सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

इनरुवा । सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ः१५ बजे इनरुवा नगरपालिका–३ विद्युत प्राधिकरण क्षेत्रबाट १७ वर्षीय एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १६ प ८०९८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ह्यान्डलमा लुकाएर राखिएको अवस्थामा ५.५५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रामधुनी नगरपालिका–३ निवासी १७ वर्षीय रुपेश चौधरी रहेका छन् । प्रहरीले उनलाई लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।


यसअघि सोही दिन दिउँसो ३ः१० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४ सगरमाथा टोलस्थित २९ वर्षीय अभिषेक चौधरीको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा १.५४ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै घटनामा बरामद पदार्थको प्रकृति तथा लागूऔषध कारोबारसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको छ । सुनसरी प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ । जिल्लाका विभिन्न क्षेत्रमा नियमित चेकजाँच र विशेष निगरानी अभियान सञ्चालन गरिँदै आएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया