सुनसरी । सम्मानित अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक प्रक्रियालाई पूर्णता दिन तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका ७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरूलाई सम्मानित सुनसरी जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय सुनसरीको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउपछि उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्मानित सुनसरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चोरी, अभद्र व्यवहार, बिगो, चेक अनादर तथा के.सा.अ. सम्बन्धी मुद्दाका फरार प्रतिवादी रहेका छन् । पक्राउ परेकामध्ये धरान–१५ का तेजबहादुर श्रेष्ठ चोरी मुद्दामा ५ हजार रुपैयाँ जरिवाना तथा १८० दिन कैद सजायका फरार प्रतिवादी हुन्। त्यसैगरी धरान–१५ का मनोज विश्वकर्मा अभद्र व्यवहार मुद्दामा, बराहक्षेत्र–६ का ज्ञानेन्द्र विष्ट चोरी मुद्दामा, देवानगंज–७ का सतिस चन्द्र यादव बिगो मुद्दामा, इटहरी–१८ का सविनकुमार खतिवडा चेक अनादर मुद्दामा, धरान–१ का दिपका रिषिदेव चोरी मुद्दामा तथा बराहक्षेत्र–१० का भरत पौडेल के.सा.अ. मुद्दामा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तर तीव्र बनाइने जनाएको छ ।“फैसला कार्यान्वयन न्याय सम्पादनको महत्वपूर्ण पक्ष भएकाले फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई अझ प्रभावकारी बनाइनेछ,” प्रहरीको भनाइ छ ।
