धरान/ राज्यको अर्थतन्त्रमा
मारवाडी समुदायले महत्वपूर्ण योगदान पुर्याएको मारवाडी समुदायका अग्रजहरुले बताएका छन् ।
नेपाल मारवाडी परिषद् धरानले आइतबार आयोजना गरेको विशेष साधारण सभालाई सम्बोधन गर्ने क्रममा मारवाडी अगुवाहरुले यस्तो बताएका हुन् ।
उनीहरुले विगतमा व्यापार व्यवसायमामात्र केन्द्रित रहेको मारवाडी समुदाय पछिल्लो समयमा आफूहरुले आर्जन गरेको रकमको केही अंश सामाजिक कार्यमा समेत खर्च गर्न थालिएको बताउदै राष्ट्र निर्माणमा समेत मारवाडी समुदायले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपालमारवाडी परिषद्का केन्द्रीय अध्यक्ष पवन मितलले मारवाडी समुदायले मारवाडी समुदायको उत्थानको लागि मात्र नभई सामाजिक कार्य, भौतिक पूर्वाधार, मठ मन्दिर निर्माणमा सहयोग लगायतका कार्यहरु गर्दै आएको बताउनुभयो । उहाले गणतान्त्रिक नेपालको जारी संविधानमा मारवाडी भाषा संस्कृतिलाई पनि समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका सचिव कञ्चनअग्रवालले मारवाडी समुदायलाई सामाजिक कार्यमा अझ अग्रसर गर्ने उद्देश्यले युवा संगठन खोलिएको बताउदै अब यसलाई अझ सक्रिय बनाएर लैजाने
बताउनुभयो ।
धरान २ गीतामन्दिरमा भएको कार्यक्रममा परिषद्का धरान महासचिव रामअवतार अग्रवाल, नेपाल मारवाडी महिला संगठनकी अध्यक्ष रचना राठी लगायतले मारवाडी समुदायको भाषा, लिपी, संस्कृति र पहिचानको विषयमा स्वयम् मारवाडी समुदाय सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा महासचिव रामअवतार अग्रवालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
