धरान । जेठ १० गते शनिबार भएको बेमौसमी वर्षाका कारण पाँचथर जिल्लाको याङबरक गाउँपालिका वडा नं. १ मा चार घर परिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने तीन वटा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमका अनुसार रातभरिको अविरल वर्षाका कारण याङबरक गाउँपालिका वडा नं. १ का लुम्बाखोलाका मोहनलाल खवास, कविर खवास, कोप्चेका गंगाप्रसाद बेघा र भगिमान बेघाको घर पहिरोले बगाउनुका साथै बाँकी रहेका घर समेत पहिरोको जोखिममा भएपछि उनीहरूको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरीका अनुसार वर्षाका कारण अन्य घर परिवार समेत उच्च जोखिममा रहेका छन् । अति जोखिममा रहेका सोही गाउँपालिकाको वडा नं. १ कै कोप्चे टोलका बालानन्द बेघा, मैतराज बेघा, चम्लिङ डाँडाका रविन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ, डम्बरबहादुर गुरुङ, एकराते टोलका रत्नमन राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई, शरबहादुर राई र खोलाधारी मगर डाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर रहेका छन् । उनीहरूलाई हाल सुरक्षित स्थानमा सार्नका लागि पहल भइरहेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार उच्च जोखिममा रहेकालाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ । यसका लागि समितिले पहल गरिरहेको छ ।


जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार अविरल वर्षाका कारण याङबरक गाउँपालिकाका धेरै घरहरू पहिरोको उच्च जोखिममा परेका छन् । भौतिक संरचनाहरू समेत धेरै नष्ट भएका छन् । वर्षाका कारण लावरबोटे भएर पाँचथर चल्ने यातायातका साधन ठप्प भएका छन् । तमोर करिडोरमा अधिकांश स्थानमा सडक बगेका छन्, पुलहरूमा क्षति पुगेको छ । प्रहरी नायव उपरीक्षक कर्णले दिनुभएको जानकारी अनुसार तमोर करिडोरको पाँचथर हिलिहाङ गाउँपालिका र ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिकाको सीमामा रहेको तमोर माथिको निर्माणाधीन पुलको संरचना बाढीले बगाएको छ । यसैगरी लामिटारबाट चम्लिङ डाँडा जोड्ने झोलुंगे पुल र याङबरक गाउँपालिका वडा नं. २ को दोभानेस्थित भोलुंगे पुल पनि बाढीका कारण क्षति भएको छ । यसैगरी बाढीका कारण मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथरको याङबरक गाउँपालिका वडा नं. २ दाभानमा मेवा खोलाको पुल बाढीले बगाएको छ । दुई वर्ष अगाडि समेत उक्त स्थानमा रहेको मोटरेबल पुल बाढीले बगाएपछि संरचना तथा डिजाइन परिवर्तन गरी ४१ फिट लामो पुल निर्माण थालिएको थियो । पुलका अलावा ठाउँठाउँका सडक र डाइभर्सन समेत बाढीले बगाइदिएको छ । यसैगरी बाढीले तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका लागि तयारी अवस्थामा राखिएका फलामे पाइप, ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रोक गन सबै बगाइदिएको छ । उक्त पुल याक्थुहाङ निर्माण सेवा प्रालिले निर्माण थालेको थियो । यसैगरी अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गतको पाँचथर सडक खण्डको ओयाम बजार र रिजाल भीर खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । यसैगरी बाढी पहिरोले मेवा खोला जलविद्युत आयोजना, इवाखोला जलविद्युत आयोजना, काबेली जलविद्युत आयोजनामा क्षति पु¥याउँदा उत्पादित विद्युत अवरुद्ध भएको छ । सडक, पुल र जलविद्युत आयोजनाहरूमा मात्र नभई बाढीले स्थानीय किसानका अलैँची खेती, सिँचाइ आयोजना र खानेपानी आयोजना समेतमा क्षति पु¥याएको प्रहरी नायव उपरीक्षक कर्णले जानकारी दिनुभयो ।

