जलाधार क्षेत्र मास्ने र वन अतिक्रमणको काम वन कार्यालयले रोक्छ चुरे पर्वत सबैभन्दा कान्छो पर्वत सृंखला हो ठूला भौतिक सरचना निर्माण् गर्न मिल्दैन

धरान÷वन ऐन नियमलाई धोती लगाएर गत हप्ता धरान उपमहानगरपालिकाको संयोजनमा धरानको जलधार क्षेत्र मानिएको वडा नं. २० को छोटी मोरङमा थाउजेन विग वुद्धको निर्माण शिलान्यास यतिबेला चरम विवादमा तानिएको छ ।
वन ऐन नियम विपरीत राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्ने केही व्यक्तिको इन्टे«ष्टले सबैभन्दा कान्छो चुरे पहाडी श्रृंखलामा भौतिक निर्माणको कार्य गर्न नमिल्ने भन्दै जिल्ला वन कार्यालय सुनसरीले त्यसलाई रोक्न सम्बन्धित निकायमा पत्राचार गर्दै मुद्धा हाल्ने तयारी गरेको छ ।
सुनसरीका जिल्ला वन अधिकृत राजेन्द्र निरौला भन्नुहुन्छ, जुन ठाउँमा शिलान्यास भएको छ त्यो राष्ट्रिय वनक्षेत्रभित्र पर्छ । शिलान्यास गर्नुभन्दा एक दिन अगाडि धरान उपमहानगरपालिकाले सो स्थानको वस्तुस्थिति खुलाई थाउजेन बुद्ध निर्माणका लागि सिफारिस गरिदिनु हुन भनेर पत्र पठाएको थियो । उसले उक्त स्थान नम्बरी आवादीमा पर्छ समेत भनेको थियो । तर हामीले त्यसको निरीक्षण गर्दा यो राष्ट्रिय वन क्षेत्रभित्र पर्ने भएकोले कुनैपनि निर्माण नगर्नु नगराउनु भनेर तुरुन्तै पत्र पठायौं । सो को बोधार्थ इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, धरानस्थित सेक्टर बन कार्यालय, मालपोत कार्यालयसँगै क्षेत्रीय वन कार्यालय र विभागलाई समेत जानकारी गरायौं । तर पनि शिलान्यास गरिएको छ ।
वन तथा भुसंरक्षण मन्त्रालयले जारी गरेको कार्यविधि २०६३ अनुसार
राष्ट्रिय महत्वका निर्माण कार्यहरु गर्नु परेमा वनको जग्गा प्राप्त गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ । जिल्ला वन अधिकृत निरौला भन्नुहुन्छ, जिल्ला वन कार्यालयलाई थाहै नदिई शिलान्यास गरिएको छ । त्यसमा धरान उपमहानगरपालिका आफै संलग्न हुनु राम्रो होइन । नपा आफै पनि
सरकारको एउटा अंग हो उसले नियम विपरीत काम गर्न र गराउन मिल्दैन निरौलाले भन्नुभयो । वन ऐनको ४९ को दफा ४९ मा राष्ट्रिय वन क्षेत्रभित्र सरचना निर्माण गर्न, जोतखन गर्न, वन फाँड्न, छाप्रो बनाउन, भएका वन पैदावर हँटाउनुलाई कसुर मानिन्छ । सोही ऐनको दफा ५० मा उल्लेखित काम गर्नेलाई यो कसुर अनुसार कारबाही, दण्ड
जरिवाना हुन्छ भनेर स्पष्ट लेखिएको
छ । त्यसैले सो ठाउँमा थाउजेन बुद्धको शिलान्यास गर्न, निर्माण गर्न ऐनले निषेध गरेको छ ।
शिलान्यासका कारण वन क्षेत्रमा के कति हानी नोक्सनी भएको छ भनी अध्ययन गरी प्रतिवेदन पठाउन पनि केन्द्रको निर्देशन अनुसार जिल्ला वन कार्यालय सुनसरीले सेक्टर वन कार्यालय धरानलाई निर्देशन समेत दिइसकेको छ उसले कार्तिक २४ गते नै सेक्टर वन कार्यालयलाई पत्र काटेर उक्त निर्देशन दिएको हो । जिल्ला वन अधिकृत राजेन्द्र निरौलाका अनुसार प्रतिवेदन आएपछि सोही बमाजिम केन्द्र र क्षेत्रलाई जानकारी गराई आवश्यक कदम अगाडि बढाउँछौं । उहाँले भन्नुभयो, राष्ट्रिय वनमा निर्माण गर्दा प्रक्रिया पूरा गर्नुपर्छ । केही समय अगाडि धरानका सांसद कृष्णकुमार राई समेत आएर जलाधार क्षेत्रलाई धार्मिक वनको रुपमा हस्तान्तरण गरिदिनुप¥यो भन्नुभयो । धार्मिक वन दिन मिल्दैन, यो सर्दु जलाधार क्षेत्रभित्र पर्छ, त्यहाँ निर्माण कार्य गर्न मिल्दैन भनेर आफूले भनेको पनि उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो निर्माण स्थलको हालसम्म वातावरणीय परिवेक्षण मुल्यांकन
(आइइई) र वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (इआइए) समेत निर्माण समितिले गरेको रहेनछ । राष्ट्रले चुरे
संरक्षणमा विभिन्न कार्यक्रम ल्याएको
छ । त्यसैले पनि थाउजेन विग बुद्ध त्यहाँ निर्माण गर्न वनले दिँदैन ।
भुगर्वको हिसाबले पनि त्यहाँ निर्माण कार्य हुन सक्दैन भन्ने छ नि त भन्ने जिज्ञासामा जिल्ला वन अधिकृत निरौला भन्नुहुन्छ म भुगर्वविद त हैन तर प्राकृतिक क्षेत्रका काम गर्ने भएकोले चुरे श्रृंखला अत्यन्तै कोमल छ, भुकम्पीय जोखिम, भुक्षयको त्रास त्यहाँ सदैव रहन्छ । भुगर्वविदका अनुसार धरान भेडेटारको बीच भएर जाने मेन वाउन्ड्री थ्रष्ट (एमविटी) र महाभारत थ्रष्ट (एमटी) मा दुईवटा चिरा रहेकोले जमिन मुनि भुइँचालो आउँदा त्यहाँ ठूल्ठूला चीरा पर्न सक्छन् । त्यसैले थाउजेन बिग वुद्ध निर्माण गर्नु त्यहाँ वातवारणीय हिसाबले पनि उपयुक्त छैन भने वन ऐनले त दिँदै दिदैन । उहाँले भन्नुभयो, विगबुद्ध निर्माणको प्रक्रियामा उहाँहरु जानुभयो भने पनि भोलि मन्त्रालयले हामीसँग सुझाव माग्छ । त्यसबेला मैले जलाधार क्षेत्र, राष्ट्रिय वन क्षेत्र, चुरे सृंखला भनेर लेखि पठाउनै पर्छ । यसै सम्बन्धमा हामीले बुझ्न धरान उपमहानगर पालिकाका निमित्त कार्यकारी अधिकृत गणेश खतिवडासँग सम्पर्क राख्दा सक्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया