चिनिया नागरिक गुप्तचरी गर्दै

विगत केही समययता चिनिया नागरिक पूर्वी पहाडी जिल्ला संखुवासभा, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटामा महिनौसम्म बसेर गुप्तचरी गर्न थालेपछि स्थानीयले प्रशासन गुहारेका छन् ।
खास गरी रुद्राक्ष खरिद गर्न आउने बहानामा यी जिल्लामा आएका चिनियाँ नागरिक निषेधित क्षेत्रमा प्रवेश गर्ने,गाउँमा गएर हप्तौसम्म नेपालको राजनीति, गाउँमा बसोबास गर्ने भूतपूर्व भारतीय सैनिकहरुसँग भारतीय प्रभाव बारेमा बुझ्ने चीनको समर्थनमा गाउँलेसँग कुराकानी गर्ने गरेको भन्दै रुद्राक्ष व्यवसायी संघले उनीहरुको शंकास्पद गतिविधिमा
रोक लगाउन प्रशासन गुहारेको हो ।
असोज २९ गते शनिवार व्यवसायी संघको खाँदबारीमा बैठक बसी पर्यटकको भेषमा आएका चिनियाँ नागरिकहरुको गतिविधि संदिग्न रहेको निष्कर्ष निकाल्दै गाउँ र निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन प्रशासनलाई आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । रुद्राक्ष खरिद गर्न आएको भन्ने एउटा बहानामात्र हो, रुद्राक्ष संघका अध्यक्ष बिपीन राईले भन्नुभयो । रुद्राक्ष खरिद गर्न आउनेले जिल्ला विकास समितिबाट निकासी अनुमति लिनुपर्छ । तर उनीहरु कसैले पनि निकासी अनुमति लिएका छैनन् । ८÷१० जनाको समूहमा आउने त्यस्ता चिनियाँ पर्यटकहरु मध्ये एकजना वा दुईजनाले करोडौको रुद्राक्ष खरिद गर्छन भने अरु गाउँतिर पसेर महिनौसम्म
हराउँछन् । पर्यटकको भिषामा आएकोले करोडौकौ रुद्राक्ष कसरी खरिद गर्न सक्छन् ? रुद्राक्ष खरिद गर्नआएका हुन भने
व्यापारिक भिषामा आउनुपर्छ, संघका अध्यक्ष राईले भन्नुभयो ।
अध्यक्ष राईका अनुसार यतिबेला संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा ५ सय भन्दा बढी चिनिया नागरिकहरु पर्यटकको रुपमा गाउँ गाउँमा डुलिरहेका छन् । राज्यका कुनैपनि निकायले चिनियाँ पर्यटकको शंकास्पद गतिविधिमा चासो समेत नदेखाएको भन्दै रुद्राक्ष व्यवसायी संघले विज्ञप्ती मार्फत आपत्ति जनाएको छ । विराटनगर किमाथांका नाका मोटर बाटो बन्ने चर्चापछि चिनियाँहरु पर्यटकका रुपमा विगत दुई बर्षदेखि यी जिल्लाहरुमा आउन थालेका हुन् । यसै सम्बन्धमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो स्थानीय तथा व्यवसायीले मलाई मौखिक, ज्ञापनपत्र मार्फत शंकास्पद चिनियाहरुको गतिविधिका बारेमा जानकारी गराएका छन् । उनीहरु तीन महिनाको पर्यटक भिषामा आउँछन् । फेरि दुई महिना थपेर पाँच महिनासम्म बस्छन् । उनीहरुलाई यहाँका निषेधित एरिया हटिया, किमाथांका, पावाखोला लगायतका क्षेत्रमा जान नदिनु भनेर आफूले प्रहरीलाई निर्देशन दिएपनि उनीहरु अध्यागमन विभाग र गृहमन्त्रालयबाट सिधै पर्मिट ल्याएर ती क्षेत्रमा गइरहेका छन, प्रजिअ आचार्यले भन्नुभयो ।

तपाईको प्रतिक्रिया