व्यंग्य : चरी, प्रहरी र गुलेली प्रहरीले मट्याग्राले हवाइफायर गर्नुपथ्र्यो

शैलेष भट्टराई
केही दिन अघिसम्म मुलुक मोदीमय थियो । अहिले चरीमय छ । सुनकोशीको बाढीलाई मोदी सवारीले यसरी फिका बनाइदियो कि मानौं सुनकोशीमा केही भएकै छैन । पहिरो गएकै छैन । सब ठीकठाक छ । अनि दिल्ली बलात्कारको झल्को दिने नेपालगञ्ज बलात्कारलाई छायाँमा पार्दै चरी यो झरीमा मरेर पनि यसरी हिट भए कि मानौं अब चरीको अभावमा जबज हुँदै लोकतन्त्र गणतन्त्र सबका सब टुहुरो हुने भए ।
चरीको पक्षमा संसदमा समेत स्वर गुन्जियो । त्यो पनि चानचुने रुपमा होइन हत्याको विषयमा संसदीय समिति नै गठन हुनुपर्छ भन्ने माग राखेर । कोही भन्छन् चरी मर्‍यो ठिक्क पर्‍र्या । चरी मार्ने प्रहरीलाई बढोत्तरी गर्नु पर्छ । कोही भन्छन् यो गैर न्यायिक हत्या हो । यसका हत्यारालाई कारवाही गर्नुपर्छ ।
जुन चरी मारियो, त्यो चरी विरुद्ध प्रहरीमा आधा दर्जनभन्दा बढी मुद्दा
थिए रे । अर्थात् यो चरीलाई प्रहरीबाट खतरा थियो । कुनै पनि बेला यो चरी पिंजडामा पर्न सक्थ्यो । यस हिसाबले यो चरी चानचुने चरी थिएन । खतराको सूचीमा रहेको चरी थियो । यो चरी जहाँ पायो त्यहीं भेटिँदैनथ्यो तसर्थ यो दुर्लभ पनि थियो । संसारिक मोहमा फसेको यो चरी जंगलमा त भेटिँदै भेटिँदैनथ्यो । यो चरी चुच्चोले ठुङने चरी होइन, ठोक्ने चरी हो – त्यो पनि अमेरिकी पेस्तोलले ।
चरी उड्ने चरी पनि होइन चुँड्ने चरी । तपाईं हामीसंग भएको धन सम्पति यार्सागुम्बा चुँड्ने । चारो खाने चरी पनि होइन, यो शायद दारु खाने चरी हो । अनि क्यासिनो जाने चरी हो । यो गीत गाउने चरी पनि होइन, यो सभासदमा जिताउने चरी हो । आजसम्म संसारमा त्यस्तो कुनै चरी छ ? जसको कारण कसैले विधायकमा चुनाव जितेको होस् । मलाई लाग्छ छैन । यो कुखुरा,परेवा, ढुकुर जस्तो मानव जातिलाई मासु ख्वाउने चरी पनि होइन । आँशु बगाइदिने अनि हाँसोमा उडाइ दिने चरी हो । यो चरी डनवादको जाज्वल्यमान प्रतीक थियो । अझै छ । र डनवाद रहुन्जेलसम्म
रहिरहनेछ । परेवा शान्तिको प्रतीक अनि ढुकुर प्रेमको प्रतीक भएजस्तै ।
यो चरी चिरबिर चिरबिर कराइरहने चरी थिएन । दललाई दिलमा राखी
हराइरहने चरी थियो । कहिले जीपीमा हराउँथ्यो त कहिले केपीमा हराउँथ्यो । यस्तो चरीलाई मार्नु भनेको कायरता नै हो । जघन्य अपराध नै हो । राज्य आतंकको नमूनै हो । यस्तो दूर्लभ, संकटापन्न, खतराको सूचीमा रहेको र कुनै वादको प्रतीक चरीमाथि गोली हानी सिध्याउने अपराधीमाथि हदैसम्म कडा भन्दा कडा कारवाही गरिनुपर्छ ।
त्यत्रा त्यत्रा गैंडाहरुलाई तस्कर र शिकारीले मार्दा त कुनै चर्चा भएन । त्यो जाबो गैंडाको विषयमा संसदमा साउतीसमेत भएन । अहिले सडक, सदन र सरकार तीनै ‘स’ मा ‘च’ नै ‘च’को चमत्कारिक चर्चा हुनुमा यिनै विशेषताहरु जिम्मेवार छन् भन्न
सकिन्छ ।
जतिसुकै विवाद भए पनि यो गैरन्यायिक हत्या नै हो । गैरन्यायिक हत्या मतलब चरीलाई कुनै पनि कानूनी प्रक्रियाहरु पूरा नगरी सजायँ दिइयो । त्यो पनि संविधानले उन्मुलन गरिसकेको मृत्युदण्डको सजायँ ।
चरीले चलाएको गोली एक दुइजना प्रहरीलाई लागेर केही फरक पर्नेवाला थिएन । हदै हुन्थ्यो, ती ढल्थे होलान् । ढलिहाल्या भए मर्थे होलान् । तर, गैरन्यायिक हत्या भो भनेर कसैले
कराउँदैनथ्यो । किनभने नियम कानून प्रक्रिया पुर्‍याउने काम प्रहरीको हो । चरीको होइन । प्रहरीले नै कसम खा’ हुन्छन् नियम कानून र संबिधानको । चरीले होइन ।
