उद्घाटन खेलसँगै वर्षाका कारण मेयर कप स्कुल ओलम्पिक फुटबल प्रतियोगिता भदौमा हुने

धरान । विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शिक्षासँगै खेलकुद भन्ने नारासहित उद्घाटन खेल समेत सम्पन्न भएको तेस्रो मेयर कप स्कुल ओलम्पिक फेस्टिबल २०८३ को फुटबल प्रतियोगिता आगामी भदौमा मात्र हुने भएको छ । धरान खेलकुद मञ्चको आयोजनामा धरान रंगशालामा असार १३ गते भव्य रूपमा उद्घाटनसँगै उद्घाटन खेल भए पनि भारी वर्षाका कारण प्रतियोगिताको अवधि बढाउनुपरेको मञ्चका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका मानार्थ उपाध्यक्ष किशोर राईले जानकारी दिनुभयो । उद्घाटन खेल समूह ‘क’ अन्तर्गत धरान आदर्श कलेज र पब्लिक मावि धरान–१२ का बीचमा भए पनि अन्य सबै प्रतियोगिता वर्षातका कारण स्थगन गर्नुपरेको राईको कथन छ । धरानका सामुदायिक एवं संस्थागत विद्यालय गरी ५१ वटा विद्यालयका विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका छन् । जसमा समूह ‘क’ तर्फ धरान आदर्श कलेज, पब्लिक मावि, पदम मेमोरियल बोर्डिङ स्कुल, समिट सेकेन्डरी स्कुल, शिक्षा सदन मावि, जेम बोर्डिङ स्कुल, ल्याबोरेटरी मावि, प्रभात बोर्डिङ स्कुल, धरान स्कलर्स बोर्डिङ स्कुल, धरान इङ्गलिस बोर्डिङ स्कुल, लोटस इङ्गलिस बोर्डिङ स्कुल, नोबेल एकेडेमी, श्री मावि घोपा, आइडियल इङ्गलिस बोर्डिङ स्कुल, सिद्धार्थ शिशु सदन, सियोन स्कुल, हिबिस्कस इङ्गलिस बोर्डिङ स्कुल, त्रिनेदय इङ्गलिस बोर्डिङ स्कुल, ज्ञानकुञ्ज इङ्गलिस बोर्डिङ स्कुल, डिभी बिलिभर्स, सेन्ट जोसेफ इङ्गलिस बोर्डिङ स्कुल, नेपाल पब्लिक स्कुल, पञ्चायत मावि, सुनाखरी एकेडेमी रहेका मञ्चका सचिव विक्रम लिम्बुले जानकारी दिनुभयो । सचिव लिम्बुका अनुसार समूह ‘ख’ तर्फ धरान लिगामेन्ट, एक्वा डायग्नेस्टिक, धरान मेघा हिमालयन, ज्ञानोदय मावि, पब्लिक मावि फुस्रे, डिपो मावि, भिक्टोरी स्कुल, नवोदय विद्या मन्दिर, विष्णु मेमोरियल, युएन स्कुल, होलील्याण्ड इङ्गलिस स्कुल, पञ्चायत दन्तकाली मावि, शिक्षा सन्देश मावि, ज्वालामुखी मावि देउराली, चिल्ड्रेन स्कुल, माउन्ट हर्मन स्कुल, पञ्चकन्या मावि, धरान मोडल, युनाइटेड एकेडेमी, लिक्ट्री आवासीय मावि, जोल साया, अरनिको इङ्गलिस बोर्डिङ स्कुल, इमानुएल इङ्गलिस बोर्डिङ स्कुल, शैपनक आवासीय मावि, ओएसिस स्कुलले प्रतियोगिको रूपमा सहभागिता जनाएका छन् ।


