धरान÷ निर्माणाधीन छ लेनको कोशी राजमार्ग सेउती खोला हुंदै र धरान चतरा सडकको धनकुटे रोड खण्ड तिनकुने हुंदै वाइपास हुने भएको छ । यसको लागि भौतिक पूर्वाधार मन्त्री रमेश लेखक र सडक विभागका डिजीसंग कुरा भई निर्णय भईसकेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका सांसद मिन विश्वकर्माले बताए । यसवाट धरानका धनकुटे रोडवासी बजारवासीहरुलाई ठूलो राहत पुग्ने सेउती खोला हुंदै छ लेनको सडक विस्तार गर्दा साविक पांचकन्या क्षेत्रको विकासमा समेत टेवा पुग्ने उनले बताए । नेपाली कांग्रेस धरान १५ को वडा भेलालाई संवोधन गर्दै उनले यस्तो बताएको हो । उनले धरानको एयर पोर्टका लागि पर्यटन मन्त्री जीवन बहादुर शाहीसंग कुरा भई प्रारम्भिक कार्यका लागि दुई करोड विनियोजन भएको समेत बताए । कार्यकारी अधिकृत विष्णु कोइरालालाई उदृत गर्दै एयरपोर्टका लागि नपुग जग्गा धरान उपमहानगरले उपलब्ध गराउने भएको उनले बताए ।
वडा भेलामा जिल्ला सचिव सुजेन्द्र तामाङ, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सभापति तिलक राई, निवर्तमान नगर सभापति किशोर राई, नेविसंघका केन्द्रय सदस्यहरु सागर प्रसाई, ममता राई, नेपाल आदिवासी जनजाति संघका जिल्ला सभापति नन्दराज राई, नेपाल दलित संघका केन्द्रिय सदस्य राम परियार लगायतले मन्तव्य राखेका थिए । भेला वडा सभापति गणेश सुब्बाको अध्यक्षतामा भएको थियो ।

