सुनकोशीमा मोड्युलर पुलको उद्घाटन

धरान । सिन्धुली जिल्ला र रामेछाप जिल्लालाई जोड्ने सुनकोशी नदीमा निर्मित ७० मिटर लामो मोड्युलर पुलको बिहीबार उद्घाटन भएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त पुलको उद्घाटन नेपालस्थित भारतीय राजदूतावासकी काउन्सलर गीताञ्जली व्रैंडन र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागका महानिर्देशक डा. विजय जैसीले उद्घाटन गर्नुभएको थियो ।

सिन्धुलीको नेपालथोकस्थित निर्माण गरिएको उक्त पुलको सम्पूर्ण जडानको कार्य गार्डेन रिच शिपबिल्डर्स एण्ड इन्जिनियर्स लिमिटेडका प्राविधिकहरूको टोलीले गरेका थिए । गत वर्ष आएको विनाशकारी बाढीका कारण सिन्धुली र रामेछाप जोड्ने पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएको थियो । मोड्युलर पुल सञ्चालनमा आएपछि यातायातका साधनहरू सहज ढङ्गले सञ्चालनमा आएका छन् । भारत सरकारले यसभन्दा अगाडि पाँचथर, इलाममा समेत मोड्युलर पुल जडान गरिसकेको छ । नेपाल सरकारलाई उपलब्ध गराइने ७० मिटर लामो र सोभन्दा बढी स्प्यान भएका १० वटा पुलहरूमध्ये नेपालथोकमा जडान गरिएको पुल एक हो ।

तपाईको प्रतिक्रिया