सचिव लिम्बुका अनुसार फुटबल मात्र वर्षातका कारण स्थगित भएको हो । अन्य सबै खेलकुद सञ्चालन भइरहेका छन् । अब सायद आगामी भदौ महिनामा फुटबल प्रतियोगिता हुनेछ, तर हामीले यही दिनदेखि भनेर अन्तिम निर्णय गरिसकेका छैनौं, उहाँले जानकारी दिनुभयो । वर्षातका कारण साउनमा प्रतियोगिता गराउन सम्भव हुँदैन । ओलम्पिक खेलकै झल्को दिने गरी आयोजना गरिएको मेयर कप स्कुल ओलम्पिक फेस्टिबलमा फुटबल प्रतियोगितासहित म्याराथन गरी जम्मा ११ वटा खेलकुद रहेका छन् । म्याराथन असार १२ गते सम्पन्न भइसकेको छ भने अन्य भलिबल, टेबल टेनिस, उसु, ब्याडमिन्टन सम्पन्न भइसकेका छन् । आज बुधबार कराँते, क्रिकेट, बास्केटबल, तेक्वान्दो सहित सेपाकताक्रो रहेका छन् । सेपाकताक्रो खेल अत्यन्तै नौलो हो । सचिव लिम्बुका अनुसार हामीले अक्सर भिडियोतिर यो खेल खेलेको देखिन्छ । प्रायः थाइल्यान्ड, मलेसियातिर खेलिन्छ । यसको बल सानो हुन्छ, प्लास्टिकको जालीजस्तो हुन्छ । महोत्सवमा हामीले प्रदर्शनसमेत गरेका थियौं । भलिबल हातले खेलिन्छ भने यो चाहिँ खुट्टाले खेलिन्छ । मेयर कप स्कुल ओलम्पिकमा सबै खेलमा ५१ वटै स्कुलका विद्यार्थीहरूले सहभागिता जनाएका छन् । पहिलो दिन भएको उद्घाटन खेलमा पब्लिक हाइस्कुल फुटबलमा विजयी भएको थियो । धरान रंगशालामा भएको उक्त खेलमा पब्लिक माविले धरान आदर्श माविलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा पब्लिक हाइस्कुलका रिक्जन शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै आदर्शविरुद्ध २ गोल गरेका थिए । उनले खेल प्रारम्भ भएको तेस्रो र १८औँ मिनेटमा पहिलो र दोस्रो गोल गरी दर्शकहरूलाई आश्चर्यचकित बनाएका थिए । यसैगरी पहिलो हाफको इन्जुरी समयमा पब्लिक हाइस्कुलकै सिद्धार्थ तामाङले थप एक गोल गरी पब्लिक हाइस्कुलको विजय सुनिश्चित गरेका थिए । उद्घाटन खेलमा बोल्दै कोशी प्रदेश सभाका सांसद विजयकुमार राईले फेस्टिबलले धरानका विद्यार्थीहरूको प्रतिस्पर्धात्मक क्षमता उजागर गर्ने, विद्यार्थीहरूको क्षमतामा अभिवृद्धि हुने भएकाले मेयर कप स्कुल ओलम्पिकको आफ्नै महत्व रहेको बताउनुभयो । उहाँले
धरान रंगशालाको भौतिक निर्माणमा आफ्नो तर्फबाट प्रदेश सरकारलाई घचघचाउने उल्लेख गर्दै रंगशालाको प्यारापिट लगायतको निर्माण आवश्यक देखिएको बताउनुभयो । यसैगरी धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले धरानलाई धरान बाहिरका मानिसहरूले खेलकुदको सहर भन्ने गरेको चर्चा गर्दै आफ्नो प्रयास सधैं धरानलाई खेलकुदको सहरकै रूपमा स्थापित गर्न
भइरहेको सुनाउनुभयो । उहाँले खेलकुदसँगै शिक्षालाई सँगै लैजानुपर्ने, सो हुन सकेमा विद्यार्थीहरूको शारीरिक र मानसिक दुवै स्वास्थ्य राम्रो रहने बताउनुभयो।

तपाईको प्रतिक्रिया