प्रहरीद्वारा ‘प्रहरी मेरो साथी’ अभियान शुरु

धरान, प्रहरी र जनताको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले नेपालका ७५ वटै जिल्लामा ‘प्रहरी मेरो साथी’ नामक अभियान शुरु भएको छ ।
प्रहरी र नागरिक बीचको दूरीलाई घटाउदै समृद्ध समाज निर्माणमा सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम अन्तर्गत धरानमा भने विशाल र्‍यालीको आयोजनासहित सुनसरी उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।
धरानको भानुचौकबाट शुरु भएको विद्यार्थी, शिक्षक, अभिभावक, समाजका प्रवुद्ध व्यक्तित्व, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा प्रहरी सम्मिलित र्‍याली सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा आएर टुंगिएको थियो । र्‍यालीपश्चात कार्यक्रमको उद्घाटन जिल्ला अदालत सुनसरीका न्यायाधीश रमेश पोखेलले गर्नुभएको थियो । उद्घाटनमा बोल्ने अधिकांश वक्ताले प्रहरी र जनताबीचको सुमधुर सम्बन्धले समाजमा शान्ति सुरक्षा कायम हुने बताएका थिए । उनीहरुले प्रहरीले चलाएको मुस्कानसहितको प्रहरी सेवाले धेरै हदसम्म सफलता पाएको बताउदै ‘प्रहरी मेरो साथी’ अभियानले प्रहरी र जनताबीचको सम्बन्ध अझै सुदृढ र सम्मुन्नत समाजको निर्माणमा टेवा पुग्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै सुनसरी जिल्ला अदालतका न्यायाधीश पोख्रेलले प्रहरी र जनताबीचको सम्बन्धले सुमधुर सम्बन्धमात्र नभई न्यायप्रतिको विश्वासनीयतामा समेत सृदृढ हुने बताउनुभयो ।
यस्तै कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले
प्रहरी र जनता एक अर्काका पुरक भएको बताउनुभयो । समाजमा विकृति, विसंगति, अराजकता हटाउन प्रहरी एक्लैले नसक्ने बताउदै यसमा जनताको समेत साथ हुनुपर्नेमा जोड दिनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पोषराज पोख्रेलले पनि
प्रहरी र जनताबीच सुमधुर सम्बन्ध बनाउदै हरेक गतिविधिमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय
सुनसरीको आयोजनामा भएको थियो ।

तपाईको प्रतिक्रिया