मुलुकमा अहिले अस्थिरतातर्फ धकेलिएको छ । अहिले
राजनीतिक अस्थिरता, चाडपर्वको मौका छोरी व्यापारी व्यवसायीहरुले अत्याधिक मूल्य वृद्धि गर्ने, कर्मचारीहरुले खुलेआम भ्रष्टाचार गर्ने, तस्करहरुले समेत कमाउधन्दाको सुवर्ण अवसर यही समयलाई बनाएका छन् ।
अझ देशमा आएको लोकतन्त्रको फाइदा सर्वसाधारणले भन्दा पनि ठूला राजनीतिक दल, पहुचवालाहरुले लिने गरेका छन् । देशमा बढेको यस्तो विकृति हेर्दा मुलुकमा सरकार छ भन्ने आभाष हुन छाडेको छ । अझ भागबण्डाको आधारमा नौ नौ महिना सरकार चलाउने प्रवृत्तिले गर्दा मुलुकले विकासको गति लिने भन्दा पनि सरकारमा रहँदा कसले कति कमाउने भन्ने नेताहरुमा होडबाजी चल्ने गरेकै कारण पनि विकासले गति लिन नसकेको प्रष्ट भएको छ ।
मुलुकको समृद्धि होस या नहोस, मुलुकको अवस्था जस्तोसुकै होस् कसैलाई प्रवाह छैन । व्यक्तिगत स्वार्थमा रुमलिएको नेताको चरित्र, कमाउवादी धन्दामा लागेका कर्मचारीतन्त्र, जताततै खुलेका एनजिओ आइएनजिओको कमाउ प्रवृति अर्थात जताततै भ्रष्ट मनोवृत्ति भएकाहरुको हावी भएकै कारण पनि मुलुकको अवस्था दिनप्रतिदिन तहसनहस भएको छ ।
मुलुकलाई विकासको शिखरमा पु¥याउने नेता नेपालमा अहिलेसम्म कोही भेटिएन । विरामी हुदा वहालवाला सरकारका मन्त्रीहरु, पूर्व राष्ट्रपति, सभामुख, उपसभामुख तथा सरकारी ओहदाका विशिष्ट व्यक्तिहरु सरकारी ढुकुटीबाटै खर्च गरेर जम्बो टोली लिएर विदेश जाने गर्छन् तर यहा सर्वसाधारण नेपाली विरामी भएर एउटा सिटामोल खान नपाएर प्राण त्याग गर्न बाध्य छन् ।
सरसर्ती हेर्दा मुलुकमा लोकतन्त्र राजनीतिक दलका नेता, सरकारमा बस्ने मन्त्री तथा हुने खानेलाई आएको छ । दैनिक काम गरेर छाक टार्ने सर्वसाधारणका लागि भने लोकतन्त्र कागलाई बेल पाक्यो हर्ष न विस्मात झै भएको छ ।
पछिल्लो समयमा दशै नजिकिदै जादा काला बजारीले समेत पश्रय पाएको छ । कृतिम अभावको सिर्जना गरी खाद्यान्न सामाग्रीको अचाक्ली मूल्यवृद्धि हुदा समेत तथाकथित अनुगमनकर्ता कानमा तेल हालेर बसेका छन् । चाडपर्वको पूर्व सन्ध्यामा झारो टार्ने प्रवृत्तिको अनुगमन हुने गरेपनि कालो बजारीलाई रंगेहात प्रक्राउ गर्दा समेत चेतावनी दिएर छाड्ने गरिएको छ । यसले कालो बजारीले पश्रय मात्र पाएको छैन, खुलेआम उपभोक्तालाई ठग्ने गरेको पाइएको छ ।
चाडपर्व हुने खानेले धुमधामका साथ चाडपर्व मनाए पनि सर्वसाधारण गरिबको चुल्होमा आगो बल्न गाह्रो छ । दिनभरिको ज्यालादारीले उनीहरुलाई विहान बेलुका छाक टार्न नै मुस्किल भएको बेला चाडपर्वको नाममा हुने गरेको मूल्यवृद्धिले अझ ढाड सेकाउने काम गरिरहेको छ । यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउने नि नपु¥याउने ?
