धरान । नाटककार सुवास अधिकारीको नाट्यकृति ‘नो सिग्नल’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम धरानमा सम्पन्न भएको छ । कार्यक्रममा उपप्राध्यापक राजेश विद्रोही र शिल्पी थिएटर काठमाडौंका परिकल्पनाकार, नाट्यसर्जक तथा निर्देशक घिमिरे युवराजले कृतिमाथि आ–आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । उपप्राध्यापक विद्रोहीले ‘नो सिग्नल’ न्यून पात्र र एकै सेटमा मञ्चन गर्न सकिने संरचनामा लेखिएको नाटक भएको उल्लेख गर्दै यसमा छोटा संवाद, आत्मलाप र रोचक संवादमार्फत जीवनका एक्लोपन, जटिलता र मानवीय अस्तित्वका प्रश्नहरू उठाइएको बताउनुभयो । विज्ञान र प्रविधिले उल्लेखनीय प्रगति गरे पनि मानवीय सम्बन्धको आवश्यकता कहिल्यै समाप्त नहुने सन्देश नाटकले दिएको उहाँको भनाइ थियो । संवादभित्र जीवनको अर्थ खोज्ने प्रयास, जीवनको शून्यता, जीवन्त सम्बन्धप्रतिको अपेक्षा तथा आधुनिकताले मानिसको एक्लोपन र छटपटी मेटाउन नसक्ने यथार्थलाई नाटकले प्रस्तुत गरेको उहाँको विश्लेषण थियो ।

उहाँले यो कृतिले जीवनको गहिरो अर्थलाई उजागर गर्ने भएकाले बौद्धिक पाठकको माग गर्ने नाटकका रूपमा आफूले बुझेको बताउनुभयो । त्यसैगरी शिल्पी थिएटरका परिकल्पनाकार तथा निर्देशक घिमिरे युवराजले नाटकमा सम्बन्ध र संयोगबीचको अन्तरसम्बन्धलाई बिम्बात्मक रूपमा प्रस्तुत गरिएको बताउनुभयो । उहाँका अनुसार नाट्यपात्रहरूले ‘रेन्डम्ली’ डायल गरेका फोनहरू जीवनमा प्राप्त हुने अदृश्य संयोगका प्रतीक हुन् । नाटककारले परिस्थितिको निर्माण प्रभावकारी ढंगले गरेको उल्लेख गर्दै उहाँले पुंजीवादले निर्माण गरेको मध्यमवर्गीय समाजलाई एउटा कोठाभित्र केन्द्रित गरेर प्रस्तुत गरिएको धारणा राख्नुभयो । युवराजले नाटकमा वैचारिकता सचेत र अचेत दुवै तहमा अभिव्यक्त भएको बताउँदै महिला पात्रले पुरुषप्रधान समाजभित्र आफ्नो उपस्थिति स्थापित गर्ने संघर्षको प्रतिनिधित्व गरेको विश्लेषण गर्नुभयो । पोस्टम्यान पात्रले बाह्य रूपमा सामग्री बोकेर आए पनि अदृश्य रूपमा जीवनका अनेक आयाम बोकेको प्रतीकात्मक चरित्रका रूपमा भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो । नाटकमा जीवनको निस्सारता र सम्बन्धको खोजलाई सशक्त रूपमा चित्रण गरिएको उल्लेख गर्दै उहाँले पात्रहरूले सम्बन्धको ‘सिग्नल’ स्थापित गर्न गरेको संघर्ष नै कृतिको मूल बिम्ब रहेको बताउनुभयो । धरान रिडर्स ग्रुपको आयोजनामा भएको कार्यक्रममा रन्जु लामाको अध्यक्षता रहेको थियो ।
