काठमाडौं । किरण सुनारको अन्तिम मिनेटको गोलको मद्दतमा नेपालले एएफसी यू–१६ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग
बराबरी खेलेको छ ।
आइतबार भएको खेलमा नेपालले साविकको विजेता उज्वेकिस्तानसँग १–१ बराबरी खेल्दै अंक खोसेको हो ।
थाइल्याण्डको मुवाङ थोङ
रंगशालामा भएको खेलमा नेपालका नियमित कप्तान एवं युवा स्ट्राइकर विमल घर्तीमगर विना मैदान उत्रिएको थियो । छनोट चरणमा पाएको दुई वटा पहेँलो कार्डका कारण विमलले उज्वेकिस्तानविरुद्धको खेल गुमाएका हुन् ।
खेलको सुरुबाटै उज्वेकिस्तानले नेपाली टोलीलाई दबावमा राखेको थियो । १२ औं मिनेटमा नेपालका अन्जन विष्टको प्रहारले सही दिशा लिन सकेन ।
२८ औं मिनेटमा नेपाली डिफेण्डर र गोलरक्षकबीच तामेल नहुँदा उज्वेकिस्तानले
राम्रो मौका पाएको
थियो । तर, सदुपयोग गर्न सकेनन् ।
४७ औं मिनेटमा अन्जनले करिव २५ याड टाढाबाट हानेको बल गोलकिपरले बचाए । ५३ औं मिनेटमा उज्वेकिस्तानले पेनाल्टी पायो, जसमा कुचिमोभले गोल गरे ।
खेलको अन्तिम मिनेटमा किरण सुनारले गोल गर्दै नेपाललाई
हारबाट जोगाए ।
