खोटाङका विष्णुभक्त राईको चौथो कविता संग्रह आदिम फूलको विमोचन

खोटाङ । कवि, साहित्यकार एवम् शिक्षासेवी विष्णुभक्त राई उर्फ साहित्यिक उपनाम विभरा किराँतीको चौथो कविता संग्रह आदिम फूलको लोकार्पण भएसँगै बजारमा आएको छ ।
खोटाङ जिल्लाको बुइपामा जन्मनु भएका राईको बाल्यकाल भञ्ज्याङ, रावाखोलाको मनमोहन बेँसी, लामिडाँडा, सुनकोशीको किनारको माझी बस्ती, हलेसीकै सेरोफेरोको प्राकृतिक सौन्दर्यका बीचमा बितेको थियो । गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा पश्चात् उच्च शिक्षाका लागि राजधानी हानिनुभएका राईलाई खोटाङको बाल्यकालका स्मृतिहरूले पछ्याइरहेको वास्तविकता उहाँको केही समय अगाडि लोकार्पण भएको आदिम फूल कविता संग्रहले उजागर गरेको छ ।

यसभन्दा अगाडि उहाँले वि.सं. २०५९ सालमा पहिलो पटक सुनको फूल गीति संग्रह, २०६१ सालमा ताराहरूको बस्तीमा कविता संग्रह, २०६६ मा त्रिवेणी गीति एल्बम सार्वजनिक गर्नुभएको थियो । वैशाख २७ गते सार्वजनिक राईको आदिम फूल कविता संग्रहमा आफ्नो समुदाय वा राईहरूको अवस्था, किराँती सभ्यता र संस्कृतिलाई केन्द्रविन्दुमा राख्नुभएको छ । यद्यपि, राई समुदायभित्र विभिन्न थर रहने र भाषिक एकता समेत नभएको भए पनि कतिपय अवस्थामा चाडपर्व, रहनसहन, सांस्कृतिक एकता, परम्परा एउटै रहँदै आएको
छ । खास गरेर खोटाङ, उदयपुर, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभामा राई समुदायको बसोबास आदिम कालदेखि रहँदै आएको छ । प्रकाशित कविता संग्रहमा उहाँले ३८ वटा फुटकर कविताहरू समेट्नुभएको छ । शब्द सिर्जना आफ्नो भए पनि कविता संग्रहको प्रकाशक खोटाङको बुइपामै जन्मनुभएकी र हाल अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएकी अप्सरा दालोमा विष्टले गर्नुभएको हो । कविता संग्रहको ललितपुरमा आयोजित एक कार्यक्रमका बीच साहित्यकार एवम् प्रा.डा. लक्ष्मणप्रसाद गौतमले विमोचन गर्नुभएको थियो । सो अवसरमा प्रकाशित कविता संग्रहमाथि डा. सुरेश हाचेकालीले समालोचना गर्नुभएको थियो भने ललितपुर वडा नं. ५ का वडाध्यक्ष कपिल केसी, प्रकाशक विष्ट, उत्तमकुमार राई लगायतले कविता संग्रहका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया