धरान/ विभिन्न कारणले युवाहरुमा उत्पन्न हुने भावनात्मक एवं मानसिक विचलनलाई सहीरुपमा व्यावस्थापन गराउन मद्दत पुऱ्याउने उद्देश्यले धरानमा तीन दिने युवा मनोपरामर्श तालिम सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाको सहयोगमा रुपान्तरण नेपाल सुनसरीद्धारा आयोजित तालिममा धरानका विभिन्न उमेर समुहका २५ जना युवाहरु सहभागी छन् । युवाहरुमा उत्पन्न तनाव एवं भावनात्मक विचलनलाई व्यावस्थापन गर्ने उपाय सिकाउदै सकरात्मक सोचका विकास गराउनु तालिमको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ । पढाईको बोझ, बेरोजगारी, भविष्यप्रतिको चिन्ता, परीक्षाको प्रेसर लगायत विविध कारणले युवाहरुमा तनाव बढ्छ, र डिप्रेशन हुन्छ । त्यसबाट मुक्ति दिलाउने र सकरात्मक सोचको विकास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको रुपान्तरण नेपालकी अध्यक्ष सविता राईले बताउनुभयो ।
रुपान्तरण नेपालका सदस्य सुदेश चापागाईले नेतृत्व विकास , अध्यक्ष राईले तनाव व्यावस्थापनबारे प्रशिक्षार्थीहरुलाई तालिम दिएकी थिइन् । दोस्रो र तेस्रो दिन सकरात्मक सोचबारे शिशिर श्रेष्ठ, डिप्रेशनबारे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा.मधुुर बस्नेत र शैक्षिक परामर्शबारे विशाल श्रेष्ठले प्रशिक्षित गराएका छन् ।
