धरान । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक तीनजुरे–मिल्के–जलजले क्षेत्र (टिएमजे) मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ । गुराँसको राजधानीका रूपमा परिचित गराउन यस बर्ष पनि वैसाख १० गतेदेखि १४ गतेसम्म लालीगुराँस महोत्सवसमेतको आयोजना समेत गरिएको थियो । जसले आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन मद्धत पुगेको छ । संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको संगमस्थलमा अवस्थित टिएमजे क्षेत्रमा २८ भन्दा बढी प्रजातिका गुराँस पाइने भएकाले वसन्त ऋतुमा यहाँको डाँडाकाँडा राताम्य फूलले ढाकिन्छन् । यही दृश्य अवलोकन गर्न र गुराँससँग फोटो खिच्नका लागि पनि पर्यटकहरूको भीड बढ्दै गएको हो । लाली गुरास संरक्षण समितिका पूर्व अध्यक्ष लक्ष्मण तिवारी का अनुसार,पूर्वको सम्भावना बोकेको यो स्थानमा पछिल्लो समय पर्यटकको संख्या ह्वात्तै बढेको छ । गुराँस हेर्नकै लागि भए पनि अहिले यहाँ आउनेको संख्या उल्लेखनीय छ । उहाँले कोशी प्रदेशका मात्र नभई भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउने गरेको बताउनुभयो

यस्तै, लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु मावुङले पछिल्लो समय टिएमजे क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो तीनजुरे, मिल्के र जलजले क्षेत्र दिनप्रतिदिन पर्यटकले भरिँदै गएको उहाँको भनाई छ । विशेषगरी चैतको मध्यदेखि वैसाखसम्म गुराँस ढकमक्क फुल्ने भएकाले यही समय भ्रमणका लागि सबैभन्दा उपयुक्त उहाँको भनाई छ । यस क्षेत्रमा गुराँसका अतिरिक्त रमणीय वनभोज स्थल, हरियाली जंगल र सहज पदयात्रा मार्गहरू
रहेका कारण गर्मी मौसमसँगै पर्यटकको चाप अझ बढ्ने गरेको छ । साथै, हिउँ पर्ने मौसममा पनि यहाँको दृश्यावलोकन गर्न आउनेहरूको संख्या उल्लेखनीय रहने गरेको स्थानीयहरू बताउँछन् । टिएमजे पुग्नका लागि यातायात सुविधा पनि उपलब्ध छ । धरानबाट धनकुटा हुँदै हिलेहुदै वसन्तपुर पुग्न सकिन्छ । वसन्तपुरबाट केही दूरीमा रहेको टुटे देउरालीबाट टिएमजे क्षेत्र सुरु हुन्छ । यहाँ आर आर गार्डेन, चोत्लुङ पार्क लगायतले समेत आन्तरिक तथा वाह्य पर्यटक तान्ने गरेको स्थानीयहरु बताउँछन् ।
