘क’को विजेता पुलिसले समुह ‘ख’को उपविजेता सशस्त्रसँग पहिलो सेमीफाइनल खेल्नेछ भने समुह ‘ख’को विजेता आर्मी र समुह ‘क’को उपविजेता मध्यमाञ्चलबीच दोस्रो खेल हुनेछ । समुह ‘ख’ बाट सुदुरपश्चिमाञ्चल क्षेत्र र मध्यपश्चिमाञ्चल क्षेत्र बाहिरिएको छ ।

