समिक्षा कार्की
कक्षा–११ श्री सुकुना मा.वि.कोशी
हरैंचा –५ मोरङ्ग
विषयः भ्रष्टाचार नियन्त्रणमा शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका
‘भ्रष्टाचार’ शब्द ‘भ्रष्ट’ र ‘आचार’ दुई शब्दको योगबाट बनेको हो । भ्रष्टको अर्थ बिग्रेको, विचलित र आचारको अर्थ चरित्र, आचरण भन्ने हुन्छ । तसर्थ पद वा दायित्वमा रहेको व्यक्तिले अनुचित ढङ्गबाट गर्ने आर्थिक हिनामिना र नैतिक पतनसमेतलाई समग्रमा भ्रष्टाचार भनिन्छ । मीठो खाऊँ, राम्रो लाऊँ, धनी बनौं र सुविधा भोग गरौं भन्ने संसारमा सबैको तीव्र चाहना रहेको हुन्छ । यही चाहनाको परिणामस्वरूप भ्रष्टाचार जस्तो देशलाई भित्रभित्रै खोक्रो पार्ने खराब प्रवृत्ति वा अपराध जन्मिन्छ । अनि बिस्तारै देश आर्थिक समस्याको चपेटामा लपेटिंदै जान्छ । हाम्रो देशको सन्दर्भमा कुरा गर्दा एकातिर गरीबी निवारण गर्नुपर्ने ठूलो जिम्मेवारी छ भने अर्कातिर बढ्दो भ्रष्टाचारको चक्रव्यूह । यी दुई विरोधाभाषका माझबाट देशलाई समृद्धिको सर्वोच्चतामा पु¥याउने हामी नागरिकको सपना साकार नहुनसक्छ । देश झनझन् गरिबीको भूमरीमा फँस्दै जान्छ । तसर्थ भ्रष्टाचार नियन्त्रण गरी देशलाई विकासको बाटोमा डोहो¥याउन अति आवश्यक छ । यसका लागि नयाँ जोश र होस भएका विद्यार्थी, ज्ञानको ज्योति फैलाउने शिक्षक र जिम्मेवार अभिभावकको भूमिका समेत उत्तिकै अपरिहार्य हुन्छ ।
आज विश्व एक्काइसौं शताब्दीमा प्रवेश गरिसकेको छ । भ्रष्टाचार नियन्त्रित कतिपय राष्टूहरूले अहिले आएर गरेको प्रगति देखेर अन्य विकासोन्मुख राष्ट्रका जनताहरूका लागि उनीहरूको जीवनशैली लोभलाग्दो बनेको छ । तर हाम्रो देशमा भने भ्रष्टाचार झनझन् बढ्दै गएको छ । यसरी बढ्दै गएको भ्रष्टाचारकै कारण नेपाल एकदिन सबैभन्दा गरीब र कङ्गाल राष्टूको उदाहरण नबन्ला भन्न सकिंदैन । यो हाम्रा लागि यो ठूलो दुर्घटनाको पूर्वसंकेत जस्तै हो । यस्तो भयङ्कर दुर्घटनाबाट बच्न दूरदर्शितापूर्वक कदमहरू चाल्नु अनिवार्य छ । ‘भ्रष्टलाई फूलमाला र शिष्टलाई जुत्ताको माला’ लगाउने हाम्रो सामाजिक परम्परालाई जरैदेखि उखेलेर फ्याँक्नुपर्दछ । भ्रष्टाचार नियन्त्रण गरी देशलाई उन्नतिको शिखरमा चढाउनुपर्दछ ।
सूर्यले आफैंतिर फर्केर थुक्नेलाई पनि उज्यालो र ताप दुवै दिन्छ । वृक्ष आफैंलाई काट्न खोज्नेलाई पनि शितलता प्रदान गरिरहन्छ । त्यस्तै शिक्षक लाख गाली, हजार हन्डर र सयौं दुःख सहेर पनि ज्ञान
बाँडिरहन्छ । यस्तो महान् व्यक्तिका रुपमा रहेको शिक्षकको भ्रष्टाचार निवारणमा अहम् भूमिका रहेको हुन्छ । समाजमा नैतिक मूल्यमान्यता पतन हुँदै गइरहेको र विद्यालयमा नैतिक शिक्षाको खडेरी पर्दै गरेको हालको अवस्थामा नैतिक शिक्षा विषय अध्यापन नभएपनि शिक्षकको नैतिक आचरण र सादा जीवनशैली नै विद्यार्थीको अनुकरणको स्रोत हो । यसैले शिक्षकले विद्यार्थीहरुलाई भ्रष्टाचार र त्यसले हाम्रो समाज र राष्टूमा पु¥याउने नकारात्मक असरहरुका बारेमा ज्ञान बाँड्नुपर्छ । समयसमयमा भ्रष्टूाचार सम्बन्धी निबन्ध, वादविवाद जस्ता प्रतियोगिता सञ्चालन