डेढ दशक भन्दा अधिक समय देखि जिम्मेवारी भन्दा पृथक अर्थात साहित्यिक यात्रामा हिडिरहेका साहित्यकार हुन सरकारका उपसचिव एवम् सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई ।
वि.सं. २०६९ सालमा साझा प्रकाशनद्वारा प्रकाशित चापागाइको आठौ कृति ‘पैतालाले चुमेका सुनौला टाकुरा’माथि शनिवार इटहरीमा पूर्वेली मुर्धन्य साहित्यकार, लेखक, आलोचक, समालोचक, आख्यानकारका बीचमा वृहत परिचर्चा भएको छ ।
पुस्तकमाथिको परिचर्चाको अवसर भने इटहरी साहित्यिक समूहले जुराइदिएको थियो । स्थानीय गंगा जमुना होटलको सेमिनार हल पूर्वेली साहित्यकार एवम् प्राज्ञहरुद्वारा खचाखच थियो । सरकारी सेवाका
दौरान कैलाली, दैलेख, डोल्पा, रुकुम, हुम्ला लगायतका जुन जुन स्थानमा साहित्यकार चापागाई पुगे त्यस ठाउाको वर्णन, मानव र समयको पृष्ठ पोषणमा जीवन दर्शन, आत्मबोध, वास्तविकता, कल्पनाको उचित संयोजन पृथक शैलीमा गरिएको छ । भाषाशास्त्री एवम् प्रा.डा. टंक न्यौपानेको शब्दलाई सापटी लिनुपर्दा भाषा र शब्द संयोजनको दृष्टिले पैतालाले चुमेका सुनौला टाकुरा उत्कृष्ट कृति हो । पुस्तकमा जीवन र जगतको यात्रालाई देखाइएको छ । स्थान अनुसारका समसामयिक भावना, परिस्थिति, स्थान विशेष व्यक्तिहरुको प्रतिनिधित्व समेत पुस्तकले गरेको छ ।
पुस्तकमा १८ वटा नियात्रा समावेश गरिएको छ । कतिपय स्थान जीवनको नैराश्यतामा घेरिएको छ । साहित्यकार मोहन चापागाईको शब्दका सागरबाट उचित शब्दको चलखेल गर्न खप्पिस देखिनुभएको छ । यी शब्द चलखेलका कारण कल्पना र यथार्थका थरिथरि मोति, सीपीहरुको संयोजनमा विविधताको मीठो संगम छ । यद्यपि नियात्राका शीर्षकभित्रका केही स्थानमा सामान्य त्रुटीहरु भने नभएका होइनन् । एक ठाउामा कानमा बुलाकी लगाएका भनिएको छ । यसलाई लेखक चापागाईले सम्भवत: त्यो मुद्रा राक्षस भएको भनि टिप्पणी गर्नुभयो । नियात्रामा कसैप्रति व्यंग्य छैन नमोक्ष छ, न आक्रोस छ न त घृणा नै छ । त्यसैले प्राज्ञ उपेन्द्र बस्नेत पागलको टिप्पणी छ शिल्पी शब्द संयोजन, मौलिकता र परिवेश अनुसारको फरक प्रस्तुति नै पुस्तकको महत्वपूर्ण पाटो हो । प्राज्ञ दधिराज सुवेदी, डा. बद्रीविशाल पोखरेल, डा. गोपाल भण्डारी, प्राज्ञ दिवस पोख्रेल, बरिष्ठ सञ्चारकर्मी कृष्ण अधिकारी, इटहरी साहित्यिक समूहका अध्यक्ष कृष्ण विनोद लम्साल, प्राज्ञ पुरुषोत्तम घिमिरे लगायत तीन दर्जन साहित्यकारहरुले नेपालको साहित्यिक बजारमा पुस्तक उत्कृष्ट रहेको टिप्पणी गरेका थिए ।
