धरान /जारी गरिएको संविधानले लिम्बुवान सुनिश्चित नगरेको भन्दै लिम्बुवान संयुक्त सङ्घर्ष समितिले अरूण(सप्तकोशीपूर्वका नौ जिल्लाहरूमा संविधान जलाएको छ । समितिसहित नेकपा(माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र नौ दलीय सङ्घीय गणतान्त्रिक गठबन्धनले पनि विरोधस्वरूप संविधानको नमुना जलाएका छन् ।
आइतबार संविधान जारी गरिएकै दिनदेखि पूर्वका नौ जिल्लाहरूमा अनिश्चितकालीन आमहड्ताल आह्वान गरेको सङ्घर्ष समितिले सोमबार बिहानैदखि अन्य दिनभन्दा बाक्लो मात्रामा कार्यकर्ता सडकमा उतारेको थियो । आइतबार आन्दोलनरत पक्षले आफूहरूको सहभागिताबिना संविधान घोषणा गरेको भन्दै देशव्यापी ‘कालो दिन’ भन्दै विरोध कार्यक्रमहरू आयोजना गरेका थिए । आहड्तालको दोस्रो दिन धरानमा पनि आन्दोलनकारीले करिब सात पटक संविधानको प्रतिलिपि जलाएका थिए । संविधानको स्वागतमा तीन दलले र्याली निकाल्ने तयारी गरेपछि आन्दोलनकारीले मुख्य चोकमा तैनाथ भएर अपराह्नसम्म सडक कब्जा गरेको सङ्घर्ष समितिका सुनसरी सदस्य अमर इजमले बताए ।
संविधान जलाएपश्चात आयोजित विरोध सभामा बोल्दै नेकपा एकीकृतसम्बद्ध लिम्बुवान स्वशासित सङ्घका अध्यक्ष के.बी. फुदोङले लिम्बुवान स्वायत्त राज्य सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे । १६ बुादे सम्झौता र सात प्रदेश खाकाको कमजोर जगमा संविधान घोषणा गरिएकाले देशभर उत्साहभन्दा विरोधको स्वर उच्च भएको बताए । ‘संविधान घोषणा गरिएको दिनसम्म पनि गोली लागेर नागरिकको मृत्यु हुनुले संशय पैदा गरेको छ,’ पार्टीका केन्द्रीय सदस्य समेत रहेका फुदोङले भने, ‘दीपावली गरिरहादा समेत मुलुकको दुई तिहाई हिस्सा र जनसंख्या आन्दोलनमा छन् ।’ अर्का वक्ता नेकपा(माओवादीका केन्द्रीय सदस्य राजेन्द्र किरातीले लिम्बुवान, मधेश, थरूहट जलिरहादा संविधान आएकोमा खुशीयाली मनाउनुमा कुनै तुक नरहेको धारणा राखे । ‘उत्पीडित समुदाय, भूगोल र वर्गको आन्दोलनलाई सम्बोधन नगरी ल्याइएको संविधानको कार्यान्वयनमा ठूलो चुनौती शुरु भइसकेको छ,’ उनले थपे, ‘२०४७ को संविधान आउादाताका गरेको दीपावलीभन्दा सारमा कुनेै फरक छैन ।’ त्यस्तै, सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य राम मगरले आदिवासी, मधेशी, दलित, मुस्लिम, सिमान्तकृत समुदायलाई दोस्रो दर्जासरह बनाएको संविधानलाई पहिचानवादीहरूले कहिल्यै स्वीकार नगर्ने बताए । यसैगरी, सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टीका सुनसरी उपाध्यक्ष रमेश गजमेरले लिम्बुवानलाई ऐतिहासिक भूगोल नबुझेर एकल जातीय राज्य सम्झनेहरू साम्प्रदायिक भएको आरोप लगाए । यस्तै, सङ्घीय समाजवादी फोरम नेपालका सुनसरी सचिव ताजुव लिम्बुले संविधानमा उत्पीडितहरूको अनुहार नदेखेपछि संविधान जलाएको स्पष्ट पार्दै आवश्यक परे अधिकार सुनिश्चितताका लागि गोली थाप्न तयार रहेको बताए । सभामा सामाजिक लोकतान्त्रिक पार्टीका कृष्ण लिम्बु, संलिपाका कृष्णमान थेवे, समाजवादी फोरमका क्षेत्रीय कोषाध्यक्ष मदन तामाङ, नेकपा एकीकृतका पारस लिम्बु लगायतले बोलेका थिए ।
