गोविन्द बस्नेत
धरान/ नेपालमा स्रोत साधन भएर पनि अर्को देशमो परनिर्भरता पर्नुपर्ने बाध्यता रहेको अवस्थामा धरानका केही युवाहरुले भने परनिर्भरतालाई केही हदसम्म समाधान गर्न नेपालमै सबैभन्दा ठूलो वायो ग्यास उत्पादन शुरु गरेका छन् ।
साविकको विष्णुपादुका गाविस र हालको धरान उपमहानगरपालिका वडा नं. २६ मा लामो समयदेखि भारतले
गरेको नाकाबन्दी र मधेशी मोर्चाले गरेको आन्दोलनको पाठ सिक्दै आफ्नै देशमा वायो ग्यास उत्पादन गरी सिलिण्डरमार्फत विक्री वितरण गर्ने मुख्य लक्ष्यका साथ दुई महिना अगाडिदेखि काम शुरु गरेका हुन ।
धरान १५ निवासी लोक खापुङ र धरान १६ निवासी घर्नेन्द्र कार्कीको ५० लाखको संयुक्त लगानीमा के.के. लाइफ स्टक एण्ड एग्रिकल्चर रिजर्च सेन्टर प्रा.लि. सञ्चालन गरी बायो ग्यास बनाउने
उपकरण, त्यसलाई चाहिने आर्गनिक मलको व्यवस्थापन गर्दै वायो ग्यासको उत्पादनसंगै आर्गनिक खेतितर्फ समेत अग्रसर हुने लक्ष्यका साथ वायो ग्यासको उत्पादनको अवधारणा ल्याएको सञ्चालक द्वयको भनाई छ ।
बायो ग्यासलाई चाहिने गोवर मल, बाख्राको मल तथा संगुरको मललाई एकीकृत गर्नका लागि ठूलो फार्म समेत सञ्चालन गरिएको छ । फार्ममा १ सय वटा गाइ, १ सय ६ वटा बाख्रा र ८० वटा बंगुर पालिएका छन् । पशुपालनबाट आएको मलमुत्र यसै बायो ग्यास उत्पादनका लागि प्रयोग गरिने गरिएको छ ।
नेपालको ऊर्जा संकटलाई ध्यानमा राखेर भविष्यमा नेपालमा उपयोग गर्ने ऊर्जामध्ये ६० प्रतिशत यसमार्फत पूरा गर्ने उद्देश्यका साथ आफूहरुले बायो ग्याासको उत्पादन शुरु गरिएको सञ्चालक लोक खापुङ्गले जानकारी दिनुभयो । अहिले पनि प्रतिदिन १ सय केजी भन्दा बढी वायो ग्यास उत्पादन गर्ने गरेको बताउदै अन्य स्थानमा स साना वायो ग्यास उत्पादन भएपनि यति धेरै परिमाणमा उत्पादन गर्नसकिने नेपालकै पहिलो भएको समेत दाबी गर्नुभयो ।
भारतबाट ल्याइएको यो नया प्रविधिबाट पहिलो पटक जेनेरेटर समेत सञ्चालनमा ल्याएको छ । ग्यासकै माध्मबाट चलाइएको यो जेनेरेटले विजुली बत्तीको काम समेत गरेको छ । वैकल्पिक ऊर्जा वायो ग्यास उत्पादनका लागि गाइवस्तुको मलमुत्रमात्र हैन फलफूल, सागसब्जी, लगायत सड्ने खालका फोहोरलाई प्रयोग गरेर समेत वायो ग्यास उत्पादन गर्न सकिने भारतबाट आएका प्राविधिक अरविन्द सिंहले जानकारी दिनुभयो ।
त्यतिमात्र हैन वायो ग्याससंगै आर्गेनिक कृषि उत्पादनको लागि समेत यस प्रा.लिले विकास गर्ने भएको छ । यहा पालिएका पशुहरुलाई आर्गनिक घास खुवाउने र आर्गनिक मल प्रयोग गरी कृषि उत्पादन गर्ने समेत प्रा.लि.ले लक्ष्य लिएको पशु प्राविधिक मिन घर्ती मगरको भनाई छ । यहा उत्पादन गरिएका दूध तथा कृषि सामाग्री विक्री वितरणका साथै पशु विउको समेत विकास गरिने उहाको भनाई छ । अहिले पनि यहा पालिएका विउ बोका पहाडी जिल्लामा जाने गरेको उहाको भनाई छ ।
अहिले प्रालिमा १५ जना कार्यरत रहेका छन् । उनीहरुले आ आफ्नो कामलाई जिम्मेवारीपूर्णरुपमा निर्वाह गरिरहेका छन् । भविष्यमा यस प्रालिले आफ्नै लोगो भएको सिलिण्डर प्रयोग गरी वायो ग्यासको विक्री गर्ने सोच समेत बनाएका छन् । उनीहरुको यो सोचलाई राज्यले समेत यस कार्यमा सहयोग गर्ने हो भने नेपाल आत्मनिर्भर हुने र अहिलेको जस्तो ऊर्जा संकटमा नेपाल भौतारिनुपर्ने आउने थिएन । यस्ता वैकिल्पक ऊर्जाको प्रयोग गरी आत्मनिर्भर हुन सके अहिले नेपालले बेला बेला भोग्नुपरेको छिमेकी मुलुकको नाकाबन्दीको मारमा समेत पर्नु नपर्ने स्पष्ट छ । त्यसैले सरकारले एक बर्षभित्रमा लोडसेडिङ्ग अन्त्य गर्ने लक्ष्यलाई सफल बनाउन यी युवाले चालेको अभियानलाई साथ दिदै राज्य समेत वैकल्पिक ऊर्जा प्रवद्र्धनमा लाग्नु आवश्यक छ ।
