यातायात मजदुर हत्याको बिरोधमा चक्काजाम

दमक ÷ आफ्ना सहकर्मीको हत्यारालाई कारवाही गर्न माग गर्दै झापाका यातायात मजदुरहरुले सोमबार पुर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरेका छन् । गत मंसिर ९ गते बिहीबार विहान रामेछापको निगलापानी भन्ने स्थानमा गाडीमानै जलाएर हत्या गरिएको अवस्थामा मृत भेटिएका झापा लखनपुर–१ का २६ वर्षिय विशाल खड्काको हत्यारालाई कारवाही गर्न माग गर्दै लखनपुर स्थित पाडाजुंगी चोकमा यातायात मजदुर तथा स्थानीयले चक्का जाम गरेका हुन् ।
खड्काको लाशलाई सडकको बिच भागमा राखेर प्रदर्शनमा उत्रिएका स्थानीय तथा यातायात मजदुरहरुले प्रशासनले हत्याराको पहिचान गरि कारवाही गर्नु पर्ने भन्दै नाराबाजि समेत गरेका थिए । हत्यारालाई कारवाही नगर शसक्त आन्दोलनमा उत्रने नेपाल यातायात मजदुर संघ झापाका वरिष्ठ उपाध्यक्ष विश्वास कुमार काश्यपले बताए । उनले भने,‘घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई कारवाही गर्नु पर्छ होईनभने हामी शसक्त आन्दोलनमा उत्रन बाध्य हुने छौँ’ ।
बाक्लो संख्यामा आन्दोलनमा उत्रिएका स्थानीय तथा यातायात मजदुरहरुले हत्या गरिएका खड्कालाई शहिद घोषणा गर्नु पर्ने, उनको परिवारलाई
राहत स्वरुप १० लाख प्रदान गर्नु पर्ने, परिवारको शिक्षामा राष्ट्रले हेर्नु पर्ने, यातायात क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने लगायत माग राखेका छन् । खड्कालाई त्रिवि शिक्षण अस्पताल काठमाडौँमा पोष्टमार्टम गरि सोमबार बिहानमात्र झापा ल्याईएको थियो । आन्दोलन भएको स्थलमा बोक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया