धरान । प्रधानमन्त्री बालेन्द्र साहले सरकार भनेको गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र हैन ब्रेक पनि हुन्छ, ब्रेक लगाउनुपर्छ भन्नेहरूलाई कटाक्ष गर्दै लोकल रोडमा हिँड्दा मात्र कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मानिस आउँछन् तर आफ्नो गाडी लोकल वेमा नहिँडेकोले गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्ने बताउनुभएको छ । प्रधानमन्त्री साहले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । नबोलौं भन्दा भन्दै पनि बोल्नुपर्ने अवस्था आएको भन्दै उहाँले हाधिवेशनमा पार्टीको विषयमा बोल्नुपर्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी संस्थागत गर्ने, स्थापित गर्ने कुरा हुन्छ ।

केही दिनअघि एमालेका नेता प्रदीप ज्ञवालीले गाडी, एक्सिलेटर, ब्रेकको कुरा गरेपछि प्रधानमन्त्री साहले हाम्रो गाडी अर्थात् सरकार गन्तव्यमा पुग्नु अगाडि ब्रेक नलाग्ने बताउनुभएको हो । हाम्रो गाडी अनियन्त्रित छैन, वातावरण मिलेर गएको छ । त्यही भएर हाम्रो पार्टीप्रति, सरकारप्रति जुन चिन्ता लिनुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद । उहाँले व्यंग्य गर्दै भन्नुभयो, जनता र जनताको भोट भनेको हावा जस्तै हुन्छ भन्नेहरूले बुझ्दा हुन्छ, हामीले बाढी ल्याएर खोला फर्काएको हो । खोला एक पटक आफ्नो बाटोमा हिँडेपछि निरन्तर त्यही बाटो बगिरहन्छ । खोला हावाजस्तो कहिले पूर्व, कहिले पश्चिम, कहिले उत्तर, कहिले दक्षिण गर्दैन । उहाँले भन्नुभयो, हाम्रो पार्टी विकासवादी पार्टी हो, पुराना कुरालाई कोट्याएर निहुँ खोज्ने पार्टी हैन, प्रतिशोध साँध्दैनौं । तर विगतमा फट्याइँ गरेका, सरकारी सम्पत्तिको दोहन गरेकाहरूसँग निहुँ खोजिन्छ । यस क्रममा अख्तियारलाई पाँच घण्टा मात्र सोधपुछ गर्दैनौं, पाँचै वर्षसम्म गर्छौं । त्यसमा कसैले चिन्ता लिनु पर्दैन, हामी नियम कानुनभित्रै बसेर काम गर्छौं । सीमाको विषयमा समेत उहाँले भन्नुभयो, कालापानी–लिपुलेकको हामीसँग प्रमाण
छ । ब्रिटिशले राज गर्दा बखतको प्रमाण ल्याउँछु भनेको हो, ब्रिटिश मध्यस्थता खोजेको होइन । हामी हाम्रो समस्या छिमेकीसँग आफैं संवाद गरेर मिलाउँछौं । मेरो राष्ट्रियतामाथि कसैले आशंका मान्नु पर्दैन ।