लाउने, खाने, फिरौती माग्ने, अपहरण गर्ने, कुटने, पिट्ने, लूटने उमेर हुँदाहुँदै चरी निर्ममतापूर्वक मारियो । त्यसैले पनि यो निन्दनीय छ । नेपाल प्रहरी कति कायर छ भन्ने कुराको एउटा दृष्टान्त हो यो । प्रहरी उद्दण्ड धुर्बे हात्तीलाई केही गर्न सक्दैन चरीलाई मार्छ । त्यो पनि बन्दुकले हानेर । दक्ष र साहसी मान्छेलाई चरी मार्न गुलेली नै काफी छ, बन्दुक चाहिन्न ।
चरीको यो गैरन्यायिक हत्याले अब नेपाल प्रहरीमा कम्तिमा एउटा सुधार गर्नैपर्ने देखिएको छ । त्यो हो नेपाल प्रहरीको हातमा अब बन्दुक दिनु हुन्न, गुलेली दिनुपर्छ । त्यो भयो भने चरी संरक्षणमा कोशेढुङगो सावित हुनेछ । त्यसपछि नेपालमा धेरैधेरै चरीहरुको उत्पादन हुनेछ । नेपाल चरी नै
चरीहरुको देश भनेर विश्वमा चिनिने छ । हामी चरी निर्यात पनि गर्न सक्छौं र विदेशी मुद्रा कमाउन सक्छौं । यसको सफलता देश विदेशमा सुन्ने सुनाइने छ ।
त्यो गुलेलीको प्रयोग जथाभावी गर्न पाइने व्यवस्था गर्नुहुन्न । चरीले पेस्तोल देखाउँदा प्रहरीले गुलेली हल्लाउने । चरीले पेस्तोल फायर गर्दा प्रहरीले कायर नभइकन चरीको जीउमा नलाग्ने गरी मट्यांग्राको हवाइ फायरमात्र गर्ने । जीऊमा वा टाउकोमा लाग्यो भने त चरी पुर्लुक्कै ढलिहाल्छ । त्यति गर्दा पनि चरी डराएन वा आत्मसमपर्ण गरेन र उल्टै फेरि पेस्तोल ताक्न थाल्यो भने घुँडामुनि पर्ने गरी गुलेलीले हान्नुपर्छ । त्यतिले पनि चरी काबुमा आएन भने पुलीसले गुहार–गुहार भन्दै कराउनुपर्छ । यो हो चरीलाई वशमा लिने डनवादी काइदा । नेपाल प्रहरीलाई गैरन्यायिक हत्याको आरोपबाट मुक्त गर्ने उपाय ।
चरीलाई यसरी इन्काउन्टरमा मार्ने भए जेल केलाई बनाको भन्ने प्रश्न पनि उठेको छ । यो पनि बडो दमदार कुरो हो । खासमा चरीहरुका लागि जेल त दुइचार दिन बस्नलाई पो बनाएको त । सधैं बस्ने त त्यो हो, जो कुनै दल नसमाई वा पैसा नकमाई अपराध गर्छ । अनि त्यो हो, जो कुनै नेतालाई नसोधी अपराध गर्छ । अनि त्यो हो, जो क्राक्रो चोर्ने वा नुन चोर्ने वा त्यस्तै कुनै गल्ती गर्छ ।
हो, चरीको गल्ती थियो भने चरीलाई समात्नु पथ्र्यो । हत्कडी लगाउनु पथ्र्यो । सुनुवाइको मौका दिनु पथ्र्यो । मुद्दा चलाउनु पथ्र्यो । र, अन्त्यमा सम्बन्धित नेताको फोन वा दवाब आउने वित्तिकै छोडिहाल्नु पथ्र्यो । यसरी मारिहाल्न चाहिँ पटक्कै हुँदैनथ्यो ।
छोडिसकेपछि फेरि उसले एकाध अपराध पक्कै गर्छ । गरेकै हो । नगरेमा उसको पहिचान गुम्ने खतरा हुन्छ ।
अपराध नगरेमा जसले उसलाई छुटायो, पछि उसैले पत्याउँदैन । एक किसिमले उसको गरिखाने बाटो नै धरापमा पर्छ । त्यसैले दुईचार जनाको सफाया गरे पनि त्यसलाई माइन्ड गर्नुहुन्न । लुटपाट मच्चाए पनि खासै वास्ता गरिनु हुन्न । फिरौती माग्यो भनेर आत्तिनुु हुन्न । मागेको
फिरौती थपक्कै दिने, अनि शान्तिसंग बस्ने । अपहरण गर्‍यो भनेर कराउनु पनि हुन्न। मागेको चिज पाएपछि त अपहरणमुक्त गरिहाल्छ नि । अनि फेरि समात्ने, हत्कडी लाउने, सुनुवाइको मौका दिने, मुद्दा चलाउने अनि अन्त्यमा फोन वा दबाव आएपछि छोड्ने । यसलाई व्यंग्यात्मक भाषामा ‘चरी–चक्र’ को उपमा दिँदा राम्रो होला ।
जे जे भए पनि, जति मरे पनि, जतिलाई मारे पनि, जति असुले पनि, जति अपहरण गरे पनि समात्ने छोड्ने यो प्रक्रिया अर्थात् ‘चरी–चक्र’ घुमाइरहनु पर्छ । तर, गैरन्यायिक हत्या चाहिँ गर्न पाइन्न । अहँ पाइँदै पाइन्न ।

तपाईको प्रतिक्रिया