गरी विद्यार्थीहरुमा सचेतना जगाउनुपर्छ । विद्यालयमा उजूरी पेटिका राखी त्यहाँ आएका भ्रष्टाचार सम्बन्धी उजूरीको बारेमा सम्बन्धित निकायमा जानकारी गराउनसक्दा फलदायी हुनेछ । शिक्षकले एक असल र इमानदार व्यक्तिको नमूनाको रुपमा आफ्नो व्यक्तित्व स्थापित गर्नुपर्दछ । शिक्षक एक आफैंमा गरिमामयपूर्ण पद भएकाले सम्पत्तिको लोभमा आएर यस्तो भ्रष्टाचार जस्तो नीच कार्य कहिल्यै गर्नुहुँदैन । विद्यालयले विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुसके अत्यन्त राम्रो हुन्छ । भ्रष्टाचार गरेर अकुत कालो धन थुपार्ने व्यक्तिहरु समाजमा कसरी पतन भएर गएका छन् र उनीहरूलाई कानूनले कसरी कठघरामा बाँधेको छ भन्ने उदाहरण वा डकुमेन्ट्री विद्यार्थीहरुलाई देखाउनसके प्रभावकारी हुनसक्छ । कहींकतै कुनै पनि निकाय, सरकारी कार्यालयमा घुस लिएको वा दिएको थाहा पाएमा सम्बन्धित निकायमा सूचना गरी भ्रष्टाचार नियन्त्रणमा आफ्नो अमूल्य योगदान पु¥याउन सकिन्छ । भ्रष्टाचार नियन्त्रण नगरी देशको सर्वाङ्गीण विकास हुन सक्दैन । त्यसैले शिक्षक एक आफैंमा सचेत र जिम्मेवार नागरिक हुनुको कर्तव्य पूरा गरी भ्रष्टाचार नियन्त्रण गरी भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा सजायँ दिलाउन सक्दो प्रयास गर्नुपर्दछ ।
विद्यार्थी देशको प्राणवायु हो । देशलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने चन्द्र र सूर्य हो । देशको उज्ज्वल भविष्य उनीहरुकै काँधमा रहेको छ । तसर्थ देश विकासमा अवरोध सिर्जना गर्ने भ्रष्टाचार जस्तो अपराधलाई रोक्न विद्यार्थीहरुले बलियो कदम चाल्नुपर्दछ । भ्रष्टाचार निवारण सम्बन्धी विभिन्न कार्यक्रमहरुमा सहभागी भई आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्छ । कहीं घुस लिएको वा दिएको थाहा पाएमा निडरताका साथ उजूरी हाली वा सम्बन्धित निकायमा खबर गरी भ्रष्टाचार नियन्त्रणमा आफ्नो भूमिका प्रभावशाली बनाउनुपर्दछ । भ्रष्टाचार सम्बन्धी विभिन्न चेतनामुलक कुराहरु जनसमाजमा फैलाउनुपर्छ । आफ्नो विद्यालयमा पारदर्शिता कायम भएको छ छैन भन्ने कुरामा चासो देखाउनुपर्छ । यसो गरेमा पदमा रहेका व्यक्ति वा शिक्षकहरु पनि सचेत र सतर्क हुनसक्छन् । घुस लिने र दिने दुबै अपराधी हुन् भन्ने नाराका साथ भ्रष्टाचार नियन्त्रणमा लागिपर्नु पर्छ । भ्रष्टाचार नियन्त्रण नगरी कुनै पनि हालतमा देश विकास हुदैन भन्ने भावनाका साथ भ्रष्टाचारीहरुको कुकार्यलाई भण्डाफोर गर्न आफ्नो सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । आफ्नो परिवारमा पनि भ्रष्टाचार र पारदर्शिताको बिषयमा अभिभावकलाई सचेत गराउनुपर्दछ । उनीहरुको सानो प्रयासले समेत भ्रष्टाचार नियन्त्रणमा मद्दत अवश्य पुग्नजान्छ र उनीहरु असल नागरिक भएको एउटा दायित्व समेत पुरा हुन्छ ।
अभिभावकको भूमिका भ्रष्टाचार
