विराटनगर । को्शी प्रदेश अन्तर्गत सुनसरी, झापा, मोरङ, उदयपुर र खोटाङ जिल्लामा वैसाख २५ गते बिहानदेखि मध्यरातसम्म भएका विभिन्न सवारी दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अधिकांश दुर्घटना मोटरसाइकल तथा स्कुटर अनियन्त्रित हुँदा, पैदलयात्रीलाई ठक्कर दिँदा तथा दुई सवारी एकआपसमा ठोक्किँदा भएका हुन् । प्रहरीका अनुसार झापामा सबैभन्दा बढी ९ वटा दुर्घटना भएका छन् भने मोरङमा ६, सुनसरीमा ३, उदयपुरमा २ र खोटाङमा १ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल, स्कुटर, सिटी सफारी, पिकअप, ट्रक र बोलेरो संलग्न रहेका छन् । सुनसरीको रामधुनी नगरपालिका–७ तेत्रुचोकमा २५ गते दिउँसो १२ः१० बजे मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ६५ वर्षीया सुखमाया श्रेष्ठ गम्भीर घाइते भएकी छन् । दुर्घटनामा मोटरसाइकल चालक देवेन्द्रकुमार लिम्बु र पछाडि सवार फुलमाया लिम्बुसमेत घाइते भएका छन् । तीनै जनालाई विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । त्यसैगरी सुनसरीकै इनरुवा–६ हलेशीचोकमा साँझ ५ः३० बजे स्कुटर आफैं अनियन्त्रित हुँदा इटहरीका ५५ वर्षीय दुर्गाप्रसाद तिमल्सिना गम्भीर घाइते भएका छन् । उनको टाउको, आँखा र अनुहारमा चोट लागेको छ ।
प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–१ मा सिटी सफारीले बाटो छेउमा खेलिरहेका ३ वर्षीय बालक संगम मेहतालाई ठक्कर दिँदा उनी घाइते भएका छन् ।
झापामा कमल, बुद्धशान्ति, मेचीनगर, गौरीगञ्ज, कचनकवल, दमक र कन्काई क्षेत्रमा भएका दुर्घटनामा १६ जना घाइते भएका छन् । तीमध्ये अधिकांश दुर्घटना मोटरसाइकल र स्कुटरसँग सम्बन्धित छन् । कमल गाउँपालिका–५ मा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा ७० वर्षीय आइतबारे टुडु घाइते भएका छन् भने चालक सन्तोष गुरुङसमेत घाइते भएका छन् । बुद्धशान्ति–२ जयपुरमा पिकअपले स्कुटरलाई ठक्कर दिँदा प्रतिमा दाहाल र रिता पोखरेल घाइते भएका छन् । मेचीनगर–१० दनुवार बस्तीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ६५ वर्षीय वीरबहादुर विश्वकर्मा र चालक बब्लु सिंह घाइते भएका छन् । कचनकवलमा दुई छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित ३ जना घाइते भएका छन् । गौरीगञ्ज–३ मा मोटरसाइकल आफैं अनियन्त्रित हुँदा चालकसहित ३ जना घाइते भएका छन् । उक्त दुर्घटनामा चालकले मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मोरङमा बुढीगंगा, धनपालथान, रंगेली, विराटनगर र सुनबर्सी क्षेत्रमा भएका दुर्घटनामा १२ जना घाइते भएका छन् । बुढीगंगा–५ नेमुवा चौकमा सिटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ वर्षीया अनुस्का सरदारसहित ३ जना घाइते भएका छन् । रंगेली–५ धनापट्टीमा दुई स्कुटर ठोक्किँदा ३ जना घाइते भएका छन् भने धनपालथान–६ मा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा बबिता देवी राय घाइते भएकी छन् । विराटनगर–१४ कटुप्पामा मोटरसाइकलले गाईको बाछोलाई ठक्कर दिँदा बाछाको घटनास्थलमै मृत्यु भएको छ भने चालक पृतम चौधरी घाइते भएका छन् । उदयपुरमा भएका दुई दुर्घटनामा ५ जना घाइते भएका छन् । बेलका नगरपालिका–८ सेतीखोलामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका हुन् । त्यस्तै उदयपुरगढी–६ नेपालटारमा स्कुटर आफैं अनियन्त्रित हुँदा चालक दीपेन थामी र झलक दर्जी घाइते भएका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–३ खोक्मामा ट्रक सडक भासिएर करिब १० मिटर तल खस्दा सहचालक नवराज राय क्षेत्री घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश दुर्घटनामा तीव्र गति, चालकको लापरबाही, सवारी चालक अनुमति पत्रको अभाव तथा सडकमा ध्यान नदिनु प्रमुख कारण देखिएको छ । केही दुर्घटनामा मापसेसमेत पुष्टि भएको छ । प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