यसैगरी, लिम्बुवान संयुक्त सङ्घर्ष समितिले सोमबार सााझ एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रहरी दमन, गैरन्यायिक धरपकड र हस्तक्षेप भएको जनाएको छ । समितिले लोकतन्त्र र मानव अधिकारको मूल मर्म अनुरूप शान्तिपूर्ण तवरले संविधानप्रति असहमति जाहेर गर्दा सरकारले व्यापक धरपकड र घाइते बनाउने कार्य प्रारम्भ गरेको आरोप लगाउादै सोको घोर भत्सर्ना गरेको छ । ‘घाइतेहरुको उपचार, पक्राउ परेकालाई विना सर्त रिहा गर्न माग गर्दछौं । पक्राउ परेकालाई रिहाई एवम् घाइतेहरूको नि:शुल्क उपचार नगराएसम्म अझ कडा खालका कार्यक्रमहरू घोषणा गर्न हामी बाध्य हुनेछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ । समितिले अनिश्चितकालीन आमहड्ताल जारी रहने पनि जनाएको छ ।
लिम्बुवान तीन सङ्गठनको ऐक्यबद्धता
लिम्बुवान संयुक्त सङ्घर्ष समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउादै पूर्व माओवादी लडाकूहरूले आवश्यक परे सशस्त्र विद्रोहमा जाादा समेत साथ दिने वचन दिएका छन् । सङ्घर्ष समितिसाग लिम्बुवान स्वायत्त राज्य प्राप्तिका लागि सहकार्य गर्ने सहमति गरेपश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व जनमुक्ति सेना नेपाल(क्रान्तिकारी) संयोजक सूर्य खड्काले उत्पीडनबाट मुक्तका लागि अर्को सशस्त्र युद्ध गर्न तयार रहेको बताए । ‘लिम्बुवान, मधेश, थरूहटको आन्दोलन भनेको न्याय र समानताको आन्दोलन हो,’ उनले भने, ‘ती उत्पीडितहरूको आन्दोलनमा दमन भए जनयुद्धमा जस्तै साथ दिनेछौं ।’ उनले शान्ति प्रक्रियापश्चात हतियार मात्र बिसाएको तर चलाउन नबिर्सिएको भन्दै वर्गीय र जातीय मुक्तिका लागि बलिदान दिन तयार रहेको बताए । सङ्घर्ष समितिले पूर्व लडाकूहरूले उठाएको सेवानिवृत सैनिकसरह मान्यता र सुविधा पाउनुपर्ने मागलाई समेत समर्थन गरेको छ । यसैगरी, लिम्बुवान आन्दोलनप्रति ऐक्यबद्धता जनाउादै दलित सेवा सङ्घ र याम्फू किरात समाजले पनि सहकार्य र सहयोग गर्ने भएको छ । दलित सेवा सङ्घका तर्फबाट केन्द्रीय सहअध्यक्ष रमेश गजमेर, याम्फूका तर्फबाट अध्यक्ष मनप्रसाद याम्फू र सङ्घर्ष समितिबाट समन्वयकर्ता याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिं थाङ्देनले हस्ताक्षर गरेका छन् ।
मधेश आन्दोलनका सहिद सम्झादै दीप प्रज्ज्वलन
विगत डेढ महिनादेखि जारी मधेश थरूहट आन्दोलनका क्रममा ज्यान गुमाएका तीन दर्जन बढी आन्दोलनकारीहरूलाई सम्झादै धरानमा दीप प्रज्ज्वलन गरिएको छ । पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूको सङ्गठन नेपाल तराई विद्यार्थी नवजागरण सङ्घले सहादत प्राप्त गरेकाहरूका सम्झनामा दीप प्रज्ज्वन गरेका थिए । उनीहरूले तराईमा जारी आन्दोलनमा भएको दमनबारे मानवअधिकारर्मी र मिडिया मौन बसेको आरोप लाउादै आफूहरूप्रति विभेद गरेको गुनासो पोखे । कोणसभामा सङ्घीय समाजवादी फोरमका सुनसरी सचिव ताजुव लिम्बु, लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय सचिव अमित थेवे, नवजागरण सङ्घका अध्यक्ष गङ्गालाल यादव, अविनाश अमरले सम्बोधन गरेका थिए ।