निवारण गर्ने एउटा महत्वपूर्ण आधार हो । छिमेकीको ठूलो घर, राम्रो गाडी र महङ्गो जीवनशैलीलाई मात्र महत्व दिने तर आम्दानीको स्रोत उसको मिहिनेत र पसिना हो कि भ्रष्टाचार, तस्करी, सरकारी राजस्व ठगी जस्ता अपराध हो भन्ने मतलब नगर्ने हाम्रो समाजको चलनलाई अभिभावकहरूले सादा जीवन, उच्च विचार र नैतिक जीवनशैली आफ्नो परिवारमा अपनाई वालवालिकाहरुको कलिलो मष्तिष्कमा नैतिकताको छाप छाड्नसके मात्र भविष्यमा उनीहरूबाट असल नागरिकको कर्तव्य पूरा हुनसक्छ । सरकारी सेवामा भएका व्यक्तिका श्रीमती वा श्रीमानले छिटो समयमा धेरै पैसा कमाउन प्रेरित गर्ने र अर्को भ्रष्टाचारी व्यक्तिसँग आफन्तलाई तुलना गरिदिनाले समेत भ्रष्टाचारलाई बढोत्तरी दिइरहेको छ । यसर्थ वालवालिकाले आर्जन गर्ने ज्ञान र शिक्षा तथा अपनाउने आचरण नै समाजको भावी रूपरेखाको छायाँचित्र भएकाले आफ्ना छोराछोरीहरुलाई सानैदेखि भ्रष्टाचारले देशको प्रतिष्ठा र विकासमा पु¥याउने असरका बारेमा अभिभावकले जानकारी
गराउनु समेत थप दायित्व हुनजान्छ । भ्रष्टाचारविरुद्ध संचालन हुने बिभिन्न ¥याली, गोष्ठी, अन्तरक्रिया कार्यक्रमहरुमा सक्रियरुपमा सहभागी हुनु र गर्न प्रेरित गर्नुपर्दछ । यसबाट भ्रष्टाचार जस्तो गम्भीर अपराधले समाज र देशमा पु¥याएको हानीको बारेमा चेतना फैलाउन मद्दत हुनजान्छ । आफ्ना छोराछोरीहरुले अध्ययन गरेको विद्यालयमा के कस्तो आर्थिक पारदर्शिता अपनाइएको छ, सो बिषयमा समेत अभिभावकहरूले चासो राख्नुपर्दछ ।
एउटालाई नकाटी अर्कोको औषधी हुँदैन भन्ने तथ्य दिनको सूर्य जस्तै छर्लङ्ग छ । त्यसैले भ्रष्टाचार नियन्त्रण नगरी देशमा रहेको गरिवी निवारण गर्नु असम्भव जस्तै रहेकोले भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ । देशलाई समृद्धिको शिखरमा पु¥याउन भ्रष्टाचार नियन्त्रण गर्नैपर्छ । शभ्य, भव्य, सफल र शान्त राष्टू निर्माण गर्ने एउटा महान् जिम्मेवारी शिक्षक, विद्यार्थी र अभिभावकको समेत काँधमा रहेको छ । उनीहरूले एउटा सक्षम र सतर्क नागरिक भएको कर्तव्य पूरा गरी देशको सर्वाङ्गीण विकास गर्नमा आफ्नो भूमिका प्रभावशाली बनाउनै पर्दछ । देशको आर्थिक सुदृढीकरण भ्रष्टाचार नियन्त्रण नगरी गर्न सकिंदैन भन्ने तथ्य छर्लङ्ग भएकाले यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नैपर्छ । हरेकको सानो प्रयासले भ्रष्टाचार नियन्त्रणमा ठुलो मद्दत पुग्नसक्छ । आशा गरौं, एक समृद्ध, शान्त र भ्रष्टाचाररहित नेपाल बनाउने हाम्रो सपना विपनामा परिणत हुनेछ । हामी यही कामना गरौं, अलिकति सचेत बनौं, सबैजना हातेमालो गरौं र नयाँ नेपाल बनाउने हाम्रो प्रतिज्ञा पूरा गरौं । धन्यवाद ।
(भ्रष्टाचारविरूद्धको अन्तरराष्ट्रिय दिवस २०१६ को अवसरमा मंसिर २१ गते यस कार्यालयले जिल्ला शिक्षा कार्यालय मोरङमा आयोजना गरेको मोरङ जिल्लास्थित सामुदायिक विद्यालयहरूको माध्यमिकस्तरीय निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट भएको निबन्ध । उक्त प्रतियोगितामा प्रथम,द्वितिय र तृतिय हुने निबन्धलाई मिति यही मंसिर २४ गते इटहरी उपमहानगरपालिकाको सभा–हलमा यस कार्यालयबाट आयोजना गरिएको अन्तरकृया कार्यक्रममा नगद रु. क्रमश १ हजार,७ हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । )
